यी हुन् तीन प्रधानमन्त्री, जसले अविश्वास प्रस्तावको सामना गरे

काठमाडौं । एमालेको राजनीतिक जीवनमा यो संयोग नै मान्नुपर्छ, २५ वर्षको संसदीय अभ्यासका क्रममा अविश्वास प्रस्ताव झेल्ने चारमध्ये २ प्रधानमन्त्री एमालेकै अध्यक्ष परेका छन् ।

manmohan-sherbahadur-lokendra-1अर्को संयोग पनि के जुरेको छ भने, २१ वर्षअघि तत्कालीन मनमोहन अधिकारीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने शेरवहादुर देउवा नै यसपटक ओली विरुद्धको अविश्वास प्रस्तावका पनि प्रस्तावक बनेका छन् ।

त्यसबेला एमालेको अल्पमतको एकल सरकार थियो भने यसपटक माओवादीले समर्थन फिर्ता लिएपछि ओली अल्पमतमा परेका छन् । त्योबेला मनमोहनलाई हटाएर देउवा प्रधानमन्त्री बनेका थिए भने यसपटक ओलीलाई हटाएर देउवाकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने गृहकार्य भइरहेको छ ।

यस्तो छ इतिहास

नेपालको संसदीय इतिहासमा अविश्वासको प्रस्ताव सामना गर्ने केपी ओली पहिलो प्रधानमन्त्री होइनन् । समग्रमा चौथो र एमालेमा दोस्रो हुन् ओली ।

यसअघि तीन प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । ०५२ देखि ०५४ सम्मको अवधिमा तीन प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । तर, चर्चित भने तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बन्यो ।

मनमोहन अधिकारी

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीविरुद्ध ०५२ सालमा संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । एमालेबाट प्रधानमन्त्री भएका उनीविरुद्ध कांग्रेसका शेरबहादुर देउवासहित ७७ सांसदले संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । ०५२ भदौ २२ देखि २४ गतेसम्म संसदमा यसबारे छलफल भयो ।

बबई सिँचाइ परियोजना अवलोकन गर्न जाँदा हेलिकोप्टर दुर्घटनामा घाइते भएका त्त्कालीन प्रधानमन्त्री अधिकारीले शिक्षण अस्पतालको शैयाबाटै संसदमा उठेका प्रश्नहरुको जवाफ दिए । एमालेले त्यसबेला अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीप्रति मानवीयता देखाउन कांग्रेससँग आग्रह गरेको थियो । तर, कांग्रेसले नमानेपछि संसदमा प्रक्रिया शुरु भएको थियो । अस्पतालको शैयाबाट प्रधानमन्त्री बोलेको जनताले टेलिभिजनमा हेरेर सहानुभूति प्रकट गरेका थिए ।

यसपटक एमालेले संसदमा अविश्वास प्रस्तावमाथि छलफल हुनुअघि आर्थिक विधेयक पारित हुनुपर्ने अडान लिएको छ । कांग्रेस माओवादीले मानेका छैनन् । त्यसबेला संसदले बहुमतले अस्वीकारको प्रस्ताव पास गरेपछि तत्कालीन प्रधानमन्त्री मनमोहन ९ महिनामा नै पदमुक्त भए । त्यसबेला अविश्वासको प्रस्तावको पक्षमा १०७ मत परेको थियो भने विपक्षमा ८८ मत खसेको थियो ।

शेरबहादुर देउवा

शेरबहादुर देउवाले जसरी अविश्वासको प्रस्तावबाट मनमोहनलाई पदमुक्त गरे, ०५३ मा त्यसैको ‘बदला’ लिने प्रयास भयो । त्यसबेला शेरबहादुर देउवा प्रधानमन्त्री थिए । एमालेका मनमोहन अधिकारीसहित १०२ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरे । पुस ६ देखि ८ गतेसम्म त्यसमा छलफल भयो । तर, अविश्वासको प्रस्ताव पास हुन सकेन ।

गठबन्धन संस्कृतिका सर्जक देउवाले अविश्वास प्रस्तावका पक्षधर राप्रपाका केही सांसदलाई रातारात बैंकक पठाएर आफ्नो बिरुद्ध बहुमत पुग्न दिएनन् । नेपालको संसदीय इतिहासमा यो घटना ‘सुरा-सुन्दरी प्रकरणका’ नामले चर्चित छ ।

राप्रपाका बुद्धिमान तामाङ, विष्णुविक्रम थापा, खोभारी रायसहितका सांसदहरु बैंकक पुगेपछि अविश्वासको प्रस्तावको पक्षमा ८४ मत मात्र पर्‍यो भने विपक्षमा १०१ मत खस्यो । र, कांग्रेसका नेतासमेत रहेका शेरबहादुर देउवाको प्रधानमन्त्री पद जोगियो ।

लोकन्द्रबहादुर चन्द

संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने तेस्रो प्रधानमन्त्री हुन्-लोकेन्द्रबहादुर चन्द । ०५४ मा चन्दविरुद्ध कांग्रेसका गिरिजाप्रसाद कोइरालासहित ८६ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

असोज १६ देखि १८ सम्म संसदमा अविश्वासको प्रस्तावमाथि छलफल भयो । मतदानमा अविश्वासको प्रस्ताव पास भएपछि चन्द प्रधानमन्त्रीबाट पदमुक्त भए । त्यसबेला अविश्वास प्रस्तावको पक्षमा १०७ र विपक्षमा ९४ मत परेको थियो ।

केपी ओली

यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध २५४ सांसदले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गराएका छन् । अविश्वास प्रस्ताव दर्ता गर्नेबेला ७२ सांसदले हस्ताक्षर गरेको र सभामुखको चेम्बरमा दुई दिनसम्म सांसदलाई बोलाएर हस्ताक्षर गराइएको आरोप एमालेले लगाएको छ ।

अविश्वास प्रस्ताव पारित हुन कुल ५९७ सांसदमध्ये २९८ मत आवश्यक पर्छ । कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका सांसदबाटै सो संख्या पुग्ने भएकाले ओली अल्पमतमा पर्ने लगभग निश्चित छ ।


Facebook Comment


No ads found for this position