यी हुन् भारतले एकतर्फी बनाएका १५ बाँध, बाँधबारे के भन्छन् विज्ञ ? 

साउन, काठमाडौं । भारतले तीन मुख्य नदीमा एकतर्फी रुपमा १५ बाँध बनाएको छ । एकतर्फी बाँधले हरेक वर्ष ठूलो धनजनको क्षति पुर्याए पनि सरकार र सरोकारवालाहरु मौन रहने गरेका छन् ।

लक्ष्मणपुर बाँध : बाँके हुँदै बग्ने पश्चिम राप्ती नदीमा नेपाल–भारत सीमा क्षेत्रनजिक यो बाँध छ । सन् १९८० मा सुरु गरेर १९८५ मा भारतले एकलौटी रूपमा लक्ष्मणपुर बाँध निर्माण सम्पन्न गरेको हो । अन्तर्राष्ट्रिय कानुनअनुसार सीमाको १२ किलोमिटर क्षेत्रमा बाँध बनाउन पाइँदैन । तर, लक्ष्मणपुरमा भारतले बनाएको बाँधको पानीले नेपालका गाउँका गाउँ डुब्छन् ।

कलकलुवा तटबन्ध : लक्ष्मणपुर बाँधसँगै जोडेर ०५६ मा भारतले २२ किमि लामो ४ मिटर अग्लो कलकलवा तटबन्धको निर्माण गर्दा नेपालसँग कुनै सम्झौता भएन । तर, नेपाली जनता पीडित छन् ।

धौलीगंगा बाँध : भारतको धार्चुला जिल्लाबाट महाकाली नदीमा मिसिने धौलीगंगा नदीमा बनेको बाँधले नेपाललाई अप्ठेरो पर्दै आएको छ । यही बाँधका कारण १ असार ०७० मा बाढी आउँदा दार्चुला सदरमुकाम खलंगाको बजार बगेको थियो ।

कोइलाबास तटबन्ध : दाङको सीमाक्षेत्रको दाराखोलामा भारतले कोइलाबास बाँध बनाएको छ । बाँधका कारण बर्सेनि ३ हजारभन्दा बढी नेपालीको खेती मात्र होइन घरआँगन पनि डुब्दै आएको छ ।

महलीसागर बाँध : ०५९ मा भारतले कपिलवस्तुको सीमाक्षेत्रमा एकतर्फी रूपमा १५ ढोकासहितको ३० मिटर लामो महलीसागर बाँध निर्माण गरेको छ । यस बाँधले सुक्खा मौसममा समेत १९१ हेक्टर जमिन डुबाउने गरेको छ, बर्खाको त हिसाब नै छैन ।

रसियावाल–खुर्दलोटन बाँध : रुपन्देहीको मर्चवार क्षेत्रनजिक भारतद्वारा एकतर्फी रूपमा रसियावाल खुर्दलोटन तटबन्ध निर्माण गरेको छ । बाँधका कारण १८ गाउँका बासिन्दाले बर्सेनि डुबान समस्या झेल्दै आएका छन् । राज्य र नेताले पनि उनीहरूको समस्यामा नबोलेको भन्दै स्थानीयले आक्रोश पोख्ने गरेका छन् ।

डन्डाफरेना बाँध: डन्डाफरेना तटबन्ध सिद्धार्थनगर नगरपालिका–२ देखि दक्षिण नेपाल–भारत सीमारेखाबाट ६ मिटरको दूरीमा अवस्थित छ । नेपालबाट बग्ने डन्डा नदीमा भारतद्वारा निर्मित पक्की बाँधमा हाल डन्डाफरेना तटबन्ध पनि जोडिएको छ । ७ किलोमिटर लामो तटबन्ध निर्माणको योजना रहे पनि नेपालको विरोधका कारण ३ किमि मात्र निर्माण गरिएको थियो । तर, यस्तो विरोध त्यहीँका स्थानीयले गरेकोबाहेक राज्यको तर्फबाट भने उठाएको देखिन्न ।

लालबकैया तटबन्ध : ०६० मा ३ वटा निकासद्वारसहित ८ किलोमिटर लामो तटबन्ध भारतले निर्माण गरेको हो । यो रौतहट जिल्लाबाट भारततिर बग्ने लालबकैया नदीमा निर्मित तटबन्ध हो । यस तटबन्धका कारण गौर नगरपालिकाका साथै औरही, सिर्सिया, पुरेनवा र जयनगर गाविसको अधिकांश भाग हरेक बर्ष डुबानमा पर्दै आएको ।

