२०१५मा कुन नाकाबाट कति पर्यटक भित्रिए?

६ साउन, काठमाडौं । नेपालमा विमानबाट मात्र नभई स्थल मार्गबाट पनि पर्यटक भित्रिने गर्छन् । विभिन्न नाकाबाट २०१५ मा एक लाख ३२ हजार ९७५ नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांक छ ।

everst trek @ghumphir (7)नेपालमा ७ वटा नाकाबाट पर्यटक आउँछन् । जसमध्ये सबैभन्दा बढी पर्यटक भैरहवाबाट भित्रिन्छन् । २०१५ मा भैरहवाबाट १२ हजार ६३७ पर्यटक नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भैरहवाको बाटो हुँदै ठूलो संख्यामा पर्यटक आउने गर्छन् ।

समिक्षा वर्षमा चीनसँग जोडिएको कोदारी नाकाबाट एउटा पनि पर्यटक आएका छैनन् । भूकम्पका कारण तातोपानी–खासा सडक बन्द भएपछि यहाँबाट पर्यटक आउन सकेनन् । विगतमा धेरै चिनियाँ पर्यटक कोदारी नाका हुँदै नेपाल आउने गर्थे ।

पूर्वको काकडभिट्टा नाकाबाट २०१५ मा आठ हजार ९२१ पर्यटक भित्रिएको विभागको तथ्यांकमा छ । त्यस्तै, पश्चिमको महेन्द्रनगरबाट १९ सय ५२ जना, वीरगञ्जबाट ९०६, नेपालगञ्जबाट ५१३, धनगढीबाट ४६ पर्यटक नेपाल भित्रिएका छन् ।

सन् २०१५ मा भूकम्प र नाकाबन्दीका कारण सडक मार्गबाट आउने पर्यटकको संख्या पनि स्वात्तै घटेको छ । अध्यागमन विभागका अनुसार स्थलमार्गबाट आउने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष स्थलमार्गबाट दुई लाख चार हजार १३७ पर्यटक नेपाल भित्रिएका थिए ।

यस अवधिमा नेपाल आउने कुल पर्यटक संख्या ३२ प्रतिशतले घटेको अध्यागमन विभागको तथ्यांक छ । २०१५ मा विमानबाट आउने पर्यटकको संख्या पनि ३१ प्रतिशतले घटेको छ । यस अवधिमा पाँच लाख ३८ हजार ९७० पर्यटकले नेपाल भ्रमण गरेका छन् ।


Facebook Comment


No ads found for this position