सडकमा छुट्टै साइक्लिङ लेन होस : मदनकृष्ण श्रेष्ठ

तपाईंलाई मनपर्ने सहर कुन हो ? 
मलाई हाम्रो देशका सहर खासै राम्रा लाग्दैनन् । यहाँका सहरको अवस्था भद्रगोल छ । सरकारले सहरलाई व्यवस्थित पार्न ल्याएका योजना कार्यान्वयन नगर्दा सहर अव्यवस्थित बनेका हुन् । मलाई जापान, अमेरिका, हङकङ, स्विट्जरल्यान्ड, मस्को, अस्ट्रेलियालगायत देशका सहर एकदमै राम्रो लाग्यो । त्यहाँ व्यवस्थित सडक छन् । पुराना कलाकृतिलाई पनि सजाएर रािखएको छ । सहरको बीच खण्डमा हरियाली कायम गरिएको छ । त्यहाँका सहरका यी चिजले मेरो ध्यान तान्यो ।

हाम्रा सहर किन व्यवस्थित भएनन् होला ?
प्राकृतिक र भौगोलिक रूपमा हामी विश्वमै धनी छौँ । यहाँ पाइने अनुपम चिज विदेशमा पाइँदैन । तर, राज्यको तर्फबाट सहर विकासमा भएका काम प्रभावकारी देखिएका छैनन् । भएका योजनाले पनि मूर्त रूप पाएका छैनन् ।

मदनकृष्ण श्रेष्ठ, कलाकार

सरकारले कसरी काम गर्‍यो भने सहर व्यवस्थित बन्छ ?
भएका योजना पूरा गर्नुपर्‍यो, सडक फराकिलो पार्नुपर्‍यो । अहिले यहाँका सडक भत्केको देख्दा दुःख लाग्छ । यी समस्याको समाधान गर्न नयाँ पुस्ता जागरुक हुन जरुरी देखिन्छ । यहाँका नेता र सरकारी कर्मचारी सभ्य मुलुकका सहर घुमेको कुरा गरेर समय बिताउँछन् । तर, काम गर्दैनन्, यो दुःखको कुरा हो । यसबाहेक जथाभावी प्लटिङ गर्नुभएन । ढल निकास, खानेपानी र सडकलाई विशेष प्राथमिकतामा राख्नुपर्‍यो । अहिले उपत्यकामा जति पनि विकास निर्माणका काम भइरहेका छन्, ती काममा सरोकारवाला सबै निकायको समन्वय भएन । आपसी समन्वय नहुँदा योजनाको समय मात्रै बित्यो, तर काम भएन ।

सहरको विकास कसरी गर्न सकिएला ? 
पुराना कलाकृति र मठ–मन्दिरको जर्गेना गर्नुप¥यो । हाम्रो गर्वको विषय नै पुराना कलाकृति हुन्, यसतर्फ राज्यको विशेष ध्यान पुग्नुपर्छ । आधुनिकता र मौलिकता केन्द्रमा राखेर काम गर्न जरुरी देखिन्छ । त्यस्तै, सहर विकासको अर्को मुख्य आधार सडक पनि हो । सडकलाई फराकिलो पार्ने हो भने विकासका बाटा खुल्छन् ।

पोहोर दुई महिनामा १८ देश घुमेर आएँ । त्यहाँका सहर उस्तै–उस्तै लाग्यो । फरकपना खासै भेटिएन । तर, हाम्रो देश तीभन्दा फरक छ । हङकङ पनि मलाई राम्रो लाग्यो । विदेशका धेरै सहर नेपाली कामदारले बनाए । तर, हाम्रोमा बनाउने कोही भएन ।

तपार्इं जान्ने–बुझ्ने हुँदा काठमाडौं, भक्तपुर र कीर्तिपुर कस्तो थियो ?
धेरै राम्रो र व्यवस्थित थियो । खानेकुरामा स्वाद हुन्थ्यो । घुम्ने र खेल्ने ठाउँ धेरै थिए । बस्ती पनि पातला थिए । घुम्न जाने र खुला ठाउँ प्रशस्त थियो । ०१८ सालतिर गर्मीका बेला वाग्मती र विष्णुमतीमा पौडी खेल्थ्यौँ । तर, अहिले यी खोला प्रदूषित भए । सहरलाई सबैले फोहोर मात्रै बनाए । सफा गर्न कोही अघि सरेनन् । मैले दुई वर्षअघि युरोप जाँदा सुनेको थिएँ– कुनैताका युरोपका सहरको नदी पनि वाग्मती जस्तै फोहोर थिए रे । तर, सरकार र नागरिक मिलेर ती नदीलाई अहिले कञ्चन बनाएका छन् । हामीले चाहने हो भने यहाँका नदीलाई त्यस्तै बनाउन सक्छौँ । यसमा नागरिक र सरकार मिल्न जरुरी छ ।