बैरगनिया तटबन्ध : रौतहटको गौर नगरपालिकाको दक्षिणतर्फ नेपाल भारत सीमाक्षेत्रमा भारतद्वारा बिसं २०३७ सालमा नेपालको सहमति विना नै लामो तटबन्ध रातारात खडा गर्यो । यो १५ किलोमिटर लामो १० देखि १२ फिट उचाइको छ । यस तटबन्धले रौतहटमा बागमती र लालबकैया नदिको प्राकृतिक वहावलाई नै मोडिदिएको छ । जसले गर्दा रौतहटका सदरमुकाम गौरसहित बन्जराहा, औरैया, बैरिया, पिपरा, पुरेनवा, सिरसिया गाविसहरुलाई डुबानमा पार्दै आएको छ ।

बागमती तटबन्ध : यो तटबन्ध पनि रौतहटकै बैरगनिया चक्रबातसँग जोडिएको छ । बाढी र डुबान नियन्त्रणका लागि भन्दै भारतले सिमानामै बागमतीको दायाँ किनारमा ८.२५ किलोमिटर र बाँया किनारामा १८.२५ किलोमिटरको लामो तटबन्ध निर्माण गरेको छ । करिव १६ किलोमिटर तटबन्ध नेपाल भारत सीमाक्षेत्रबाट बायाँ बनुस्मारा तटबन्धसम्म फैलिएको छ । आज मात्रै यो तटबन्धका कारण रौतहट क्षेत्र डुवानमा परेको भने त्यहाँ गाउँ नै विस्थापित भएको समाचार छ ।

कमला तटबन्ध : कमला तटबन्ध धनुषा र सिराहा जिल्लाको सीमा भई भारततर्फ बग्ने कमला नदिको दुवै किनारामा निर्मित तटबन्ध हो । यस तटबन्धका कारण हरेक बर्ष नेपालको माडर, इनरवा, मल्हनिया, गम्हरिया, बालाहसघारा, बालाहाकथाल गरी छ गाविस र लाहान नगरपालिकाका केही वडाहरुका करिब १०६५ हेक्टर भूभाग डुबानमा पर्ने गरेको छ ।

सिराहा तटबन्ध : सिराह बाँध सिराहा जिल्लाको सदरमुकामदेखि ५ किलोमिटर दक्षिणपूर्वी सीमावर्ती क्षेत्र नजिक भारतीय भूमिमा पर्दछ । यो बाँध हरकट्टि गाविसको भारततिरबाट दशगजा क्षेत्रमा निर्माण गरिएको छ । सो तटबन्ध ३ किलोमिटर लम्बाई २० फिट चौडाईमा फैलिएको छ ।

खाँडो तटबन्ध : भारतले आफूतिरको भूभागमा पानी रोक्नका लागि बाँध बनाएर नेपाल डुबाएको अर्को बाँध हो सप्तरी जिल्लाको सदरमुकाम राजविराजबाट दक्षिण लालापट्टि नदिमा निर्माण गरिएको खाँडो बाँध ।

कुनौली तटबन्ध : यो तटबन्ध सप्तरी जिल्लाको राजविराजदेखि १० किलोमिटर दक्षिणपूर्वी सीमावर्ती क्षेत्रमा भारतले एकतर्फी रुपमा निर्माण गरेको छ । सीमा क्षेत्रभन्दा १ मिटरको दूरीमा भारतले यो तटबन्ध निर्माण गरेको हो । यस तटबन्धका कारण सप्तरी जिल्लाका दक्षिणी भेगका ११ वटा गाविसहरुलाई डुबानमा पार्दै आएको छ ।

लुना बाँध : यो बाँध मोरङ जिल्लाको बक्राह नदिमा छ । भारतले यो बाँध नेपाल भारत सीमावर्ती क्षेत्र नजिक नेपालबाट भारततिर बग्ने बक्राह ९ र भारतमा लुना नदिमा आफ्नो भूभागतिर बनाएको छ ।

