विदेशमा नेपाली नेपालीबाटै असुरक्षित

उत्तम काप्री काठमाडौः देशमै रोजागारीको अवसर सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीका लागि दैनिक दुई हजारभन्दा बढी नेपाली विदेश पलायन भइरहेका छन् । यसरी पलायन हुने नेपाली कामदार नेपालीबाटै असुरक्षित हुने गरेको प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार सुशील ढुंगाना बताउनुहुन्छ ।

रोजगारीकै लागि मलेसिया र खाडीका देशमा वार्षिक पाँच लाखको हाराहारीमा नेपाली पलायन भइरहेका छन् । त्यसमा पनि मासिक १० हजारदेखि १५ हजारको संख्यामा कामकै लागि साउदी अरब पुग्ने गरेका छन् । साउदीमा रोजगारीकै लागि पुगेका नेपालीमध्ये अहिले साउदीको जेलमा १५ नेपाली हत्या अभियोगमा जेल जीवन बिताइरहेका छन् । जेलमा रहेका १५ जनामध्ये तीन जनालाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाइसकेको छ । हत्या अभियोगमा जेल जीवन बिताइरहेका १५ जनामध्ये पाँच जनालाई नेपाली दाजुभाइ नै हत्या गरेको अभियोग छ ।

भक्तबहादुर महतको हत्या अभियोगमा राजेश खांग र बिष्णु थापालाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । यसैगरी १० वर्षदेखि हत्या अभियोगमा जेल जीवन बिताइरहेका विवेक दाहालमाथि राजेन्द्र बिष्टको हत्या गरेको अभियोग छ । मृत्युदण्डको सजाय सुनवाइ भइसकेको दिलबहादुर कामीलाई कृष्ण कुस्मेलीको हत्या गरेको अभियोग छ । कुस्मेलीको परिवारले भने हत्यारा कामीसँग ब्लड मनि लिएर माफी दिन अस्विकार गरेको छ ।

हत्या अभियोगमा जेल जीवन बिताइरहेका १५ जनामध्ये पाँच जनालाई नेपाली दाजुभाइ नै हत्या गरेको अभियोग छ ।

यसैगरी राजकुमार निउरे र मीनबहादुर विश्वकर्मालाई नेपाली नागरिककै हत्या गरेको अभियोगमा जेलमा राखिएको छ । उनीहरूको विषयमा अदालतले अन्तिम निर्णय गरिसकेको छैन । निउरेलाई कमल वस्ती र विश्वकर्मालाई चुरे विश्वकर्माको हत्या गरेको अभियोग छ ।

यसबाहेकका सुरेश मन्डल, सञ्जीव यादव र मनोजकुमार पाण्डेमाथि पनि विभिन्न देशका नागरिक हत्या गरेको अभियोग छ । पाण्डेलाई मृत्युदण्डको सजाय सुनाइएको छ भने मण्डलसँग ५० लाख टाँका र यादवसँग ९६ हजार सात सय ५० रियल ब्लडमनि तिर्नुपर्ने भनी फैसला सुनाइएको छ । हत्यारा आरोपित रुपलाल बोहोराको विषयमा अनुसन्धान भइरहेको र अदालतबाट अन्तिम फैसला हुन बाँकी रहेको स्रोतको दाबी छ ।

यसैगरी हत्याको अभियोगमा जेलमा रहेका उमेश यादव, रामचन्द्र तिमल्सिना र मृजेन्द्रकुमार मण्डलसँग पीडित परिवारबाट क्षतिपूर्ति रकम माग भएको छ । साउदीकै जेलमा हत्याको आरोपमा दिलबहादुर घर्ति र शान्तबहादुर पुन पनि जेलमा छन् ।

यसैगरी खाडीकै अर्को मुलुक बराइनमा पनि दुई नेपाली नेपालीकै हत्या अभियोगमा जेल जीवन बिताइरहेका छन् । जसमा गइनबहादुर राईमाथि श्यामबहादुर राईको हत्या अभियोग छ । गइनलाई जन्मकैदको सजाय सुनाइसकेको छ । बराइनमै जन्मकैदको सजाय भोग्न बाध्य तिलबहादुर गर्बुजामाथि दिपेन्द्र बस्नेतकै हत्या गरेको अभियोग छ । दक्षिण कोरियामा एक नेपालीको हत्या अभियोगमा नेपाली नागरिकलाई १३ वर्षको जेल सजाय सुनाइएको छ ।

‘नेपालीबाट नेपालीकै हत्या हुनु चिन्ताको विषय हो’, ढुंगाना भन्नुहुन्छ, ‘उच्चस्तरीय छलफलबाट समस्या समाधान गर्दा पनि एक पक्ष भने सधैं पीडामा नै रहने अवस्था हुन्छ ।’


Facebook Comment


No ads found for this position