१८ महिनामा आठवटा नयाँ जहाज किनिसक्छौं: महाप्रबन्ध कंसाकार

रवीन्द्र शाही नेपाल एयरलाइन्सले आगामी १८ महिनाभित्र ८ नयाँ जहाज खरिद गर्ने घोषणा गरेको छ।आन्तरिक क्षेत्रका लागि ६ भाइकिङ ट्विनअटर र विदेशमा उडान गर्न २ एयरबस न्यारोबडी(ए३२०–२००) विमान खरिद गरिने निगमका महाप्रबन्ध सुगतरत्न कंसाकारले जानकारी दिए।

आउने असारभित्र २ वटा वाइड बडी विमान ल्याएर लामो उडान रुटमा उडान गर्ने योजनामा रहेको राष्ट्रिय ध्वजाबाहकले थप २ न्यारोबडी एयरबस जहाजबाट क्षेत्रीय उडान विस्तार गर्ने भएको छ।

हाल तीनवटा ट्विनअटर र एउटा बोइङ पुराना जहाज भएको एयरलाइन्सले व्यवसायिकरुपमा उडान योग्य नभएको भन्दै उक्त समयभित्र पुराना जहाज सबै बिक्री गर्ने भएको छ।

पछिल्लो सयम सन् २०१५ मा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि एयरबस ए३२०–२०० सिरिजका २ विमान खरिद गरेको थियो।

विमान थप गपरेसँगै गन्तव्य विस्तार भएको र व्यापार पनि बढेको भन्दै जतिसक्दो विमानहरु थप गर्दै जाने रणनीतमा रहेको महाप्रबन्धक कंसाकारले जानकारी दिए।

‘अबको १८ महिनामा हामी आठवटा नयाँ जहाज किनिसक्छौं’ उनले भने,‘यसको लागि हामिले प्रक्रिया पनि अगाडि बढाइसकेका छौं।’

विगतमा जहाज नथप्दा गन्तव्य र व्यापार खस्किएको उदाहरण पेस गर्दै कंसाकारले जहाज थपेपछि बढेको बताए। वाइड बडी आउनेवित्तिकै वर्षमा कम्तिमा पाँच अर्बको ब्यापार बढ्ने उनको प्रक्षेपन छ।

‘पहिलो प्राथमिकता भनेकै अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ जहाज थप्दै० आय बढाउने हो’ उनले भने,‘यसैअनुरुप हामी सबै पुराना जहाज प्रतिस्थापन गर्छौ।’

जहाज थप गरेपछि व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने र त्यसको लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकिएको उनको भनाइ छ।
जहाज थपिएपछि आउटसोर्सिङबाट जनशक्ती व्यवस्थापन गर्ने र हवाई सुरक्षाको लागि संसारकै नयाँ प्रविधि जडान गर्ने रणनीति एयरलाइन्सको छ।

एयरलाइन्ससँग हाल २ एयरबस ए३२०–२०० सिरिजका, १ बोइङ ७५७ विमान छन्। अब वाइड बडी विमान आएपछि अन्तर्राष्ट्रिय उडानका लागि ५ विमान हुने छन्।

त्यस्तै आन्तरिक उडानका लागि एयरलाइसन्सँग चीनमा बनेका वाइ १२ चारवटा, एमए १६ २ र ३ ट्विनअटर विमान छन्। ३मा एउटामात्र ट्विनअटर विमान उडिरहेको छ।

अन्तर्राष्ट्रिय गन्तव्यमा मध्यम, आन्तरिकमा कमजोर 
अन्तर्राष्ट्रिय उडानमा राम्रै व्यापार गरिरहेको दाबी गरिरहेको एयरलाइन्सको आन्तरिक उडानमा भने निरन्तर कमजोर हुँदै गइरहेको छ।
जहाज थपिएपनि पाइलट नहुँदा उडान गर्ने नसकेको एयरलाइन्सले आन्तरिक उडानमा प्रगति गर्न सकेको छैन।

पछिल्ला तीन वर्षमा एयरलाइन्सले चीनमा बनेका ४ वाई १२ र २ एमए १६ विमान ल्याएको छ। तर उडान भने बढ्न सकेका छैनन्। आर्थिक वर्ष ०७१÷०७२ मा ४२३८ उडान गरेको थियो भने ०७२÷०७३ मा घटेर ३१४९ उडानमात्र गरेको छ। अघिल्लो वर्ष भने ४३३८ उडान गरेको छ।

