शक्ति दुरुपयोग गरी अख्तियारले केयुको एमडी प्रवेश परीक्षा गरेको पुष्टि

 साउन, काठमाडौं ।काठमाडौं विश्वविद्यालय (केयु) को परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संलग्नता पुष्टि भएको छ। संसदको सुशासन तथा अनुगमन समिति बैठकमा शुक्रबार उपस्थित भएका केयु पदाधिकारीहरुले सो कुरा स्वीकार्दै केयुले अख्तियारसँग मिलेर प्रश्नपत्र तयार, परीक्षा सञ्चालन, रिजल्ट प्रकाशन गरेको बताएका हुन्।

akthiyar‘प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन र रिजल्ट प्रकाशन तीनवटै कार्यमा अख्तियारले हस्तक्षेप गरेको छ’, संसदीय समितिमा उपस्थित भएका केयुका रजिष्टार भोला थापा र डिन नरेन्द्र रानाले सांसदहरुलाई सुनाए, ‘अख्तियारको रोहबरमा सञ्चालित परीक्षालाई केयुको विश्वविद्यालय परिषदले स्वीकार गरिसकेको छ।’ अख्तियारले काठमाडौं विश्वविद्यालयसँग मिलेर गराएको एमडी एमएसको प्रवेश परीक्षाबारे शुक्रबार समिति बैठकमा छलफल भएको हो।

‘अख्तियारले परीक्षा सञ्चालन गरिसकेपछि हामीसँग अर्को विकल्प थिएन। स्थगित गर्दा ढिला भइसकेको थियो। त्यही भएर त्यसलाई सकारिएको हो’, उनीहरुले भने।

प्रतिभावान विद्यार्थीले मात्र पढ्न पाउने नियमलाई लत्याउने गरी अख्तियार र केयु मिलेमतोमा परीक्षा सञ्चालन भएको देखिएकाले यसमा लेनदेनको साँठगाँठ देखिएको उपस्थित सांसदहरुले बताए।

‘अख्तियारको काम प्रश्नपत्र बनाउने हो कि भ्रष्ट्राचार नियन्त्रण गर्ने हो? यसमा लेनदेनको साँठगाँठ देखिन्छ’, समितिमा उपस्थित एक सांसदले भने, ‘यो विषयमा समितिले छानवीन गर्नुपर्छ। अख्तियार प्रमुखलाई उपस्थित गराएर सोधपुछ गर्नुपर्छ।’

अख्तियारको काम प्रश्नपत्र बनाउने हो कि भ्रष्ट्राचार नियन्त्रण गर्ने हो? यसमा लेनदेनको साँठगाँठ देखिन्छ। यो विषयमा समितिले छानवीन गर्नुपर्छ। अख्तियार प्रमुखलाई उपस्थित गराएर सोधपुछ गर्नुपर्छ।

सांसदहरुले मागपछि यो सहितका विषयमा जवाफ दिन अख्तियार प्रमुख लोकमान सिंह कार्की सहित सबै अायुक्तलाई अाइतबार उपस्थित हुन समितिले निर्देशन दिएको छ।

केयु सम्बन्धनका मेडकिल कलेजबाट एमडी गर्न विद्यार्थीले करिब १ करोड रुपैयाँसम्म तिर्नुपर्छ। प्रवेश परीक्षामा उत्कृष्ट भएकाहरुले मात्र पैसा तिरेर एमडी गर्न पाउँछन्। त्यस्तो महत्वपूर्ण परीक्षालाई अख्तियारले आफैँ सञ्चालन गर्नु शक्तिको दुरुपयोग भएको सांसदहरुको भनाइ थियो।

जेठ १५ मा भएको सो परीक्षामा मेडिकल साइन्सका १६ सय विद्यार्थी सहभागी थिए। केयु सम्बन्धन पाएका ८ वटा कलेजमा एमडी एमएसको पढाइ हुन्छ। एमडीका लागि सबै केयु सम्बन्धनका सबै मेडिकल कलेजमा  २५० भन्दा बढीको कोटा छ।

विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रताविपरित प्रश्नपत्र बनाउने, परीक्षा सञ्चालन गर्ने र परिणाम निकाल्ने कार्यमा अख्तियार संलग्न देखिएको भन्दै सांसदहरुले यसको संसदीय छानवीन हुनुपर्ने माग गरेका छन्।

पिता प्रश्नपत्र छनाैटकर्ता, पुत्र टपर!

