१४ वर्षमा १४४ जनाको ज्यान गयो

 सुबोध गौतम कालाबन्जर –  खुट्टाका नंग्रा फाट्टिएको एउटा पोथी बाघ जसको नाम स्थानीयले ‘नंग्रे पोथी’ राखेका छन् । अहिलेसम्म यसले २० भन्दा बढी मानिस मारिसकेको छ । तर पनि स्थानीय भन्छन्, ‘यो पोथी बाघ अझै ५÷६ वर्ष बाँच्नुपर्छ । यसको बानीव्यहोरा कसरी परिवर्तन भयो भन्ने अध्ययन गर्नुपर्छ।’

नंग्रे पोथी बाघ मात्र होइन यसअघि ‘ध्रुवे हात्ती’ ले पनि १५ भन्दा बढी मानिस मारेको थियो । अहिले ‘रोनाल्डो’ नामको हात्तीले आक्रमण गरेर दुःख दिइरहेको छ । यसले हात्ती प्रजनन केन्द्र खोरसोर नजिकै भारतीय पर्यटकलाई  मारेको थियो।

कालाबन्जर मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष रेबिजंग गुरुङ भन्छन्, ‘यो बाघ र हामीबीच समझदारी छ । यसले कहिल्यै बस्तीमा पसेर मान्छे मारेको छैन । मलाई बाघप्रति कत्ति पनि रिस छैन ।’ उनी थप्छन्, ‘यो त यस्तो भयो–भयो अरु वन्यजन्तु यस्ता नहुन भन्नका लागि अनुसन्धान जरुरी छ।’

 ‘निकुञ्जभित्रका वन्यजन्तु समस्याग्रस्त छन् कि छैनन् भनेर नियमित अध्ययन र अनुसन्धान गर्न सके द्वन्द्व व्यवस्थापनका उपाय पहिल्याउन सकिन्छ।’

चितवन मध्यवर्ती क्षेत्रका सर्वसाधारण वन्यजन्तुप्रति नरम बन्दै गएको यो एउटा उदाहरण हो । मानव र वन्यजन्तुबीच समझदारी बढाउने काममा सरकारका सरोकारवाला निकाय, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था विभिन्न किसिमले लागिरहेका छन् । तर पनि पछिल्ला दिनमा चितवन राष्ट्रिय निकुञ्जमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढिरहेको देखिन्छ । सबैभन्दा बढी सुरक्षा चुनौती अन्य संरक्षित क्षेत्रको तुलनामा चितवन राष्ट्रिय निकुञ्जमा बढी रहेको तथ्यांले पुष्टि गरेको छ।

‘घटना हेर्दा गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट १४ जनाको ज्यान भएको देखिन्छ’, राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धान अधिकृत बाबुराम लामिछानेले भने । औपचारिक रुपमा निकुञ्ज प्रशासनमा दर्ता घटना हेर्दा आव २०७३÷७४ मा बाघ, गैंडा र हात्तीको आक्रमणबाट १४ जनाको मृत्यु भएको छ । यसैगरी वन्यजन्तुको आक्रमबाट आव २०७२÷७३ मा ५ जना, ०७१÷७२ मा ९ र ०७०÷७१ मा ६ जनाको मृत्यु भएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग स्रोतबाट प्राप्त तथ्यांक अनुसार २०६०/६१ देखि ०७३/०७४ सम्म विभिन्न वन्यजन्तुको आक्रमणबाट चितवनमा मात्र एक सय ४४ जनाको ज्यान गएको छ । यस अवधिमा सबैभन्दा बढी बाघको आक्रमणबाट ५५, गैंडाको आक्रमणबाट ५२ र हात्तीको आक्रमणबाट ३० जनाको मृत्यु भएको छ । त्यस्तै भालुको आक्रमणबाट ३, बँदेलको आक्रमणबाट २, निलगाईको आक्रमणबाट १ र मगरगोहीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले पछिल्ला दिनमा मानिस र वन्यजन्तुबीच द्वन्द्व बढेको बताउ“छन् । ‘जंगली जनावरको संख्या पनि बढेको छ । आमनागरिकले पनि सावधानी अपनाएको पाइएको छैन’, उनले भने, ‘पहिला–पहिला चितवन निकुञ्जमा रैथाने हात्ती थिएनन् । अहिले यस्ता हात्तीको संख्या पनि बढेको छ ।’ अर्यालले हात्तीस“गको द्वन्द्व बढिरहेको जानकारी दिए । तर १४ वर्षको तथ्यांकले बाघ र गैंडाको तुलनामा हात्तीले गरेको मानवीय क्षति कम छ।

चितवनमा ६०५ गैंडा, १२० बाघ र करिब २० वटा रैथाने हात्ती छन् । विगतको तुलनामा तीनवटै जनावरको संख्या बढेको देखिन्छ । वन्यजन्तुप्रति सर्वसाधारण सकारात्मक हुँदै गए पनि द्वन्द्व व्यवस्थापन चुनौती बन्दै गएको उनले बताए । ‘बीचमा एक दुईवर्ष द्वन्द्व कम भएको थियो’, लामिछानेले भने, ‘आत्तिहाल्नुपर्ने अवस्था होइन तर पनि द्वन्द्व कम गर्ने प्रयास अझ प्रभावकारी बनाउनुपर्ने देखिन्छ।’

