विदेशी पाइलटलाई मासिक साढे २६ लाख तलब

काठमाडौं- नेपाल वायुसेवा निगमले एक विदेशी पाइलटलाई मासिक २६ लाख ५० हजार रुपैयाँ (२६ हजार ५ सय अमेरिकी डलर) तलब दिएर उपमहाप्रबन्धक बराबरको  हैसियतमा नियुक्त गरेको छ।

‘निगमलाई अत्यावश्यक व्यक्ति’ र ‘प्राविधिक विशेषताले भरिपूर्ण’ भन्दै निगम व्यवस्थापनले इटालीका ६६ वर्षीय ग्याब्रिएल एसेन्जो (गेब) लाई मासिक साढे २६ लाख रुपैयाँ तलब दिने गरी दुई वर्षका लागि नियुक्त गरेको हो। गेबले निगममा जहाज उडाउने काम भने गर्दैनन्। उनको काम निगमको जहाज सञ्चालन, चालक दलको तालिम, उडान मापदण्ड र सुरक्षा, नियम पालनालगायत हेर्ने हो।

निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्समा मासिक १२ देखि १४ लाख रुपैयाँ तलब खाएका गेबलाई महाप्रबन्धक कंसाकारले एकैचोटि झन्डै दोब्बर तलब दिएर दुई वर्षका लागि नियुक्त गरेका हुन्।

त्यसैगरी निगमले न्युजिल्यान्डका पेनिएटा माएभालाई मासिक १८ लाख रुपैयाँ तलब दिएर १७ सिटे चिनियाँ जहाज ‘वाई१२–ई’ को प्रशिक्षक पाइलट नियुक्त गरेको छ। माएभालाई निगमले दोस्रोपटक नियुक्त गरेको हो।

‘गेबलाई महिनाको साढे २६ लाख रुपैयाँ र माएभालाई १८ लाख रुपैयाँ तलब दिने गरी नियुक्त गरेका छौं,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले नागरिकसँग भने, ‘गेबको विज्ञता जहाज उडाउने होइन, वायुसेवा कम्पनीको सञ्चालन चुस्तदुरुस्त बनाउने हो। माएभाचाहिँ वाई१२–ई जहाजको अंग्रेजी बोल्न सक्ने विश्वका दुईमध्ये एक प्रशिक्षक पाइलट हुन्। त्यही भएर उनीहरूलाई त्यति तलब दिनु ठूलो कुरा भएन।’

निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्समा मासिक १२ देखि १४ लाख रुपैयाँ तलब खाएका गेबलाई महाप्रबन्धक कंसाकारले एकैचोटि झन्डै दोब्बर तलब दिएर दुई वर्षका लागि नियुक्त गरेका हुन्। गेबलाई हिमालय एयरलाइन्सले २०७३ माघमा कामबाट हटाएको थियो। गेब ‘बोइङ ७४७’ वाइड बडी जहाजका पाइलट हुन्।

माएभाले यसअघि मासिक १६ लाख रुपैयाँ तलब खाएका थिए। अहिलेचाहिँ ‘१८ लाख दिए जहाज उडाउँछु नत्र आउँदिनँ’ भन्दै मोलमोलाई गरेपछि निगमले वाई१२–ई जहाज थन्किन सक्छ भन्ने डरले पुनः उनलाई थप २ लाख रुपैयाँ दिएर नियुक्त गरेको हो।

गेबले निगममा तलब खान थालेको ४ महिना भइसकेको छ। निगमले २ सय ८० सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजका दुई थान जहाज ल्याएपछि गेबले सञ्चालनको  जिम्मेवारी पाएका छन्। ‘गेबले चार महिनामा एक करोड रुपैयाँ हात पारिसकेका छन्,’ निगमका एक वरिष्ठ क्याप्टेनले भने, ‘यति अवधिमा उनले निगममा के योगदान गरे व्यवस्थापनका उच्च अधिकारीले मूल्यांकन गर्नुपर्‍यो।’

गेब र माएभालाई महाप्रबन्धक स्तरको निर्णयबाट नियुक्त गरिएको विषयलाई निगम सञ्चालक समितिका सदस्यले पनि गम्भीर रूपमा लिएका छन्। ‘वर्षमा चार करोड नाफा गर्ने संस्थाले नाफाजति विदेशी पाइलटलाई तलब दिएर सक्ने हो भने निगम कहिले उँभो लाग्छ?,’ निगम सञ्चालक समितिका एक सदस्यले नागरिकसँग भने, ‘दुई विदेशी र मासिक १० लाख तलब दिइएका अमेरिकी ग्रिनकार्ड होल्डर नेपाली पाइलट आङनुरी शेर्पाको नियुक्तिबारे व्यवस्थापनले प्रस्ट नपारेमा हामी सबै नियुक्ति रोक्न सक्छौं।’

ठूलो परिमाणमा तलबभत्ता दिँदै पाइलट नियुक्त गरिएको विषयमा मंगलबार बसेको सञ्चालक समिति बैठकमा महाप्रबन्धक कंसाकार र सदस्यबीच ‘चर्काचर्की’ परेको थियो। कंसाकारले पाइलट नियुक्तिको प्रतिरक्षा गरेका थिए भने सञ्चालक सदस्यहरूले त्यति ठूलो परिमाणमा तलब दिनुपर्नाका आधार पेस गर्न भनेका थिए। कंसाकारले अर्को बैठकमा यसबारे विस्तृत विवरण प्रस्तुत गर्ने बताएका थिए।

निगम सञ्चालक समिति अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी छन्। सदस्यमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, अर्थ मन्त्रालयका सहसचिव जीवन सिटौला, निजी क्षेत्रबाट मुक्तिराम पाण्डे र निमानुरु शेर्पा तथा विज्ञ सदस्यका रूपमा निगमकै पूर्वनिर्देशक अच्युतराज पहाडी छन्।

