सरकार मनपरी ढङ्गले अघि बढ्योः सभापति देउवा

बनेपा, १८ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले विपक्षी दलसँग कुनै सल्लाह नगरेको गुनासो गर्नुभएको छ ।
Nepali Congress President Sher Bahadur Deubaपूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९३औँ जन्मजयन्तीका अवसरमा नेपाली काँग्रेस काभ्रेपलाञ्चोकको भवन शिलान्यासपछि आज बनेपामा आयोजित कार्यक्रममा उहाँले सरकार मनपरी ढङ्गले अघि बढेको आरोप लगाउनुभयो ।

सभापति देउवाले संविधानको कार्यान्वयन र भूकम्पपीडितलाई बसोबासको व्यवस्था गर्ने चुनौती काँग्रेसको काँधमा आएको उल्लेख गर्दै हिउँद र वर्षासमेत सकिन लाग्दा भूकम्पपीडितको पक्षमा सरकारले कुनै काम गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो – “भूकम्पपीडित जुनसुकै पार्टीका हुन् तर कसैको नाम छुट्नुहुँदैन र भूकम्पपीडितमाथि जुन जिल्लामा अन्याय हुन्छ त्यस्ता जिल्लामा जुलुस र विरोध पनि गर्न जरुरी छ ।

नेता देउवाले नेकपा (एमाले)ले नै स्थानीय चुनाव गर्न नचाहेको आरोप लगाउँदै राज्य पुनःसंरचना आयोगको रिपोर्ट आगामी साउन, भदौमा नै आउनुपर्ने बताउनुभयो ।

उहाँले प्रान्तीय चुनावलगायतका विभिन्न चुनावका विषयमा समेत सरकारले कुनै तयारी नगरेको भन्दै संविधान कार्यान्वयन नभए फेरि मुलुक अप्ठेरोमा पर्छ भन्नुभयो ।

नेपाली काँग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले प्रधानमन्त्री केपी ओलीलाई भूकम्पपीडित जस्तै एक दिन पालमा बसेर अनुभव गर्न आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले अस्थिर राजनीति भए पनि अर्थतन्त्र टिकेको भन्दै नेपाली काँग्रेसको दर्शनमा नै कम्युनिस्ट पार्टीहरु अघि बढेको जिकिर गर्नुभयो ।

सो कार्यक्रममा सांसदद्वय कञ्चनचन्द्र वादे, तीर्थ लामा, पूर्व सांसद शिवप्रसाद हुमागार्इं, नेपाली काँग्रेस काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, उपाध्यक्ष अच्युत पौडेललगायतले सरकारको आलोचना गर्दै भूकम्पपीडितलाई शीघ्र राहत उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।

सात आना तीन पैसा एक दाम जग्गामा रु तीन करोडको लागतमा नेपाली काँग्रेस काभ्रेपलाञ्चोकले आफ्नो भवन निर्माण गर्न लागेको हो ।


Facebook Comment


No ads found for this position