दशैंमा खाने कसरी, पिउने कसरी ?

दशैंमा पञ्चबली दिने चलन छ । खासमा पञ्चबली भनेको काम, क्रोध, लोभ, मोह र अहंकारलाई त्याग गर्ने अर्थात यी चिजहरूको बली दिने हो । त्यसैले दशैंमा निर्दोष प्राणीलाई बली दिनु भन्दा आफ्नो मनमा भएका खराब कुरा हटाई प्रेम, भाइचारा र सहयोगको भाव बढाई स्वस्थ रुपमा दशैं मनाऔं।

सामान्यत दशैंमा माछा, मासु आदिका परिकार बढी प्रयोग हुन्छ । यी खानेकुरामा प्रोटिन पाइन्छ तर यी चिजमा पाचन प्रक्रियालाई सरल रुपमा अगाडि बढाउन चाहिने छोक्राबोक्रा धेरै कम हुन्छ । त्यसैले यी चिज जति बढी सेवन गरियो उति कब्जियत हुने र दीर्घ स्वास्थ्य समस्या आउने हुन्छ।

त्यसैले प्रेटिनका लागि यी चिज खानैपर्ने होइन, दाल गेडागुडी भटमास आदिमा प्रशस्त प्रोटिन पाइन्छ । खानै परेमा मिलाएर खाँदा हानी न्यूनिकरण गर्न सकिन्छ।

हाम्रो समाजमा मासु खाँदा सागसब्जी प्रयोग भएको पाइँदैन । प्रकृतिप्रेमी समूह, निरोगधामका संस्थापक डा. उमेश श्रेष्ठले स्वस्थ रहन के, कति र कसरी खानुपर्छ भन्ने कुरालाई सुत्रबद्ध तरिकाले दिएका छन् जसलाई ‘तीन बराबर आहार’ नाम दिइएको छ।

यसमा पकाएर बनाएका अन्न एक भाग जस्तै भात, रोटी, ढिँडो, च्याँख्ला आदि, पकाएकै हरियो सागसव्जी दुई कचौरा र काँचो सलाद (गाजर, स्याउ फलफूल) एक भाग बरोबर मिश्रण हो । यी तीन चिज बराबर मात्रामा खाएमा कब्जियत हुँदैन र सदा स्वस्थ, निरोगी रहन सकिन्छ।

यो आहार जतिबेला पनि जसरी पनि खान सकिन्छ । दशैंमा पनि माछा मासु खाँदा तीन बराबरमै मिलाएर खान सकिन्छ । मासुलाई तीन बराबर अन्नको भागको २५ प्रतिशत मिलाएर  खाँदा राम्रो हुन्छ र सँगै सागसब्जी र सलाद प्रयोग गर्ने।

खाना सँगै पानीको पनि उचित प्रयोग हुनुपर्छ । हाम्रो शरीरलाई अति आवश्यक घटक हो पानी।

पानी नियम अनुुसार पिउँदा स्वास्थ्य लाभ हुन्छ । बिहान उठ्नासाथ हरेक व्यक्तिले ३ देखि ४ गिलाँस (करिब एक लिटर) मनतातो पानी पिउनु पर्छ । बालबालिकाले उमेर अनुसार एकदेखि दुई गिलाँस पिउने । कुनै पनि ठोस आहारसंग पानी नलिने, ठोस आहार र पानीको अन्तर १ घण्टा गर्ने । दिउँसो प्रतिघण्टा एक एक गिलाँसका दरले साँझ ५/६ बजेसम्म पिउने । राती सुत्ने बेलामा एक गिलाँस मन तातो पानी पिएर सुत्ने। साभार नागरीक


Facebook Comment


No ads found for this position