‘गेबलाई लाखौं तलब दिनुको कारण के हो भने ऊसित हामीसँग नभएको ‘आइडिया’ भएर हो, कमिसन खान नियुक्त गरेको होइन,’ महाप्रबन्धक कंसाकारले भने, ‘यतिका क्षमतावानलाई नियुक्त गरेन भने निगमलाई जनकपुर चुरोट कारखाना र हिमाल सिमेन्ट कारखाना बन्नबाट कसैले जोगाउन सक्दैन। निगमलाई थप उचाइमा पुर्‍याउन गेब, माएभा र शेर्पाजस्ता पाइलट आवश्यक छन्।’

वाई१२–ई का प्रशिक्षक पाइलट माएभासँगै उडेका एक पाइलटका अनुसार दिनमा एकबाट दुई उडान गर्नुपर्‍यो भने माएभाले ‘मलाई असाध्यै थकाई लागेको छ, उडाउन सक्दिनँ’ भनिहाल्थे। उनले वाई१२–ई जहाजलाई कहिल्यै पनि दुर्गम भेगका विमानस्थलमा लान सकेनन्। ‘माएभा  दिनको ६० हजार रुपैयाँ तलब खान्थे,’ ती पाइलटले भने, ‘हामी भने महिनाभरि जहाज उडाएर १ लाख ८० हजार रुपैयाँ हात पार्छौं।’

आङनुरीको राजीनामा थामथुम

निगमले मासिक १० लाख रुपैयाँ तलबभत्ता दिएर चार वर्षका लागि करारमा नियुक्त गरेको खबर नागरिकले सार्वजनिक गरेलगत्तै पाइलट आङनुरी शेर्पा राजीनामापत्र बोकेर निगम मुख्यालय पुगेका थिए। तर, केही उच्च अधिकारीले ‘अहिले राजीनामा नदिनुस्, हामी मिलाउँछौं’ भनेर थामथुम पारेको सम्बद्ध स्रोतले जानकारी दियो।

विज्ञ भन्दै नवौं तहको वरिष्ठ क्याप्टेनमा नियुक्त गरिएका शेर्पा अहिले आन्तरिक सेवामा रहेको १७ सिटे चिनियाँ जहाज ‘वाई१२–ई’ उडाउँदै आएका छन्। उनीजस्तै यही जहाज उडाउने अन्य पाइलटलाई भने निगमले मासिक १ लाख ८० हजार रुपैयाँसम्म तलब दिएको छ।

निगमले शेर्पालाई मासिक ६ लाख रुपैयाँ तलब तथा प्रतिमहिना ७० घन्टा जहाज उडाए प्रतिघन्टा ६ हजार रुपैयाँ भत्ता दिने गरी नियुक्तिपत्र दिएको छ। करार सम्झौता अवधि रहुन्जेल तलबभत्ताबाहेक शेर्पा, उनकी पत्नी, छोराछोरी र अभिभावकलाई स्वास्थ्य उपचार खर्चबापत ५ हजार रुपैयाँ उपलब्ध गराइनेछ। त्यसबाहेक उनलाई दुर्घटना बिमा, निगम जाने जुनसुकै अन्तर्राष्ट्रिय गन्तव्यमा उनी र उनको परिवारलाई वर्षको दुई थान निःशुल्क हवाई टिकटलगायत सुविधा दिइएको छ।

क्याप्टेन शेर्पाले अमेरिकाको ‘ग्रिनकार्ड’ समेत लिएका छन्। उनकी पत्नी पनि अमेरिकी नागरिकता छ। छोरा अमेरिकी जलसेनाका अधिकृत हुन्।

पूर्वसामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विदेशको ग्रिनकार्ड वा स्थायी बसोबास अनुमति लिएका कर्मचारीका लागि ‘कि ग्रिनकार्ड कि जागीर’ मध्ये एक रोज्नुपर्ने नीति ल्याएपछि निगमले आफ्नो कर्मचारी विनियमावली संशोधन गरी यही नीति अवलम्बन गरेको थियो।

पाइलट शेर्पाले निगमको खर्चमा अमेरिका गई वाई१२–ई जहाजको प्रशिक्षक पाइलटको तालिम लिएर आएपछि २०७३ साउन तेस्रो साता राजीनामा दिएका थिए। शेर्पाले त्यसबेला बुझाएको राजीनामापत्रमा ‘अमेरिकाको ग्रिनकार्ड पाएकाले निगममा सेवा गर्न असमर्थ रहेको’ उल्लेख छ। निगमको नियमअनुसार पाइलटलाई विदेशमा तालिम दिलाएर ल्याएपछि ती पाइलटले न्यूनतम पाँच वर्षसम्म निगमकै जहाज उडाउनुपर्छ। बीचैमा छाडेर गए तालिमबराबरको रकम जरिबाना बुझाउनुपर्छ।

त्यसरी छाडेर गएका शेर्पालाई जरिबाना पनि तिर्नुनपर्ने सुविधा दिएको थियो। एक वर्षपछि फेरि निगमले १० लाख रुपैयाँ तलब दिने गरी उनैलाई नियुक्त गरेको हो। अहिले विज्ञ पाइलटको हैसियतमा नियुक्त शेर्पाले निगम छाड्नुअघि यही वाई१२–ई जहाज उडाएर महिनाको १ लाख ८० रुपैयाँसम्म हात पार्थे। शेर्पाको यो नियुक्ति निगममा चौथो पटकको हो।साभार नागरीक


Facebook Comment


No ads found for this position