शहीद गौतमका परिवारलाई १० लाख दिँदै गृहमन्त्रीले भने- भारतले माफी माग्नुपर्छ

१२ चैत, कञ्चनपुर । कञ्चपुरको पुनर्वास नगरपालिकामा भारतीय सीमा सुरक्षा बलले गोली हानी हत्या गरेका शहीद गोविन्द गौतमका परिवारलाई सरकारले पूर्वघोषित १० लाख प्रदान गरेको छ ।

 

गृहमन्त्री बिमलेन्द्र निधिले शहीरको घरमा पुगेर परिवारलाई भेटी सरकारले दिने भनेको राहत रकम हस्तान्तरण गरे । उनले नेपाली कांग्रेसको तर्फबाट छुट्टै ७ लाख राहत पनि शहीद पत्नी लक्ष्मी गौतमलाई हस्तान्तरण गरे ।

शहीद परिवारलाई यसअघि नेकपा एमालेले ५ लाख र माओवादी केन्द्रले ६ लाख राहत प्रदान गरेका थिए ।

परिवारलाई राहत हस्तान्तरण गरेपछि घटनास्थल अवलोकन गर्दै गृहमन्त्री निधिले भारतले यस घटनाप्रति माफी माग्नुपर्ने बताएका छन् । उनले भने, ‘भारतले नै गोली चलाएको पुष्टि भइसकेको छ । उसले यस घटनाप्रति माफी माग्नुपर्छ र पीडितलाई क्षतिपूर्ति दिनुपर्छ ।

 

उनले सरकारी घोषणा अनुसार गौतमका छोरीहरुलाई उच्चशिक्षासम्म निःशुल्क उपलब्ध गराउने र शहीदपत्नी लक्ष्मीलाई सरकारी जागीर दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

घाइते चापागाईंलाई काठमाडौं लगियो

सोही घटनामा गम्भीर घाइते भइ धनगढीमा उपचार गराइरहेका टिकाराम चापागाईंलाई थप उपचारका लागि गृहमन्त्री गौतमले काठमाडौं लिएर गएका छन् ।

उनको धनगढी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको थियो ।

नेपाली कांग्रेसका तर्फबाट उनले घाइते चापागाईंलाई पनि १ लाख राहत उपलब्ध गराए ।

 

यसैबीच शहीद गौतमका परिवारलाई नेपाल बिद्यार्थी संघ कैलाली क्षेत्र नम्बर ६ ले ४ लाख राहत प्रदान गरेको छ । उक्त रकम गृहमन्त्री निधिले शहीदपत्नी लक्ष्मीलाई हस्तान्तरण गरे । नेविसंघले घाइते चापागाईंलाई पनि १ लाख २० हजार १०१ रुपैयाँ सहयोग गरेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने आनन्दबजारमा नेपाली भूमिमा कल्वर्ड निर्माण गर्न लाग्दा भारतीय एसएसवीले रोकेपछि सुरु भएको बिवादले उग्ररुप लिँदा गत फागुन २६ गते एसएसवीले सोही ठाउँका ३० बर्षीय गोविन्द गौतमलाई गोली हानी हत्या गरेका थिए ।


Facebook Comment


No ads found for this position