बाँधबारे के भन्छन् विज्ञ ? 
नेपालसँग नसोधी बनाएका बाँधहरू तुरुन्त भत्काउन लगाउनुपर्छ
रत्नेश्वरलाल कर्ण
नेपाल र भारतसँग विभिन्न समयमा धेरै सन्धि–सम्झौता भएका छन् । भारतले ती सन्धिहरूको मर्मविपरीत हालै मात्र मध्य र पश्चिम तराईका विभिन्न स्थानमा नेपाललाई नसोधी धमाधम बाँधको निर्माण गरिरहेको छ । त्यसलाई नेपाल र भारतका संयुक्त विज्ञसहितको टेक्निकल कमिटी बनाएर समाधान गर्नुपर्छ । नेपाललाई नसोधी बनाएका यस्ता बाँध तथा तटबन्ध सरकारले दुवै देशका प्रधानमन्त्रीहरूको भेटघाटमा छलफल गरेर भत्काउनुपर्छ । किनकि नेपालसँग नसोधी बनाइएका बाँधहरू हाल सञ्चालनमा भएका बाँधभन्दा कैयौँ गुना खतरनाक छन्, जुन अर्को वर्ष तराईका नेपालीले भोग्नुपर्नेछ ।

अर्को कुरा, नेपाल र भारतको संयुक्त समितिले कुन कुरा र के–के कुरा हेर्ने हो भनेर अहिलेसम्म निक्र्योल गर्न सकेका छैनन् । द्विपक्षीय बैठक बस्यो भन्यो एकतर्फी कुरा सुन्यो अनि केही काम नगरी समय सकायो । तर, भारततर्फ भने जे भन्छन्, उनीहरूले जनताका लागि काम गरिरहेका छन् ।

नेपालमा सिमाना तथा नदीका तटबन्ध कसले र कुन निकायले हेर्ने भनेर टुंगो छैन । वनले भन्छ– वनक्षेत्रको नदी तथा तट मैले हेर्ने हो, सिँचाइले भन्छ मैले हेर्ने हो, अनि भूसंरक्षणले भन्छ जमिन त मैले हेर्ने हो । नेपालकै सरकारी निकायहरू नमिलेर साझा एजेन्डा बनाउन नसक्दा भारतीय पक्षले एकतर्फी रूपमा काम अगाडि बढाइरहेको छ । उसले सीमा र दशगजा क्षेत्रमा नेपाललाई नसोधीकन बाँध बनाउने हिम्मत कसरी गर्न सक्छ ? यो सबै नेपालका सम्बन्धित निकाय र सरकारको स्ट्यान्ड कमजोर भएर हो ।

नेपालको हैसियत घटाउने काम भयो
अर्जुनकुमार सुवेदी
भारतले नेपालका दक्षिणी भागमा अन्तर्राष्ट्रिय अभ्यासविपरीत बाँधहरू निर्माण गरेको छ । उसले भारतमा हुने बाढीलाई लक्षित गरेर मात्र बाँधको निर्माण गरेको छ । यहाँ सबै नदीमा ‘हाइड्रोलोजिक पर्सेप्सन’अनुसार काम अगाडि बढाउनुपर्ने हुन्छ । नेपालले अब गर्न सक्ने भनेको वर्षात्को समयमा कम पानी पठाउने र हिउँदको समयमा धेरै पानी पठाउने नै हो । जसका लागि नेपालले हरेक खोलामा जलाशययुक्त आयोजना निर्माण गर्न अब ढिला गर्नुहुन्न । पानीको वैकल्पिक बैंक स्थापना गर्नुपर्छ र यो नेपालको हितमा छ ।

नेपाल माथिल्लो तटीय क्षेत्रमा रहेको देश हो । त्यसकारण तल्लो तटीय क्षेत्रमा भएका देश भारतले नेपालसँग पानीका लागि बार्गेनिङ गर्ने स्थिति बनाउनुपर्छ । भारतले बिजुली र पानीका लागि नेपालसँग सहयोग माग्छ । भारतीय नेपालमा भर पर्छन् । पानीमा सधैँ माथिल्लो तटीय क्षेत्रका जनताको पहिलो हक हुन्छ ।

नेपालमा खोक्रा राष्ट्रवादी धेरै भएर पनि यो समस्या भएको देखिन्छ । यहाँ पाखुरा सुर्केर भारतसँग निहुँ खोज्नेको जमात धेरै छ । संसारमा ‘साइलेन्ट डिप्लोमेसी’ले असम्भव भनिएका काम भएका छन् । तर, नेपालले भने त्यस्ता डिप्लोमेट परिचालन गर्न सकेको देखिँदैन ।


Facebook Comment


No ads found for this position