रवीन्द्रप्रसाद अधिकारीका अधूरा सपना पूरा गर्ने प्रतिबद्धता

पोखरा,  फागुन:  हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले थालनी गर्नुभएका विकास अभियानलाई पूर्णता दिन सकिएमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने विभिन्न नेताले बताउनुभएको छ । निधनको साताँंै दिन आज स्व अधिकारीकै निवासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सङ्गठक र विकासप्रेमी नेताका रुपमा उहाँको भावपूर्ण स्मरण गरियो ।

श्रद्धाञ्जलिसभामा नेकपा स्थानीय कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अधिकारीको निधनले राष्ट्र र नेकपाको पार्टी सङ्गठनमा अपूरणीय क्षति पुगेको बताउनुभयो । “पर्यटन क्षेत्रको विकासमा उहाँले पु¥याउनु भएको योगदान अतुलनीय भएको ” मुख्यमन्त्री गुरुङले मन्त्री अधिकारीले शुरु गरेका पोखरा, निजगढ, गौतमबुद्ध जस्ता विमानस्थल समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

सन् २०२० मा मुलुकमा २० लाख पर्यटक भित्र्याउने अधिकारीको योजनालाई साकार पार्नुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि तीनवटै तहका सरकारको सक्रियता र समन्वयको आवश्यकता औँल्याउनुभयो ।

नेकपा गण्डकी प्रदेशका सहइञ्चार्ज एवं पूर्वमन्त्री खगराज अधिकारीले देशमा समृद्धि एवं विकासका लागि उहाँले खेल्नुभएको भूमिका अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै मन्त्री अधिकारीले थालेका अपुरा कामलाई सम्पन्न गर्नुपर्ने बताउनुभयो । मन्त्री अधिकारी पार्टी सङ्गठनलाई मजबुत बनाउन उच्चकोटीको राजनेताका रुपमा रहेको चर्चा गर्दै उहाँले अधुरा सपना साकार बनाउन सिङ्गो पार्टी पङ्ति र सरकार सङ्गठित भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा गण्डकी प्रदेशका अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डेले युवा पुस्तालाई राज्यको मूलधारमा ल्याउनु पर्दछ भन्ने सोच भएका नेताका रुपमा अधिकारीको स्मरण गर्दै उहाँका विचारलाई आत्मसात् गरी अघि बढ्नुपर्ने बताउनुभयो । सकारात्मक सोचका धनी मन्त्री अधिकारी समाजको रुपान्तरणका पक्षमा निरन्तर क्रियाशील रहेको बताउँदै उहाँले अधिकारीको चिन्तन एवं सक्रियता प्रत्येक राजनीतिकर्मीका लागि अनुकरणीय भएको बताउनुभयो ।

मन्त्री अधिकारीकी धर्मपत्नी विद्या भट्टराईले राज्य, पार्टी तथा आम समुदायले स्वर्गीय अधिकारी र परिवारलाई व्यक्त गरेको सहानुभूतिप्रति आभार व्यक्त गर्दै उहाँले अघि सारेका विचार एवं विकास निर्माणलाई साकार पार्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । परिवारभन्दा पनि राष्ट्र र समाजप्रति स्वर्गीय अधिकारीले समय दिनुभएको स्मरण गर्दै परिणाममुखी सोचका साथ अघि बढ्ने उहाँको उत्साहलाई साथ दिएको बताउनुभयो ।

कार्यक्रममा स्वर्गीय अधिकारीका परिवारलाई पार्टीको तर्पmबाट समवेदना–पत्र दिइएको थियो । नेकपा कास्कीका संयन्त्र सदस्य एवं प्रदेशसभा सांसद दीपक कोइरालाको अध्यक्षतामा भएको श्रद्धाञ्जलि सभामा संयन्त्र सदस्य एवं प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र दामोदर बैरागीले स्वर्गीय अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकलाई शक्तिमा बदल्नुपर्नेे आवश्यकता औंल्याउनुभयो ।

पार्टीका गण्डकी प्रदेश इञ्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सह–इञ्चार्ज खगराज अधिकारी, गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे, स्थायी कमिटी सदस्यद्वय सोमनाथ अधिकारी प्यासी र किरण गुरुङ, स्वर्गीय अधिकारीका बुबा इन्द्रप्रसाद, आमा लक्ष्मीदेवी अधिकारी, धर्मपत्नी विद्या भट्टराई छोराहरु विराज र स्वराज, नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापालगायत कार्यक्रममा उपस्थित महानुभावले स्वर्गीय अधिकारीको तस्वीरमा पुष्प अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका अधिकारीको १७ गते सेती नदीस्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टी गरिएको थियो । स्वर्गीय अधिकारीको आज सातौँ दिनका दिन आयोजित श्रद्धाञ्जलिसभामा उपस्थित सबैजनाका आँखा रसाएका थिए ।


Facebook Comment


No ads found for this position