अन्तर्राष्ट्रिय तर्फ भने उडान संख्या बढीरहेको छ। आर्थिक वर्ष ०७१÷०७२ मा १५९ उडान गरेको थियो भने ०७२÷०७३ मा २७३६ र अघिल्लो वर्ष ३३५८ उडान गरेको छ।

सेक्टरगत रुपमा नेपाल एयरलाइन्सको काठमाडौं–दिल्ली फलदायी देखिएको छ भने भारतकै मुम्बई सबैभन्दा कमजोर देखिएको छ।
काठमाडौं–दिल्ली–काठमाडौं रुटमा उडान गर्ने नेपाल एयरलाइन्सका जहाज औसत ८३ प्रतिशत सिट भरिन्छन्। भने मुम्बईमा ६७ प्रतिशतमात्र । त्यस्तै कतारको दोहा ८८.१९, हङकङ ८५.५४, क्वलालम्पुर ८३ र दुबई ६९ प्रतिशत सिट भरिने गरेका छन्।

आन्तरिक तर्फ भने एयरलाइन्स निकै कमजोर देखिएको छ। उसका भैरहवा, पोखरा र विराटनगरजस्ता क्षेत्रमै कमजोर देखिएको छ।

असारभित्रै वाडबडी ६० प्रतिशत विदेशी पाइलट 
एयरलाइन्सले असारभित्रै एयरबसको ए३३०–३०० वाइड बडी विमान ल्याउने भएकोछ। आगामी जुन दोस्रो साताभित्र पहिलो विमान
आउने र जुनको अन्तिम वा जुलाइनको पहिलो साताभित्र दोस्रो विमान पनि आइसक्ने कंसाकारले जानकारी दिए।

वाइड बडी आएपछि उडान गर्न कोरियाको इन्चोन विमानस्थल र जापानको ओसाकामा स्लट(उडान अनुमति) पाइसकेको र अरु तयारी पनि अगाडि बढाइएको उनले बताए।

वाइड बडी विमान उडानको लागि ६० प्रतिशत विदेशी पाइलट ल्याउने तयारीमा एयरलाइन्स रहेको छ। नेपालभित्रको जनशक्ती पर्याप्त नहुने भएकोले विदेशबाट ल्याइने कंसाकारले जानकारी दिए।

एउटा वाइड बडी जहाज उडान ८ क्याप्टेन र ८ कोपाइलट चाहिन्छन्। यसमा सुरुमा ४ जना क्याप्टेन र ६ जना कोपाइलट एयरलाइन्सले नै तयार गरिरहेको छ। बाँकी विदेशबाट ल्याइने कंसाकारले जानकारी दिए।

दोस्रो जहाज आएपछि कूल ११ जना क्याप्टेन ६ जना कोपाइलट विदेशी हुने छन्। विस्तारै एयरलाइन्सले तालिम तथा प्रशिक्षण दिएर आन्तरिक पाइलट बढाउँदै लिने कंसाकारले जानकारी दिए।

वाइड बडीको इन्जिन मर्मत गर्न निर्माता कम्पनीलाई नै ठेक्का दिने
नयाँ आउने वाइड बडी विमानमा जडित इन्जिनको मर्मत गर्न निर्माता कम्पनी रोल्स रोयस कम्पनीलाई नै जिम्मा दिने एयरलाइन्सले तयारी गरेको छ।

मासिक निश्चित शुल्क तिरेर असिमित मर्मतको सम्झौताको लागि तयारी भइरहेको कंसाकारले जानकारी दिए।

‘दुई वाइड बडीका चार इन्जिन मर्मत गर्न महिनाको ६ करोड रुपैयाँसम्म तिर्नुपर्ने हिसाब देखिए पनि टुंगो भने लागेको छैन’ उनले भने,‘तर १२ वर्षका लागि हुने यो सम्झौतामा तत्काल मर्मत वा नयाँ इन्जिन राखिदिने जिम्मा उसकै हुन्छ।’

न्यारो बडी विमानको इन्जिन बिग्रदा २१ दिनसम्म बनाउन नसकिएको बताउँदै उनले त्यसरी वाइड बडी थन्किए व्यावसायिक रुपमा डुब्ने खतरा रहेको भन्दै कंसाकारले नयाँ सम्झौता गर्न लागिएको बताए।


Facebook Comment


No ads found for this position