हेडक्वार्टरमा माओवादी नेताको रिपोर्टिङ, अनुभवको कमीले पराजय

रामकृष्ण अधिकारी, काठमाडौं : माओवादी केन्द्रका नेताहरूले स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत परिणाम ल्याउन नसक्नुमा अति आत्मविश्वास, गुटस्वार्थ, व्यक्तिवाद, पार्टीभित्रकै अन्तरघात र निर्वाचन अनुभवको कमी मूल कारण रहेको बताएका छन् ।कतिपय स्थान जितिनेमा अति विश्वास (ओभर कन्फिडेन्स) का कारण पनि पार्टी पराजित हुन पुगेको नेताहरूले जिकिर गरेका छन् । दुई चरणमा सम्पन्न ६ वटा प्रदेशको चुनावी समीक्षा, २ नम्बर प्रदेशको स्थानीय चुनावदेखि प्रदेश र केन्द्रसम्मको चुनावको तयारी र संगठनात्मक कार्यायोजनाका विषयमा छलफल गर्न २ साउनमा बोलाइएको सचिवालयको विस्तारित बैठकको तयारीका लागि मंगलबार बसेको माओवादी हेडक्वार्टर बैठकमा रिपोटिङ गर्दै नेताहरूले त्यस्तो बताएका हुन् ।

बैठकमा १४ असारमा निर्वाचन भएको प्रदेश नम्बर १, ५ र ७ का प्रदेश इन्चार्ज तथा अन्य केही नेताले बोलेका थिए । पार्टी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुरूप परिणाम ल्याउन नसक्नुमा आन्तरिकदेखि कतिपय प्राविधिक कमजोरी पनि रहेको बताउनुभएपछि प्रदेश इन्चार्ज तथा अन्य नेताले बोलेका थिए ।

निर्वाचन परिणाम पार्टीको पक्षमा आउने विश्वास गरिएको रोल्पाकै तीन स्थानीय तहमा पराजित हुनु, पहिलो चरणको भन्दा राम्रो नतिजाको अपेक्षा गरेकोमा नतिजा नआएपछि माओवादी केन्द्र चुनावी समीक्षामा बसेको हो।चुनाव समीक्षाकै लागि उसले २ साउनदेखि केन्द्रीय सचिवालयको विस्तारित बैठक बोलाएको छ ।बैठकमा प्रस्तुत गर्ने लिखित राजनीतिक दस्ताबेज तयारीका लागि मंगलबार अध्यक्ष दाहालले पार्टी हेडक्वार्टर बैठक राख्नुभएको हो।

‘माओवादीले शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा आइसकेको अवस्थामा आफ्नो पहिचानसहित कसरी अगाडि जाने भन्नेमा गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको छ’, हेडक्वार्टर सदस्य गिरिराजमणि पोखरेलले अन्नपूर्णस“ग भन्नुभयो, ‘त्यसैको तयारीका लागि मंगलबार हेडक्वार्टरमा सामान्य छलफल भएको हो ।’बैठकमा ५ नम्बर प्रदेश इन्चार्जसमेत रहनुभएका नेता वर्षमान पुनले नतिजाको तथ्यगत रिपोर्टिङ राख्दै समग्रमा पार्टी निराश भई हाल्नुपर्ने परिस्थिति नदेखिएको बताउनुभएको थियो ।

पुनले संविधानसभाको ०७० को पछिल्लो निर्वाचनमा भन्दा पार्टीले भोट प्रतिशतमा झन्डै ४ प्रतिशतले बढाएको, ३७ वटा स्थानीय तहको प्रमुख पदको प्रतिस्पर्धामा पार्टी दोस्रो स्थानमा रहेको रिपोर्टिङ गर्नुभएको थियो ।
‘कतिपय अपेक्षा गरेकै स्थानमा पनि हामी पराजित हुन पुगेका छौं, रोल्पामा तीन तह हार्‍यौं, त्यहाँ एउटामा हाम्रैमा रहनुभएका साथी विद्रोही बनेर मालेबाट उठिदिनुभयो, अर्काे स्थान अलिक कमजोर भएकै क्षेत्र हो, अर्काेमा भने मतको व्यवस्थापन गर्न नसक्दा गुमाउन पुग्यौं’, बैठकमा पुनले भन्नुभयो ।

प्रदेश नम्बर एकका इन्चार्ज गोपाल किराँतीले निर्वाचनमा भएका आर्थिक चलखेल र धाँधलीका अनेक नयाँ रूपलाई नियन्त्रण गर्न नसक्दा पार्टी कतिपय स्थानमा पराजित हुन पुगेको शृंखला सुनाउनुभएको थियो ।
उहाँले मतगणना गर्दा माओवादी उम्मेदवारको पक्षमा परेको मत वदर गराउने, गणनाको तथ्यांकमा गोलमोटल गर्नेजस्ता धाँधलीका नयाँ रुप देखिएको बैठकमा रिपोर्टिङ गर्नुभएको थियो । किराँतीले अब माओवादीले आफ्नो पहिचान जोगाउन नसक्ने हो भने कांग्रेस-एमालेभन्दा फरक नहुने धारणा राख्नुभएको थियो ।

प्रदेश नम्बर ७ का इन्चार्ज लेखराज भट्टले भने निर्वाचनका बेला माओवादी उम्मेदवार आर्थिक र भौतिक रूपमा पनि थाकेका कारण परिणाम पक्षमा आउन नसकेको बताउनुभयो ।’चुनाव लामो भयो, हामी पहिल्यैदेखि तयारीमा लागेका थियौं, त्यसबेला कांग्रेस-एमाले तयारीमै थिएनन् तर जब चुनाव लाग्यो, हामी थाक्यौं, अरू ताते, बिंड तात्ने बेला हामी तात्न नसक्दा हार्‍यौं’, भट्टले भन्नुभयो । बैठकमा गिरिराजमणि पोखरेल, कुलप्रसाद केसी, शक्ति बस्नेत, जयपुरी घर्ती, टंक राईलगायत नेताले राजनीतिक व्यक्तित्व छानिए पनि स्थानीय जनतासँग नजोडिएकालाई उम्मेदवार बनाउँदा पनि पार्टी हारेको रिपोट गर्नुभएको थियो ।साभार अन्नपुर्ण


Facebook Comment


No ads found for this position