राज्य आफैँले पर्सा वन्यजन्तु आरक्ष चिन्नुपर्छ र चिनाउनुपर्छ

प्रकाश लम्साल 

बारा: पर्यटकका लागि पर्याप्त पूर्वाधार निर्माण भइसके पनि बाराको आधाभारस्थित पर्सा वन्यजन्तु आरक्षमा पर्यटक भने बढ्न सकेका छैनन् । थुप्रै पशुपन्छी तथा वन्यजन्तु देख्न सकिने र पर्यटकका लागि पर्याप्त पूर्वाधार तयार हुँदा पनि प्रचारप्रसार अभावमा पर्यटक बढ्न नसकेका हुन् ।

आरक्षका सहायक संरक्षण अधिकृत विरेन्द्र कट्टेलका अनुसार केही स्वदेशी र एकाध भारतीय पर्यटक आए पनि तेस्रो मुलुककमा पर्यटक आरक्ष आएका छैनन् । आरक्षमा रैथाने हात्ती पाइन्छ भने धार्मिक तथा ऐतिहासिक स्थलहरू पनि थुप्रै छन् ।

पूरै आरक्ष घुम्न दुई दिन लाग्छ । आरक्षभित्रै यातायातसमेत सबै स्थानमा सजिलै पुग्न सकिने पूर्वाधार छ । पर्यटकलाई जंगल भ्रमण गराउने उद्देश्यले अमलेखगन्जमा १० वटा हात्ती राखी हात्तीसार निर्माण गरिएको छ  । हात्तीसार नजिकै धमाधम रिसोर्टहरू खुलेका छन् ।

आरक्षभित्र बाह्रसिंगे मृग, निलगाई, पाटे बाघ, भालु, विश्वमा लोप हुन लागेका काँडे भ्याकुर, सारस, अजिंगरजस्ता वन्यजन्तु र तीन सय प्रकारका पशुपन्छी पाइन्छन् । वन्यजन्तुलाई एकत्रित गर्न आरक्षभित्र ११ वटा कृत्रिम पोखरी, पर्यटक हिँड्ने गोरेटो, वन पथ तथा पर्यटकीय सूचना केन्द्रहरू छन् । आरक्षलाई लक्षित गरेर सिमराका होटलहरूले जंगल सफारी प्याकेज सुरु गरेका छन् ।

“हाम्रो आन्तरिक प्रयासले मात्र पुग्दैन, राज्य आफैँले यो ठाउँ चिन्नुपर्छ र चिनाउनुपर्छ,” होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले भने । आरक्षमै रहेको कामिनी दहलाई चुरेको मुहानबाट पानी ल्याई ऐतिहासिक अवस्थामा फकाईएको छ । राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नी प्रेमिकाको मृत्युपश्चात् उनकै यादमा पोखरी निर्माण गरेको उल्लेख छ ।

कामिनी दहमा वसन्त ऋतुमा साइबेरिया र श्रीलंकाबाट सारस तथा अन्य चराचुरुंगी जल क्रिडा गर्न आउने बताइन्छ । दह अवलोकन गर्न तथा दहमा आउने चराचुरुंगी खुला आँखाले देख्न सकियोस् भनेर आरक्षले दह वरपर खुला मचानहरू निर्माण गरेकोे छ ।

“यस आरक्षमा सहरको व्यस्त वातावरणबाट दिक्क भएकाहरू विभिन्न तनावबाट छुटकारा खोज्ने मानिसहरू, प्रकृतिप्रेमी र बिदा मनाउनेहरूका लागि एउटा सुन्दर र मनमोहक गन्तव्य भए पनि प्रयोगमा आएन,” सिमरा गाविसका पूर्वअध्यक्ष भोला अधिकारी भन्छन् ।

सरकारले आरक्षलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने उनले बताए । आरक्षसँग जोडिएका बाराको पथलैया, सिमरा र अमलेखगन्जमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ४ तारेसम्म होटल निर्माण भएका छन् ।


Facebook Comment


No ads found for this position