अख्तियारले गराएको परीक्षामा केयुका तर्फबाट उपस्थित प्रा.डा. भागवत नेपाल प्रश्नपत्र छनोटलगायत प्रक्रियामा सहभागी थिए। सोही परीक्षामा सहभागी औषत पढाइ भएका उनका छोराले आश्चयर्जनक रुपमा ८१ प्रतिशत अंक सहित पहिलो स्थानमा नाम निकालेका थिए। अाैषत विद्यार्थी भागवत पुत्र शाहीदले एमबीबीएसमा ६५ प्रतिशत मात्र अंक ल्याएर उत्तीर्ण गरेका छन्। अख्तियारको परीक्षाबाट प्रतिभाशाली विद्यार्थी पाखा लागेर लद्दुहरु माथिल्लो स्थानमा परेपछि विद्यार्थीहरुले यो परीक्षा रद्द हुनुपर्ने माग गर्दै अाएका छन्।

१३ दिनदेखि चिकित्सा शिक्षा सुधारसम्बन्धी माग राखेर आमरण अनशन बसिरहेका डा. गोविन्द केसीले केयु परीक्षामा भएको हस्तक्षेपसहित विभिन्न कलेजका सिट संख्या निर्धारण, पदाधिकारीलाई ब्ल्याकमेलिङलगायत गम्भीर आरोप लगाउँदै आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाभियोग माग गर्दै आएका छन्। यही परिप्रेक्ष्यमा संसदको समितिले शुक्रबार विश्वविद्यालयका पदाधिकारीलाई छलफलमा बोलाएको थियो।

यसरी गराएको थियो अख्तियारले परीक्षा सञ्चालन

परीक्षा जेठ १५ गते शनिबारका लागि तोकिएको थियो। परीक्षा सञ्चालन गर्न बिहीबारै अख्यितारको सानो टोली धुलिखेलस्थित केयु पुगेको थियो। परीक्षाको दिन त सुरक्षाकर्मीसहित ५० जनाको अख्तियार टोली काठमाडौं युनिभर्सिटीको स्कुल अफ मेडिकल साइन्सेज पुगेको थियो। केही चिकित्सकसमेत रहेको टोलीले आफैं प्रश्नपत्र तयार गरेर परीक्षा लिई नतिजासमेत प्रकाशित गरेर फर्किएको थियो।

स्रोतका अनुसार सुरुमा केयुले सेट गरेको परीक्षाको ‘फाइल’ परीक्षा टोली सदस्य भागवत नेपाल र डिन नरेन्द्र राणाको कम्प्युटरमा फेला परेपछि टोलीले आफैं प्रश्नपत्र तयार पारेको थियो। ‘अख्तियार टोलीले निकालेको प्रश्नपत्रमा समेत अधिकांश प्रश्न पुरानै प्रश्नपत्रका थिए,’ स्रोतले भन्यो।

आयोगका प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्ले, उपसचिव (लेखा) गोरखबहादुर शाही र आयोगले पत्याएका विज्ञ डा. सुप्रभात श्रेष्ठ दिनभरि परीक्षा व्यवस्थापनमा संलग्न थिए। काठमाडौंबाट विज्ञ टोली र प्रश्नपत्रसमेत लिएर पुगेका अख्तियार प्रतिनिधिले तीन चरणमा परीक्षा लिएका थिए।

अख्तियार टोलीमा नेपाल मेडिकल काउन्सिलका शिक्षा समिति संयोजक डा. सुप्रभात श्रेष्ठ, पूर्व रजिस्ट्रार डा. नीलमणि उपाध्याय, प्रहरी अस्पतालका डा. सरोज श्रेष्ठ, किस्ट अस्पतालका डा. ऋषिकेशनारायण श्रेष्ठ, डा. शशी शर्मा, डा. सुबोध अधिकारी र केयु परीक्षा नियन्त्रण कार्यालयका राजन क्षत्री थिए।

अख्तियारले परीक्षा लिएको विषयमा जिम्मेवार मेडिकल काउन्सिल र केयु पदाधिकारी मौन बसेको भन्दै त्रिवि पूर्वउपकुलपति डा. केदारभक्त माथेमाले केयु सिनेट सदस्यबाटै राजीनामा दिएका थिए।

परीक्षामा हस्तक्षेपबारे सुरुका समाचार खण्डन नगरे पनि डा. केसीले महाभियोगको आरोप लगाएपछि भने अख्तियारले आफूले परीक्षामा हस्तक्षेप नगरेको भन्दै विज्ञप्ति निकालेको थियो। केयु र मेडिकल काउन्सिलका पदाधिकारीले सुरुमा सुरुमा अख्तियारले परीक्षा गराएको बताउँदै आएका थिए।


Facebook Comment


No ads found for this position