अहिलेको उपत्यका कस्तो लाग्छ ?
अहिलेको उपत्यका हेर्दा विरक्त लाग्छ । केही चिज भने पहिलेभन्दा केही विकसित भएको हो । तर, विकास निर्माणका कामलाई द्रूत गति दिन नसक्दा सहर दूषित भएको छ । भएका खाली ठाउँ धमाधम प्लटिङमा परिणत हुँदै छन् । यसको साटो पहिल्यै हाउजिङ बनेका भए यति धेरै घर बन्दैनथे होला । जथाभावी घर बनाउने क्रममा बाटो साँघुरियो । सरकारले पनि खासै काम गरेन । अहिले जे छ, त्यसैलाई मिलाउँदै जाने हो भने सहर राम्रो बन्न सक्छ । यसमा नागरिक पनि जिम्मेवार हुनुपर्छ । सहरको विकासमा सबैले आफ्नो धर्म निभाउन जरुरी छ ।

तपार्इं विदेशका धेरै सहर पनि घुम्नुभएको छ, त्यहाँका तुलनामा हाम्रा सहर कस्तो लाग्छ ?
सरसर्ती तुलना गर्दा विदेशका सहर सफा र व्यवस्थित छन् । हाम्रा सहर फोहोर र अव्यवस्थित छन् । म चार वर्षपहिले मस्को घुम्न गएको थिएँ । त्यो ठाउँ देखेर मन लोभियो । त्यहाँको सडक चौडा र चिल्लो थियो । हरेक सवारीको लेन छुट्टै थियो । हाम्रोमा पनि त्यस्तै गर्न जरुरी देखिन्छ । प्राकृतिक र भौगोलिक पक्षलाई हेर्दा विश्वका अरु देशभन्दा हामी धेरै अगाडि छौँ । यहाँका सम्पदा, प्राकृतिक सौन्र्दयताले आज विश्वको ध्यान तानेको छ । तर, विकास निर्माणमा भने हामी अरु देशभन्दा धेरै कदम पछाडि छौँ ।

तपाईंको सपनाको सहर कस्तो हुनुपर्छ ?
सफा, साइक्लिङको छुट्टै बाटो होस् । सडक फराकिलो होस् । यसका लागि सहरका मानिसको मन र विचार पनि फराकिलो विचार हुनुपर्छ । तर, हाम्रो नेताको दिमाग साँघुरो भयो । राजनीतिक स्थिरता नहुँदा सहरको विकास रोकिएको छ । यसबाहेक सरसफाइ, बाटोघाटो निर्माण, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुँवाधुलो रोकथामलगायत विषयलाई केन्द्रमा राखेर काम गर्ने हो भने सहर सुन्दर बन्न सक्ला ।

काठमाडौं उपत्यकाको मनपर्ने पक्ष के हो ? 
यहाँको हावापानी, पुराना बस्ती र खानाका परिकार मनपर्छ । अरु देशमा एकदमै गर्मी र जाडो हुन्छ । तर, हामीलाई प्रकृतिले नै नापेर हावापानी दिएको छ । यहाँका डाँडाकाँडा घुम्दा स्वर्गीय आनन्द पाइन्छ ।

साथीभाइसँग कतै घुम्न जानुप¥यो भने कुन ठाउँ रोज्नुहुन्छ ? 
पहिला–पहिला न्युरोड क्षेत्रमा साह्रै घुमिन्थ्यो । सहर खुकुलो थियो । तर, त्यहाँ अहिले धेरै घर बने । आजकाल दरबार क्षेत्रतिर कहिलेकाहीँ घुम्न जान्छु । यी ठाउँमा गएपछि आनन्द मिल्छ । साभार नागरीक
प्रस्तुति : शिवहरि घिमिरे


Facebook Comment


No ads found for this position