स्क्रब टाइफस रोकथामका लागि उपचार केन्द्र स्थापना गरिने

 ३० साउन, काठमाडौ । स्क्रब टाइफसको विरामीको उपचारका लागि टेकुस्थित इपिडिमियोलोजी शाखाले ‘स्वास्थ्य सम्बन्धी सचेतना’ कार्यक्रम अन्तर्गत देशका विभिन्न जिल्लामा उपचार केन्द्र स्थापना गर्ने तयारी सुरु गरेको छ ।

scrub-typhusदेशका विभिन्न जिल्लाहरुमा स्क्रब टाइफसका विरामीको संख्या बढ्दै गएपछि शाखाले धरान, विराटनगर, चितवन, बुटवल, दाङ, लगायतका १२ देखि १५ स्थानमा स्क्रब टाइफस उपचार केन्द्रको स्थापनाको तयारी सुरु गरेको हो । यसको लागि शाखाले देशभरका स्वास्थ्य संस्थाहरुमा आन्तरिक निर्देशिका समेत पठाइसकेको छ ।

‘सामान्य एन्टिबायोटिकले निको हुने यो रोगबारे जनचेतना फैलाउन नसक्दा मानिसहरुमा गम्भीर असर देखिएको हो’, इपिडिमियोलोजी शाखा प्रमुख डा. गुणनिधि शर्माले अनलाइनखबरसँत भने, ‘त्यसैले करीव १५ जिल्लामा उपचार केन्द्र स्थापना गरी त्यहाँ कार्यरत अहेव, नर्स, स्वास्थ्य स्वंयसेविका तथा चिकित्सकहरुलाई यसको उपचार विधिबारे जानकारी दिने तयारी सरु गरेका छौ ।’ उनले यस कार्यक्रमकोे लागि आवश्यक पर्ने गृहकार्य आइतबारबाटै सुरु गरिएको जानकारी दिए ।

उनका अनुसार नेपालमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या हाल ७३ पुगेको छ । धादिङ, नुवाकोट, दाङ, चितवन, धनगढी, बुटवल लगायतका देशभरका २० जिल्लामा यसको संक्रमण देखिएको छ ।

संक्रमणकै कारण गत साउन २५ र २६ गते बोया-३ भोजपुरका तीन वर्षीय मौसम विक तथा वाला, संखुवासभाका १५ महिने बालक संयोग राईको वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

के हो स्क्रब टाइफस ?

मुसा, छुचुन्द्रो लगायतका जीवहरुबाट सर्ने यो रोग ‘रिकेटसिया’ नामक एक व्याक्टेरियाका कारण मानिसमा सर्ने गर्छ । यो रोग मुसा, छुचुन्द्रोमा लगायतमा पाइने ‘माइट’ भनिने किर्नाले मानिसमा सार्ने काम गर्छ ।

विशेषगरी झार, चौर, घासपात, पुरानो काठहरुमा बस्ने यस्ता किर्नाले सो व्याक्टरिया मुसाबाट मानिसमा सारेपछि मानिसहरु यसबाट संक्रमित बन्छन् । यो रोग यसअघि देखिएपनि नेपालमा असर खासै देखिएको थिएन ।

गत वर्ष भूकम्पका बेला मानिसहरु सडकमा बस्न बाध्य बनेका थिए । त्यही बेला घरको दुलोमा लुकेर बस्ने मुसा, छुचुन्द्रोहरु समेत घरबाट बाहिर निस्किएका थिए । विज्ञहरुको अनुमान छ कि त्यही बेला मुसाको पेटमा टाँसिएर बसेका यस्ता किर्ना मानिसमा सरेको थियो । यो रोग गत वर्ष भदौ १३ गते नेपाल भित्रिएको सरकारी स्तरबाट समेत प्रमाणित भइसकेको छ ।

के के हुन् यसका लक्षणः

१. निरन्तर ज्वरो आउने
२. टाउको दुख्ने
३. पसिना आउने
४. थकाई लाग्ने
५. कमजोर महसुस हुने
६. खोकी लाग्ने
७· आखा वरिपरि दुख्ने
८· घाँटी वरिपरिका ग्रन्थीहरु सुन्निएर गिर्खा पर्छ ।

यी लक्षण देखा परेको पाँचौ दिनदेखि सातौ दिनमा घाटी वरिपरि रातो विमिरा देखिने गर्छ, जुन क्रमश पेट, हात, खुट्टा तथा अनुहारमा फैलन्छ ।

यो रोगको सुरुमै उपचार नगरिएमा यसले भयावह परिणाम निम्त्याउन सक्छ । विशेषगरी सास फेर्न गार्‍हो हुने, मृगौलाले काम गर्न छोड्ने र अन्त्यमा यस रोगले दिमागमा समेत असर गरेर विरामीको मृत्यु समेत गराउन सक्छ ।

उपचार विधि ?

यदी कुनै विरामीमा माथिका लक्षण देखा परेमा तुरुतै नजिकैको स्वास्थय संस्थामा लगेर उपचार गराइहाल्नु पर्छ । विशेषगरी रगतमा एन्टीजेनको जाच गरेपछि यो रोग लागेको वा नलागेको पत्ता लगाउन सकिन्छ ।

यदी विरामीमा यस रोगको संक्रमण देखिएमा चिकित्सकको सल्लाह अनुसार पुरा डोजको एन्टीवायोटिक प्रयोग गरेमा यो रोग निको हुन्छ ।

यसबाट बच्ने उपाय ?

यो रोग खेतबारीमा काम गर्ने किसानहरु, झाडी र घाँसमा खेल्ने बच्चाहरुमा यो रोग सर्ने सम्भावना बढी रहने भएकोले समयमै सजग रहन जरुरी हुन्छ । त्यस्तै रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल जानु उचित हुन्छ । त्यस्तै, यो रोग फैलाउन सक्ने, किरा, मुसा, छुचुन्द्रो वरिपरि देखिएमा किटनाशक औषधि प्रयोग गर्नु उचित मानिन्छ


Facebook Comment


No ads found for this position