सिजनको सुरुवातसँगै अन्तुमा पर्यटकको चहलपहल

इलाम, सूर्योदय दृश्यावलोकनका लागि नेपालकै उत्कृष्ट स्थान मानिएको पूर्वी इलामको अन्तुमा मौसम खुलेसँगै पर्यटक आवागमन सुरु भएको छ।

मौसममा सुधार आएपछि आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढेको हो। सूर्योदय, सूर्यास्त, हिमशृङ्खला तथा नेपाल र भारतका थुप्रै स्थानलाई आँखैअघि नियाल्न सकिने अन्तु क्षेत्र प्राचीन लेप्चा जातिको लोपोन्मुख संस्कृतिको रुपमा धनी छ। कृषिबाट सुधारिएको जीवनशैली, व्यावसायिक फूलखेती, थुम्काथुम्कामा मौलाएको हरियाली चियाबारीको ‘ग्रीन कार्पेट’ लगायतले पर्यटकको आकर्षणको केन्द्र बनेको छ।

अन्तु पोखरीमा डुंगा सयर गर्दै मनोरम दृश्य नियाल्न पाउँदा पर्यटक हर्षित हुने गरेका छन्। चियाबारी र सल्लाघारीबीचको पोखरीमा डुंगा सयर आनन्द लाग्छ, प्रजिना गुरागाईंले भनिन्।

यहाँको जातीय झाँकी, पुरातात्विक वस्तुको संग्रहालय पुष्प र कृषि प्रदर्शनीले पनि पर्यटकलाई आनन्दित बनाएको छ। अन्तु पर्यटन विकास केन्द्रले पर्यटकको बसाइ र घुमाइको लागि प्रबन्ध मिलाएको छ। गोर्खाको सिरुबारी र लमजुङको घलेगाउँपछि अन्तुलाई नेपाल पर्यटन बोर्डले ग्रामीण पर्यटनको सूचीमा राखेपछि पर्यटक आउने क्रम बढेको पर्यटन विकास केन्द्र अन्तुका अध्यक्ष धनकुमार आलेले बताए। यतिबेला झापा, इलाम, मोरङलगायत भारतको विभिन्न स्थानबाट पर्यटक आउन थालेका छन्।

स्थानीय अन्तु र समालबुङका चार दर्जनभन्दा धेरै घरमा पर्यटकलाई पेइङगेस्टको आधारमा खाने बस्ने प्रबन्ध मिलाइएको छ। मेची पहाडी पर्यटन प्रवरेद्धन विकास समितिले भ्युटावर निर्माण गरिदिएपछि पर्यटकलाई चउरमा बसेर सूर्यौदय हेर्नुपर्ने बाध्यता टरेको छ। पशुपतिनगर बजारबाट भारतीय बाटोको प्रयोग गर्दै छब्बिसेबाट गुफापातलको अवलोकनपछि पनि अन्तु पुग्न सकिन्छ।रासस


Facebook Comment


No ads found for this position