१ सय ४५ मुलुकसँग नेपालको व्यापार घाटा !

अझैसम्म अशान्ति, अविकसित र पछौटेपनको रुपमा प्रतिविम्बित भएका देशहरु इथियोपिया तथा सोमालियाजस्ता देशहरुसँग समेत नेपालको व्यापार घाटा रहेको छ। भन्सार विभागको तथ्यांक अनुसार नेपालले १ रुपैयाँको सामान विक्री गर्दा ११ रुपैयाँ २ पैसाको खरिद गर्ने गरेको छ। चालु आर्थिक वर्षको ११ महिनासम्म नेपालको व्यापार घाटा ६ खर्ब २४ अर्ब १८ करोड २२ लाख रुपैयाँ पुगेको छ।

रवीन्द्र शाही

चालु आर्थिक वर्षको ११ महिनामा आयातमा गिरावट आए पनि व्यापार घाटा भने १.४५ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्म अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा व्यापार घाटामा वृद्धि भएको छ।

नाकाबन्दीका कारण आयात प्रभावित भएर केही कमी आए पनि निर्यातमा त्यो भन्दा बढी गिरावट आएका कारण व्यापार घाटामा वृद्धि भएको भन्सार विभागका प्रवक्ता सुर्य सेढाईले बताए। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ६ खर्ब ८५ अर्ब ४२  करोड ७ लाख २२ हजार रुपैयाँको वस्तु आयात भएकोमा यही अवधिमा निर्यात जम्मा  ६१ अर्ब २३ करोड ८४ लाख ५२ हजार रुपैयाँको मात्र भएको छ।अर्थात यो अवधिमा नेपालको व्यापार घाटा ६ खर्ब २४ अर्ब १८ करोड २२ लाख रुपैयाँ पुगेको छ।
businesइथियोपियादेखि सोमालियासम्मका देशहरुसँग व्यापार घाटा !
कुल १ सय ८१ देशहरुरुसँग व्यापार हुने गरेकोमा १ सय ४५ देशहरुसँग नेपालको व्यापार घाटा रहेको छ। भारत, चीन, जापान, अर्जेन्टिना, बंगलादेश, ब्राजिल, थाइल्याण्ड, भियतनाम, फ्रान्स, रसिया लगायतका देशहरुसँग उल्लेख्य व्यापार घाटा रहेको छ।
अझैसम्म अशान्ति, अविकसित र पछौटेपनको रुपमा प्रतिविम्बित भएका देशहरु इथियोपिया तथा सोमालियाजस्ता देशहरुसँग समेत नेपालको व्यापार घाटा रहेको छ।  इथोपियासँग ३ करोड रुपैयाँ व्यापार घाटा  रहेको छ। त्यस्तै भुटानसँग नेपालको व्यपार घाटा २८ करोड रहेको छ। सबैभन्दा बढी भारतसँग व्यापार असन्तुलन देखिन्छ भने दोस्रोमा चीनसँग।सोमालिया, लाइबेरिया र सेनेगलजस्ता देशहरुमा स्वदेशी सामान निर्यात नहुने तर त्यहाँ कार्यरत नेपालीहरुले घर फर्कँदा सामान ल्याउनाले व्यापार घाटा देखिने गरेको भन्सार विभागका निर्देशक विनोद आचार्यले बताए। उनले भने, ‘त्यहाँ कार्यरत नेपाली सेनाहरुले घर फिर्ता हुँदा समान ल्याउँछन्, निर्यात हुँदैन, यसले गर्दा ति देशहरुसँग पनि व्यापार  असन्तुलन देखिएको हो।’
 एक रुपैयाँको स्वदेशी सामान बेच्दा ११ रुपैयाँको खरिद गर्छ नेपाल 
भन्सार विभागको तथ्यांक अनुसार नेपालले १ रुपैयाँको सामान विक्री गर्दा ११ रुपैयाँ २ पैसाको खरिद गर्ने गरेको छ। भन्सार विभागले प्रकाशित गरेको  चालु आर्थिक वर्षको ११ महिनाको नेपालको व्यापारको तथ्यांक अनुसार नेपालको आयात निर्यात अनुपात ११.२ देखिएको छ। नाकाबन्दी भए पनि रोकिएर रहेको समान नाकान्दी पछि नेपाल आएको तर उत्पादनमा गिरावट आउँदा निर्यात खस्किएका कारण यस्तो अनुपात वृद्धि भएको विभागका निर्देशक आचार्यले बताए।अघिल्लो आर्थिक वर्षको यही अवधिमा ८.९ रहेको उक्त आयात निर्यात अनुपात चालु आवमा वृद्धि भएको हो।
जसको आयातमा बृद्धि भयो 
आयातमा प्रमुख स्थान ओगट्ने पेट्रोलियम पदार्थमा गिरावट आएको चालु आवमा आत्मनिर्भर हुँदै गएको भनिएको सिमेन्टको आयातमा भने बृद्धि भएको छ। अघिल्लो आवको यही अवधिमा ९९ करोड ५५ लाख आयात भएको सिमेन्ट चालु आवमा १ अर्ब ५२ करोडको आयात भएको छ। चालु आवमा यूरिक एसिडजन्य पदार्थको आयातमा ९२ प्रतिशत वृद्धि भएकोमा सुनको आयातमा पनि  ५४ प्रतिशतले वृद्धि भएको छ। औद्योगिक क्षेत्रमा लगानी र उत्पादनमा निरन्तर गिरावट आईरहेको अहिलेको सन्दर्भमा व्यापार घाटामा निरन्तर वृद्धि हुनुलाई असामान्य मान्दैनन् उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका। ‘आयात प्रतिस्थापन गर्नको लागि उद्योग स्थापना हुनुपर्छ, त्यसको लागि लगानीको वातावरण पहिलो शर्त हो जुन नेपालमा छँदै छैन’ मुरारकाले सेतोपाटीसित भने, ‘जसले जे मन लाग्यो त्यही गर्छ अनि कसरी उत्पादन बढ्छ?’
लागतमा भएको वृद्धि, पूर्वाधारको अभाव श्रम समस्याका कारण नेपालमा उत्पादित वस्तुले प्रतिस्पर्धा गर्न नसक्ने र यही अवस्थाले निरन्तरता पाएमा आयात प्रतिस्थापन घट्दै जाने मुरारकाको तर्क छ।


Facebook Comment


No ads found for this position