हिमालपारी को मनाङ यात्रा

आश गुरुङ

सहरी कोलाहल छोडेर राजधानीको एक प्रतिष्ठित समूह हिमालपारीको जिल्ला मनाङ पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य बोकेको उक्त समूहमा ८० जना नेपाली सहभागी थिए । स्थानीय बासिन्दाहरूका अनुसार यो नेपालीहरू मात्र समावेश भएको मनाङ आउने हालसम्मकै सबैभन्दा ठूलो पर्यटक समूह हो ।उक्त समूहले माथिल्लो मनाङको मनाङ गाउँमा २ रात बिताएको थियो । माथिल्लो मनाङको मनाङ, टंकी मनाङ, खाङ्सार तथा भ्राकाका स्थानीय बासिन्दाहरूले समूहको भव्य स्वागत गरेका थिए । उक्त अवसरमा उनीहरूले आफ्नो साँस्कृतिक कार्यक्रममा पर्यटकहरूलाई समेत सहभागी गराएर स्वागतसम्मान गरेका थिए ।

काठमाडौंको थापाथलीस्थित एमएन्डएस इभेन्ट्सको आयोजनामा उक्त इम्याजिन नेपाल: अफरोड यात्रा तय गरिएको हो । इभेन्ट्सका सीईओ मोनाइक कार्कीले २२ वटा फोरह्वील गाडी तथा ४ वटा अफरोड मोटरसाइकलसहित टोली मनाङ पुगेको बताए । ‘यात्रा जोखिमपूर्ण थियो । हामीले साहसिक यात्रा गर्‍यौं’ उनले भने, ‘यस्तै साहसिक ठाउँको यात्रा एवं पर्यटन प्रवद्र्धनका लागि हामीले हिमालपारीको मनाङलाई रोज्यौं ।’मनाङको अधिकतम प्रचार–प्रसार हुन नसकेकाले यसको प्रचार–प्रसारमा जुटेको उनको दाबी थियो । ‘मनाङवासीको स्वागतबाट हामी धेरै खुसी छौं’ मंगलबार साँझ बेंसीसहरमा भेटिएका कार्कीले भने, ‘उहाँहरूको स्वागतसम्मान हामी कहिल्लै बिर्सने छैनौं ।’ कार्कीका अनुसार उक्त साहसिक यात्राका सम्बन्धमा डकुमेन्ट्री (वृत्तचित्र) तयार पारिनेछ । ‘दुई महिनाभित्रमा हामी डकुमेन्ट्री तयार गर्छौं । यसले मनाङको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्नेछ’ उनले भने ।नेपाल पर्यटन बोर्डले घुमफिर वर्ष घोषणा गरेको समयमा तय गरिएको उक्त यात्रामा उद्योगी, व्यवसायी, चिकित्सक, मेकानिक, सेफ आदि सहभागी रहेको कार्कीले बताए । गत शुक्रबार काठमाडौंबाट प्रारम्भ भएको यो साहसिक यात्रा बेंसीसहर हुँदै मनाङ, खाङ्सार भएर पुन: बेंसीसहर फर्केर बुधबार काठमाडौं पुगेको छ । टोली ३ हजार ७ सय ४५ मिटर उचाईको खाङसार र ३ हजार ५ सय ५० मिटरको मनाङ गाउँसम्म पुगेको थियो । ‘त्यति हाइटमा पुग्दा पनि हामीलाई केही समस्या भएन । सबै सकुशल फर्कियौं’ कार्कीले भने । टोलीले मनाङको प्रसिद्ध गंगापूर्ण ताल पनि अवलोकन गरेको थियो ।

इभेस्ट्सका सुमित श्रेष्ठका अनुसार स्थानीय आमा समूह, युवा समूह तथा पर्यटन समूहले नेपाली पर्यटकहरूको भव्य स्वागत गरेको थियो । टोलीले आर्चरी (तीर हान्ने खेल) पनि अवलोकन गर्‍यो । आर्चरी प्रतियोगिता विजेताले दि काठमाडौं पोष्टका तर्फबाट माउन्टेन फ्लाइटको टिकट पाएको श्रेष्ठले जानकारी दिएका छन् । भ्रमणका क्रममा भ्राकामा आयोजित घोडा दौड प्रतियोगितामा टोलीका सदस्यहरू निकै रमाएका थिए ।

‘कसैले घोडा दौडाए, कसैले घोडा चढेर सेल्फी खिचे’ श्रेष्ठले भने, ‘मनाङको साँझ अद्भुत थियो । हामी मनाङीहरूसँगै रमायौं, मनाङीहरू पनि हामीसँगै रमाए ।’ श्रेष्ठले लेखेका छन्– ‘हाम्रा लागि यो ठूलो अवसर सावित भयो । स्थानीय बासिन्दाहरूका लागि पनि यति ठूलो समूहलाई आफ्नो सँस्कृति देखाउन पाउनु अवसर नै हो । यस प्रकारका क्रियाकलापले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ ।’

कार्कीका अनुसार यो यात्रा एमएन्डएस इभेन्टसले सञ्चालन गर्न थालेको साहसिक कार्यको पहिलो कडी हो । यसअघि होलीका अवसरमा राजधानीमा कलर रिपब्लिक कार्यक्रम (कन्सर्ट) आयोजित गरिएको थियो । ‘हामीले वर्षमा २ पटक यस्ता कार्यक्रम आयोजित गर्दै आएका छौं । आगामी वर्ष पनि हाम्रो यस्तै साहसिक कार्य सञ्चालन हुनेछ ।’


Facebook Comment


No ads found for this position