लाङटाङमा पर्यटक बढे

साउन, काठमाडौं । लाङटाङ घुम्न आउने पर्यटकहरूको संख्या क्रमिक रूपमा बढ्दै गएको छ। भूकम्पपछि रोकिएको पर्यटकको आगमन लाङटाङ क्षेत्रका पदमार्गको सुधार र होटलहरूको पुनर्निर्माण भएपछि बढेको हो। आव ०७३/०७४ मा ८ हजार २ सय ५४ पर्यटक आएको राष्ट्रिय निकुञ्जका रेन्जर अजित पराजुलीले बताएका छन्। मुलुककै तेस्रो पर्यटकीय पदमार्गका रूपमा परिचित लाङटाङ क्षेत्र ०७२ वैशाख १२ को भूकम्पले तहसनहस बनाएको थियो। त्यस वर्ष ४ हजार २ सय ९२ पर्यटक घुम्न आएको निकुञ्जको तथ्यांकमा उल्लेख छ।

लाङटाङ क्षेत्रमा पर्यटकका लागि घुम्न तीन वटा पदमार्ग छन्। धुन्चे, गोसाइकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बु, लाङटाङ र त्यही बाटो तामाङ सम्पदा मार्गको स्याफ्रुबेंसीदेखि गोल्जङ, गतलाङ, चिलिमे थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुसम्म पदमार्ग छन्। पर्यटकहरू गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्य, निकुञ्ज क्षेत्रभित्रका जैविक विविधता, रामसार साइटमा सूचीकृत गोसाइँकुण्ड, तामाङ सम्पदा मार्गभित्र रहेको तामाङ कला र संस्कृतिलगायतका विभिन्न क्षेत्रहरूको अवलोकन गर्न आउने गरेका छन्। पछिल्लो समय लाङटाङ घुम्ने आन्तरिक पर्यटक वृद्धि हुँदै गएको लाङटाङ राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ। भूकम्पले भत्काएको पदमार्ग सुधार र होटलहरूको पुनर्निर्माण भएको छ। photo:www.photobanknepal.com


Facebook Comment


No ads found for this position