यस कारण प्राचीन कपिलवस्तुमा धेरैबेर बस्दैनन् पर्यटक’

मनोज पौडेल कपिलवस्तु — बुद्धस्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) आएका पर्यटक निकै कम समय बिताउने गरेका छन् । घुम्ने, रमाउने, ध्यान र प्रार्थना गर्ने पूर्वाधार अभावमा पर्यटक धेरै समय नबस्ने गरेका हुन् ।

जापनिज् ट्रस्ट इन फन्डको सहयोगमा बेलायतको दुर्‍हाम विश्वविद्यालय, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषले गरेको सर्वेक्षणले तिलौराकोटमा पर्यटक औसत ३९ मिनेट मात्र बस्ने गरेको देखाएको छ । तिलौराकोट आउने पर्यटक पश्चिमी र पूर्वीद्वार तथा मध्यमा रहेको राजप्रासाद अवलोकन भ्रमण गरी फर्कने गरेका छन । ति पर्यटकले १ सय १० रुपैयाँ मात्र खर्च गर्छन् ।

पर्यटक आकर्षण गर्ने वातावरण नहुँदा उनीहरू धेरैबेर बस्ने अवस्था नभएको पुरातत्त्वविद् एवं लुम्बिनी विकास कोषका अधिकृत कृष्णबहादुर केसीले बताए । अध्ययनले यहाँ आउने पर्यटकमध्ये ९० प्रतिशतले थोरै समय विताउँछन । १० प्रतिशत त आउनासाथ फर्किने गरेका छन् । यहाँ सबैभन्दा बढी श्रीलंका, म्यानमार, थाइल्याण्ड र भियतनाम लगायतका देशबाट आउछन ।

पर्यटकले पर्याप्त समय नबिताउँदा यहाको पर्यटन विकासले गति लिन सकेको छैन् । ‘पर्यटन व्यवसाय फस्टाउनका लागि पर्यटक टिकाउने वातावरण बनाउनुपर्छ’ पर्यटन व्यवसायी लीलामणि पौडेलले भने, ‘यहाँको पर्यटकीय सम्पदाबाट व्यवसायीले थोरै पनि फाईदा लिन सकेका छैनन् ।’ तिलौराकोट आसपासका क्षेत्रमा भौतिक पूर्वाधारको ठूलो अभाव छ । त्यसले गर्दा पनि पर्यटक घुम्ने बस्ने वातावरण नभएको पर्यटन व्यवसायी दिनेश रायमाझीले बताए । ‘बस्ने, खाना खाने सुविधा छैन,’ उनले भने, ‘आउन नपाउदै लुम्बिनी फर्किन्छन् ।’

‘सरकार, व्यवसायी र सरोकार राख्ने संघसंस्था सबै लागेर धेरै गर्न सकिन्छ,’ तौलिहवा उद्योग वाणिज्य संघ अध्यक्ष गयाद्दिन कुर्मीले भने, ‘पर्यटकको बसाइ लम्याउन मात्र सक्यौं भने यस क्षेत्रका नागरिक रोजगारीका लागि अन्त्य जानै पर्दैन ।’ पर्यटन यस क्षेत्रलाई उकास्ने गतिलो माध्यम भए पनि उपयोग नभएको उनले बताए ।

विश्व सम्पदाको प्रारम्भिक सूचीमा परेको तिलौराकोट आउने पर्यटक अन्य बुद्धस्थलमा अति न्यून जान्छन् । अध्ययनअनुसार तिलौराकोट आएका ११ प्रतिशत मात्रै राजा शुद्धोदन र रानी मायादेवीको समाधीस्थल मानिएको धमनिहवा स्तुप जाने गरेका छन । यो तिलौराकोट दरबारबाट ७ सय मिटरमै छ । यस्तै ९ प्रतिशतले मात्रै तिलौराकोटदेखि ७ सय मिटर पश्चिम दक्षिण रहेको कपिलवस्तु संग्रहालय अवलोकन गर्न जाने गरेका छन् । जिल्ला पुरातात्विक, ऐतिहासक र सांस्कृतिक महत्त्व बोकेका स्थलको संग्रहालय मानिन्छ । राजा शुद्धोदनको राजप्रासाद तथा भगवान् गौतम बुद्ध २९ वर्षको युवा अवस्था बिताएको स्थल तिलौराकोट, सम्राट अशोकद्वारा स्थापित निग्लिहवा र गोटिहवा यहा रहेका छन् ।

त्यस्तै भगवान् गौतम बुद्धले ज्ञान प्राप्त गरी पहिलो पटक राजधानी आउँदा आफ्नो मातापितालाई भेटघाट गरेको निग्रोधाराम र हजारौं शाक्यहरूको सामूहिक बधस्थल सगरहवा पनि यहाँ रहेको छ । यहाँ सय बढी पुरातात्त्विक, ऐतिहासिक र प्राकृतिक मनोरम पर्यटकीय स्थल छन् ।

‘महत्त्वपूर्ण सम्पदा भए पनि पर्यटकलाई भुलाउने वातावरण छैन,’ लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले भने, ‘त्यसैले उनीहरूको आएको केही समयमै फर्किन्छन् ।’ पर्यटकीय स्थलको पूर्वाधार विकास गरी र बास बस्ने होटल सञ्चालनमा ल्याउनुपर्छ, त्यसले सजिलै ३ दिनसम्म रमाएर बिताउने सक्ने पूर्वाधार रहेको उनको भनाइ छ ।साभार कान्तिपुर


Facebook Comment


No ads found for this position