सगरमाथा आरोहण : झूटो विवरणले जागिर गयो

विश्वको सर्वोच्च शिखर सगरमाथा चढेको दाबी गर्ने एक दम्पतीलाई भारतीय प्रहरीले जागिरबाट बर्खास्त गरेको छ । दिनेश र तारकेश्वरी राथोडले सन् २०१६ मा सगरमाथाको सफलतापूर्वक आरोहण गरेको बताएका थिए ।

भारतको महाराष्ट्रका अधिकारीहरूले राथोड दम्पतीले तस्बिरहरू सम्पादन गरी सगरमाथाको सफल आरोहणको दाबी गरेको जनाएका छन् । उनीहरूको आरोहणबारे अन्य आरोहीले प्रश्न उठाएपछि छानबिन गरिएको थियो ।

महाराष्ट्र प्रहरीका अतिरिक्त कमिस्नर सहेब्राओ पटिलले दम्पतीले गलत सूचना दिएर प्रतिष्ठामा आँच पुर्‍याएकाले उनीहरूलाई कारबाही गरिएको बताए । उनीहरूलाई कारबाही गर्नेबारे भने उनले केही बताएनन् ।

नेपालले झूटो विवरण पेस गरेको निष्कर्ष निकाल्दै १० वर्षका लागि उनीहरूलाई पर्वतारोहणमा प्रतिबन्ध लागाइसकेको छ । नेपालको पर्यटन विभागले सुरुमा उनीहरूको आरोहणलाई मान्यता दिए पनि अनुसन्धानपछि रद्द गरेको थियो । सुरुमा राथोड दम्पतीले संवाददातालाई तस्बिरहरू वास्तविक भएको बताएका थिए ।

भारतको बैंग्लोरका पर्वतारोही सत्यरुप सिद्धान्थले उनीहरूले प्रमाणस्वरूप पेस गरेका तस्बिर आफूले आरोहण गर्दा खिचेको बताएका थिए । हिमाल आरोहण सकेको र त्यसबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनको समयको अन्तर कम भएपछि उनीहरूबारे शंका उत्पन्न भएको थियो ।

सगरमाथा आरोहण सकेर त्यति छोटो समयमा आधार शिविर फर्कंन नसकिने निष्कर्षपछि छानबिन सुरु भएको थियो । साथै, उनीहरूले पेस गरेको तस्बिरमा देखिएका र आरोहणका गर्दा लगाएका पोसाक तथा जुत्ता फरक पाइएको थियो ।

उनीहरूलाई काठमाडांैको निजी कम्पनी मकालु एडभेन्चरले पर्वतारोहण गर्न सहयोग गरेको थियो । कम्पनीले गतवर्ष आफ्नो वेबसाइटमा तस्बिर सार्वजनिक गर्दै उनीहरूले सगरमाथा आरोहण गरेको दाबी गरेको थियो ।

नेपालबाट गतवर्ष वसन्त ऋतुमा २ सय ५० विदेशीसहित ४ सय ५० पर्वतारोहीले सगरमाथा आरोहण गरेका थिए ।

 


Facebook Comment


No ads found for this position