उनका अनुसार सबैभन्दा बढी मानवीय क्षति माडी क्षेत्रमा भएको छ । यो क्षेत्र चारैतिर जंगलले घेरिएको जैविक मार्ग पनि हो । त्यसपछि मेघौली–कालाबन्जर नारायणीको पूर्वीकिनारमा बढी मानवीय क्षति भएको छ । यस क्षेत्रमा बाघको आक्रमण बढी हुन्छ । पूर्वमा गैंडाले बढी आक्रमण गर्छ । सौराहावरिपरि पदमपुर क्षेत्रमा बाघ र जंगली हात्तीको गतिविधि बढी छ।

गत वर्ष नवलपरासीको थुम्सीदेखि चोरमारा क्षेत्रमा बाघको आक्रमण बढेको थियो । यो मध्यवर्ती क्षेत्रभन्दा बाहिर पर्छ । त्यस क्षेत्रमा बाघ आक्रमणबाट पा“च जनाको मृत्यु भएको थियो । ‘आन्तरिक अनुगमन गर्दा पनि बाघ र गैंडाको संख्या बढेको देखिन्छ’, लामिछाने भन्छन्, ‘यसमा पनि बाघको आक्रमण बढी देखियो।’

उनको अध्ययन प्रतिवेदन अनुसार चितवनमा २४ वटा समस्याग्रस्त बाघ छन् । तीमध्ये १३ वटाले मान्छे मारिसकेका छन् । ४ वटालाई समातेर स्थानान्तरण गरिएको छ । अन्य ७ वटाले चौपाया मारिरहेका छन् । ‘बाघको कुल संख्याको ५ प्रतिशतभन्दा कम द्वन्द्वमा सहभागी भएको देखिन्छ’, प्रतिवेदनमा उल्लेख छ।

भरतपुर महानगरपालिका–२६ का रामकृष्ण चौधरी निकुञ्ज किनारमा बसोबास गर्दै आएका सर्वसाधारण वन्यजन्तुप्रति निकै संयमित रहेको बताउ“छन् । ‘तर पनि क्षति रोकिएको छैन’, उनले भने, ‘हामीले निकुञ्ज प्रवेशमा सर्वसाधारणलाई रोक्ने धेरै प्रयास गरिरहेका छौं।’

लामिछानेका अनुसार द्वन्द्व नियन्त्रणका धेरै उपाय छन् । वन्यजन्तु र मान्छेबीचको द्वन्द्व घटाउन बाक्लै अन्तरक्रिया गर्नुपर्छ । नियमित रुपमा समस्याग्रस्त बाघ, चितुवा, हात्ती र गैंडाको अनुगमन गर्नुपर्छ । मानव बस्तीमा क्षति पु¥याउनसक्ने बिरामी र घाइते जनावरको पहिचान गर्नुपर्छ । सबै जनावरको आनीबानीबारे स्थानीयलाई जतिसक्यो धेरै जानकारी दिनुपर्छ । ‘ज्यान जोगाउने उपाय सिकाउनुपर्छ । विद्युतीय छेकबार र बासस्थान सुधार कार्यक्रममा जोड दिनुपर्छ’, उनले भने, ‘जैविक मार्गमा संरक्षणका कार्यक्रम पनि ल्याउनुपर्छ।

लामिछाने निकुञ्जभित्रका वन्यजन्तु समस्याग्रस्त छन् कि छैनन् भनेर नियमित अध्ययन र अनुसन्धान गर्नुपर्ने बताउ“छन् । ‘यस्ता वन्यजन्तुको पहिचान गर्न सकियो भने द्वन्द्व व्यवस्थापनका उपाय पहिल्याउन सकिन्छ’, उनले भने ।

सूचना अधिकारी अर्यालका अनुसार क्षति कम गर्न निकुञ्ज र बस्तीको सीमामा सिमेन्ट र रडको आरसिसी पर्खाल लगाइएको छ । कतिपय सीमामा माथि जाली र तल आरसिसी ढलानको पर्खाल बनाइएको छ । पोल गाडेर जालीमा विद्युतीय धराप पनि बनाइएको छ । मचान र पूर्वसूचना प्रणाली पनि जडान गरिएको छ । ‘धेरै उपाय अपनाएका छौं तर पनि क्षति नियन्त्रण हुन सकेको छैन’, उनले भने।

निकुञ्जप्रतिको निर्भरता कम गर्ने अभियानमा लागेको लिभिङ विथ टाइगरका प्रबन्धक टीका चौधरी द्वन्द्व कम गर्ने प्रयास सबैतिरबाट भइरहेको बताउ“छन् । ‘जनतालाई सकभर निकुञ्जभित्र प्रवेश गर्ननपर्ने वातावरण तयार गरिरहेका छौं’, उनले भने, ‘सबै संघसंस्थाको संयुक्त प्रयास भए मानवीय क्षति नियन्त्रण गर्न सकिन्छ।’

चौधरीका अनुसार कालाबन्जर क्षेत्रका मेघौली, सिसुवार, सिख्रौली, लामीचौरलगायत नारायणी पूर्वीक्षेत्रका २५४ घरधुरीमा द्वन्द्व व्यवस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन् । ‘हामीले मानव र वन्यजन्तुबीच समझदारी बढाउने चेतनामूलक कार्यक्रम गरिरहेका छौं’, उनले भने, ‘दाउराको विकल्पमा गोबरग्यास प्लान्ट जडान गर्ने र बाख्रा पालनलाई सुरक्षित गर्न खोर बनाउने काम पनि गरिरहेका छौं।’ साभार नागरीक


Facebook Comment


No ads found for this position