सेप्टेम्बरको सुरुवातमै तारे होटेलहरूको अकुपेन्सी ६५ प्रतिशतसम्म पुग्यो

अच्युत पुरी

१ असोज , काठमाडौं । भदौ पर्यटकीय मौसम (सेप्टेम्बर–नोभेम्बर) सुरु भएसँगै तारे होटेलमा पाहुनाको चाप बढ्न थालेको छ । होटेल संघ नेपाल (हान)का अनुसार सेप्टेम्बरको सुरुवातमै तारे होटेलहरूको अकुपेन्सी ६० देखि ६५ प्रतिशतसम्म पुगेको छ । नेपालमा ६० देखि ६५ प्रतिशतसम्म अकुपेन्सी पुगेको अवस्थालाई ‘राम्रो’ मानिन्छ ।

room७० भन्दा माथिको अकुपेन्सीलाई उत्कृष्ट मान्ने गरिन्छ । गत वर्ष (सन् २०१५ मा) भूकम्प र नाकाबन्दी झेलेको नेपालका होटेलमा यस मौसममा अकुपेन्सी ४०–४५ प्रतिशत हाराहारी मात्र थियो । भूकम्पभन्दा अगाडिको समयमा भने सेप्टेम्बर–नोभेम्बर अवधिमा तारे होटेलका ८० प्रतिशतभन्दा माथि कोठा भरिने गरेको हानका महासचिव विनायक शाहले जानकारी दिए । ‘पर्यटक आगमन वृद्धि भएपछि होटेलमा पाहुनाको चाप पनि बढेको छ,’ उनले भने, ‘तर, यो वेला होटेलका लागि अधिक व्यापार हुने समय हो । सन् ०१७ को अपेक्षा तारे होटेलमा अग्रिम बुकिङको टे«न्ड हेर्दा सन् ०१६ मा पनि पर्यटक आगमनमा चामत्कारिक वृद्धि हुने संकेत भने नदेखिएको होटेल व्यवसायीहरूको भनाइ छ । ‘यो मौसममा पनि औसतः अकुपेन्सी रहनु र अग्रिम बुकिङको अवस्था हेर्दा यो वर्ष पनि पर्यटन आगमन उल्लेख्य नबढ्ने देखिन्छ,’ महासचिव शाहले भने, ‘सन् २०१७ को प्रारम्भबाटै पर्यटन आगमन लयमा फर्कने अपेक्षा छ ।’

नयाँ कार्यक्रम नआउँदा माहोल तातेन भूकम्पपछि पर्यटन क्षेत्रको पुनः उद्धारका लागि सरकारले नयाँ कार्यक्रम ल्याउन नसक्दा यो क्षेत्र अझै पनि माथि उठ्न नसकेको व्यवसायीहरू गुनासो गर्छन् । राज्यले दसैँ–तिहारजस्ता चाडबाडमा आन्तरिक पर्यटक लक्षित प्याकेज बनाउन सहयोग गरेको भए गन्तव्य विस्तारमा फलदायी हुने उनीहरूको निष्कर्ष छ । सरकारले विनातयारी घोषणा गरेको घुमफिर वर्षले केही प्रभाव पार्न नसकेको र आजैबाट प्रयास नथाले सन् ०१८ का लागि घोषित अन्तर्राष्ट्रिय भ्रमण वर्षसमेत प्रभावहीन हुने व्यवसायीको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घुमफिर वर्ष सफल बनाउने उद्देश्यसहित तयार पारेको कार्यविधि पास हुन नसक्दा कार्यक्रमले अझै पनि औपचारिकता पाएको छैन । २०२० सम्म २० लाख पर्यटक धान्न सक्ने संरचना नेपालभित्र सञ्चालित तथा निर्माणाधीन होटेलले सन् २०२० सम्म २० लाख पर्यटकलाई आतिथ्य सेवा दिन सक्षम हुने होटेल व्यवसायीहरूले बताएका छन् । अहिले मुलुकभर करिब ४ हजार तारे स्तरका कोठा निर्माणका क्रममा रहेकाले केही वर्षभित्रै नेपाली आतिथ्य उद्योगको क्षमता उच्च वृद्धि हुने व्यवसायीको भनाइ छ । सन् २०२० सम्म वार्षिक कम्तीमा २० लाख पर्यटन आउने वातावरण नबने अहिले होटेलमा भएको लगानी डुब्न सक्ने खतरातर्फ व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका छन् । मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा अहिले १ सय १६ तारे स्तरका होटेल सञ्चालनमा छन् । ती होटेलमा ९ हजार ७ सय १० शैया रहेका छन् । स्वर्णजयन्ती महोत्सवको तयारीमा हान   होटेल उद्योगीहरूको छाता संगठन होटेल संघ नेपाल स्थापनाको ५०औँ वर्ष प्रवेशको उपलक्ष्यमा स्वर्णजयन्ती महोत्सवको तयारीमा जुटेको छ । संघले १४ असोजदेखि तीन दिनसम्म राजधानीमा महोत्सव आयोजना गरेको छ । महोत्सवमा होटेल उद्योगसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रतिनिधि सहभागी हुने संघले जानकारी दिएको छ ।

महोत्सवअन्तर्गत विगत ५० वर्षयता होटेल उद्योगको विकासक्रम झल्किने गरी ‘होटेल एक्स्पो’ आयोजना गरिएको हानका प्रमुख कार्यकारी प्रवेश अर्यालले जानकारी दिए । एक्स्पोमा हिमाल, पहाड, तराई, उपत्यकासहित अन्तर्राष्ट्रिय प्रचलित मल्टी कुजिन खाना राखिने बताइएको छ । महोत्सवअन्तर्गत संघका स्वर्गीय पूर्वअध्यक्षद्वय सहदेवशमशेर जबरा र अनुपशमशेर जबराको नाममा होटेल संघ नेपालका सदस्य होटेलमा कार्यरत कामदार र आश्रित परिवारका लागि होटेल व्यवस्थापनमा स्नातक तहसम्म छात्रवृत्ति प्रदान गर्ने घोषणा हानले गरेको छ ।


Facebook Comment


No ads found for this position