सगरमाथाको काख खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक पुग्ने

सोलुखुम्बु, चैत  : चालू आर्थिक वर्षमा जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक पुग्ने भएको छ । गाउँपालिकाको वडा नं १ बुक्सासम्म चालू आवमा सडक पु¥याउने गाउँपालिकाले जनाएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये हालसम्म सडक सञ्जालले नजोडिएको एक मात्र गाउँपालिका खुम्बुपासाङल्हामु यस वर्षदेखि सडकमा जोडिँदै छ ।

अबको केही दिनमै गाउँपालिका–१ स्थित खरिखोलामा सडक पुग्ने गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले माप्यदूधकोशी गाउँपालिका–१ जुभिङको बुम्बुरीसम्म सडक पुगिसकेको छ भने खरिखोला पुग्न करीब चार किलोमिटर बाँकी छ । “सगरमाथाको काखमा सडक पुग्यो भन्दा फरक पर्दैन”, प्रवक्ता शेर्पाले भन्नुभयो, “सदरमुकाम सल्लेरीदेखि बुम्बुरीसम्म सवारीसाधन सञ्चालन भइसकेको छ ।”

उहाँका अनुसार माप्यदूधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयुक्त लगानीमा सडकको ट्र्याक खोल्ने काम भइरहेको छ । ट्र्याक खोल्न दुई गाउँपालिकाले रु ३९÷३९ लाख लगानी गर्ने सहमतिपत्र नै तयार गरेर काम अघि बढाइएको छ । रकम अपुग भए पुनः खर्च विवरणअनुसार दुवै गाउँपालिकाले बराबरी लगानी गर्ने सहमति भएको माप्यदूधकोशी गाउँपालिका प्रमुख बुद्धिकिरण राईले जानकारी दिनुभयो । विकास निमार्णमा दुई गाउँपालिका एक भएर अगाडि बढ्ने सहमति भएको उहाँको भनाइ छ ।

सरदमुकाम सल्लेरीदेखि ३० किलोमिटरमा रहेको माप्यदूधकोशी–२ अँधेरीसम्म यसअघिनै सडक पुगिसकेको थियो भने वडा नं १ हँुदै खुम्बुपासाङल्हामुको वडा नं १ को बुक्सासम्म ४० किलोमिटर सडक यस वर्ष निर्माण गरिनेछ । लुक्लासम्मको बाँकी करीब ३० किलोमिटर सडक आगामी आर्थिक वर्षमा निर्माण गरिने प्रवक्ता शेर्पाले जानकारी दिनुभयो ।


Facebook Comment


No ads found for this position