लगलगे भ्यू टावर जाँदा नुनको पोको अनिवार्य ! (फोटोफिचर)

कुम्भराज राई, ओखलढुंगा

वर्षा लागेपछि लेकाली क्षेत्रमा खुबै जुका लाग्छ । वस्तुभाउ मात्रै नभएर सर्वसाधारणलाई समेत जुकाले खुबै सताउँछ । बुधबार नवनिर्वाचित सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले कार्यकालको सुरुआत लगलगे भ्यू टावर शिलान्यास गर्ने भएपछि स्थानीय र नेताहरु सिद्धथाम लगलगे डाँडातिर उक्लिए ।

समुन्द्री सतहदेखि करिब २ हजार २ सय मिटरभन्दा माथि उचाइ रहेको डाँडा पुग्न १ घण्टा भन्दा बढी पैदल हिँड्नु पर्‍यो । तर पैदल यात्रामा जुकाले कम्ती सास्ती दिएन । हिँड्नुअघि नै स्थानीयले बाँसको भाटामा नुनको पोको भएको लौरो सबैलाई वितरण गरे । जुका लाग्न नदिन र लागि हालेमा झार्नका लागि यसको प्रयोग गर्न स्थानीयले पाहुनलाई लौरो वितरण गरेका हुन् ।

पोकाको नुन पनि झोलामै बोकेर सबैले खुट्टाभरि लगाए । बाक्लो संख्यामा भेटिएका जुकाले सबैलाई सताउन सम्म सतायो । चीनतिर झिंगादेखि जुकासम्म तस्करी हुन्छ भन्ने सुनिएकै हो । तर यस्तो लेकाली भेगमा पाइने जुकाको टोकाइले कतिपयलाई एलर्जीसम्म हुने गर्छ ।

जे होस् बुधबारको लगलगे पैदल यात्रामा भने सांसदहरु यज्ञराज सुनुवार, शकुन्तला राजभण्डारी, नवनिर्वाचित मेयर मोहनकुमार श्रेष्ठ, उपमेयर इच्छा गुरुङलगायतले नुनको पोको बोक्दै जुकाको स्टिङ अप्रेसनमा सामेल भए ।साभार कान्तिपुर


Facebook Comment


No ads found for this position