हिउँले ढाकिएको हिमालपारिको जिल्ला

आरके अदीप्त गिरी

तपाईंलाई देशको कुन ठाउँ डुल्न मन लाग्छ भनेर सोध्दा अधिकांश नेपालीले जवाफमा मुस्ताङ भन्छन् । यहीँ डुल्न–घुम्नलायक हिमालपारिको जिल्ला मुस्ताङ अहिले हिउँले सेताम्य छ । भौगोलिक विशेषताले धनी मुस्ताङका मुक्तिनाथ, जोमसोम, कागबेनी, चराङ, छुसाङ, घमी, छोसेर, सुर्खाङ र लोमाङथाङ वरपरका खैरा, फुर्सा र उराठ डाँडा हिउँले छपक्कै छोपिएका छन् ।

मुस्ताङ साँच्चिकै लोभलाग्दो गरी हिउँले ढाकिएको छ । घर, गुम्बा, मन्दिर, बाटो, उब्जाउ भूमि जताततै हिउँ थुप्रिएको छ । चिसो मुस्ताङमा जाडो झनै बढ्दो छ । यहाँको सुकिलो दृश्यमा शुभ्रता थपिएको छ । कृषकलाई बाली लगाउन हतारो छ । हिउँले माटो चिस्यान हुने हुँदा यस क्षेत्रको मुख्य सिँचाइ सुविधा भन्नु नै हिउँ हो । हिउँ परेन भने मुस्ताङको परिचय फिका हुन्छ । ‘हिउँले जीवन कष्टकर भए पनि माटोको उर्वर उब्जनी सन्तुलन गराउन विविध भूमिका खेल्छ, हिउँ यहाँको विशेषता हो,’ घमीका स्थानीय पेमा ध्याम्वो गुरुङ भन्दै थिए ।


यता, मुस्ताङ घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरू भने हिउँकै कारण बिलखबन्दमा परेका छन् । क्यामसाइडमा टेन्ट टाँगेर बसेका पर्यटकहरूलाई हिउँले बाटो पहिल्याउन गाह्रो बनाएको छ । दामोदर कुण्ड तथा तिलिचो ताल हिँडेका तीर्थयात्री र पर्यटकहरू आधा बाटोबाटै फर्किएका छन्, बाटो पहिल्याउन नसकेर । घोडा, खच्चड, भेडाबाख्रा चौंरी आदिलाई चरिचरनमा समस्या परेको छ । थुप्रै बथानमा भेडाबाख्रा र चौंरीहरूलाई तल्लो मुस्ताङतर्फ झारिँदै छ । लोमानथाङलगायत उपल्लो मुस्ताङ पुग्ने सवारीसाधनहरूको आवतजावतमा पनि समस्या भएको छ ।
‘यो यात्रा हिउँ पर्नुले स्मरणीय त भयो तर मनाङको तिलिचो ताल पुग्ने धोको भने अपूरै होलाजस्तो छ,’ जर्मनबाट मुस्ताङ हुँदै मनाङ जान आएका सुवारो मोरिया भन्दै थिए । हिउँसँगै रमाउन आएका अरू थुप्रै पर्यटकमा पनि विभिन्न संशय थियो । केही भने प्रकृतिको यो मुग्ध संसारमा हिउँ खेल्न पाएकोमा नौलो आभास भइरहेको प्रतिक्रिया पनि जनाउँदै थिए ।


यस समय प्राय: मुस्ताङेहरू जाडो छल्नलाई जिल्लाको तल्लो भाग पोखरा, काठमाडौं र तराईतिर झरेका छन् । यहाँको एक तिहाई जनसंख्या मौसमी हिउँदे बसाइसराइमा बाहिरिन्छन् । यो क्रम अझै छ । यससँग उनीहरूको व्यापार जोडिएको छ । यस बेला यहाँका अधिकांश विद्यालय बन्द छन् । केही घुम्ती विद्यालयका रूपमा पोखरा सारिएका छन् ।
हिउँ पर्दा एकाध मानिसबेगर मुस्ताङ सुनसानजस्तै हुन्छ । पहिले यहाँ चार महिनासम्म लगातार हिउँ पथ्र्यो । झोङबासी हिक्मतबहादुर थकालीका अनुसार गत वर्ष कात्तिकबाटै हिउँ परेको थियो । उपल्लो मुस्ताङको लोमानथाङमा भने कात्तिकबाटै हिउँ पर्न थाल्छ । यो वर्ष अघिल्लो वर्षको तुलनामा बाक्लो हिउँ परेको छ । यद्यपि यो क्रम पहिलेभन्दा कम हो ।साभार कान्तिपुर








Facebook Comment


No ads found for this position