यस्ताे छ खुम्बुको पर्यटन अवस्था

अधिकांश पर्यटकको रोजाइ सोलुखुम्बुको खुम्बु क्षेत्र पर्छ । जसको मुख्य कारण हो, विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनौँ हिमाल एवं हिमशृङ्खला । वर्षको दुई ‘सिजन’मा विभिन्न राष्ट्रका हजाराँै नागरिकले यस क्षेत्रको भ्रमण गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, नजिकैबाट सगरमाथा हिमालसहित यहाँको अन्य मनोरम वातावरणको दृश्यावलोकनले अधिकांशको ध्यान तान्ने गरेको छ । विशेषगरी ‘स्प्रिङ’ र ‘विन्टर’ सिजनमा पर्यटकको भीड लाग्ने यस क्षेत्रमा मौसम राम्रो हुँदा बाह्रै महीना पर्यटकको चहलपहल हुने गरेको छ ।

खुम्बु क्षेत्रका लागि काठमाडाँैदेखि हप्ता दिनको पैदलयात्रा या तेञ्जिङ हिलारी विमानस्थल दुई माध्यम रहेको छ । अधिकांश पर्यटकको समय छोटो तर खुम्बु भ्रमणका लागि समय केही लामो भए प्रभावकारी हुने हुँदा हवाईमार्ग अधिकांशको रोजाइमा पर्छ तर, मौसम प्रतिकूल हुँदा हवाईसेवा प्रभावकारी हुँदैन ।

जति मात्रमा पर्यटक आउनुपर्ने हो त्यति आउन नसक्नुको मुख्य कारण तत्काल हवाईमार्गको विकल्प खुम्बुसम्म सडक नपुग्नु नै मानिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथासमेत रहेको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक सञ्जाल पुगेसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा दोब्बरले वृद्धि हुने हिमालयन जोइ एडभेन्चर प्रालिका प्रमुख चोलेन्द्र कार्की बताउनुहुन्छ । “हवाई टिकट महङ्गो हुनुको साथै एक दिन उडान रद्द भयो भने अन्य विकल्प छैन”, प्रमुख कार्कीले भन्नुभयो, “लुक्लासम्म सडक पुग्यो भने जस्तोसुकै पर्यटक त्यहाँ जान सक्छन् ।”

विदेशी पर्यटकका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि लुक्लाको दुईतर्फ भाडा ३६० अमेरिकन डलर रहेको छ । हिमालयन जोइ एडभेन्चर प्रालिका प्रमुख कार्कीले भन्नुभयो, “एकातिर सडकमार्गमा करीब ६० डलरले आउनजान पुग्छ, भने अर्कोतिर यात्राको टुङ्गो पनि भयो ।”

हवाइ उडानसहित खुम्बु भ्रमणमा आउने पर्यटकलाई उडान रद्द हुँदा कुनै विकल्प नभएपछि पदप्रदर्शकलाई समेत समस्या हुने गरेको छ । “विमानस्थलको विकल्पमा केही पर्यटकले हेलिकप्टर प्रयोग गर्ने भए पनि अति महङ्गो हुने हुँदा पर्यटकलाई समस्या हुन्थ्यो” पदप्रदर्शक किताबसिं तामाङले भन्नुभयो, “मौसम प्रतिकूल हुँदा हामी पदप्रदर्शकलाई तनाव, विदेशीको ‘टाइम टु टाइम’ हुन्छ ।”

पटकपटक उडान रद्द हुँदा काठमाडौँबाट खुम्बुका लागि आउने पर्यटकले भ्रमण क्षेत्र परिवर्तन गर्ने गरेका छन् । हाइस्प्रिट ट्रेक्स एण्ड एक्सपिडिसन नेपाल प्रालिका सञ्चालक शिवबहादुर बस्नेतका अनुसार पर्यटकको योजनामा उडान नहुँदा ट्रेकिङ कम्पनीलाई निक्कै गाह्रो हुने गरेको छ । सडकमार्ग सञ्चालन हुँदा पर्यटक, पथप्रदर्शक र ट्रेकिङ कम्पनीलाई समेत सहज हुने बस्नेतको भनाइ छ । खुम्बु आउने पर्यटकले अबको एक वर्षभित्र मौसमकै कारण कुनै पनि समस्या झेल्नु नपर्ने खुम्बुपासाङल्हामु गाउँपालिका उपप्रमुख टासील्हामु शेर्पाले बताउनुभयो । “यो वर्ष बुक्सासम्म पुग्छ”, उपप्रमुख शेर्पाले भन्नुभयो, “अर्को वर्ष हामी गाउँपालिका केन्द्र चौँरीखर्क पु¥याउँछौँ ।”

बुक्सासम्म निर्वाधरूपमा यातायात सञ्चालन भए पर्यटक लुक्लादेखि एक क्याम्प थप गरी अर्को दिन सिधै काठमाडाँै पुग्न सक्छन् । यसका लागि ट्र्याक खोलिएको सडकको गुणस्तर मजबुत बनाउन खुम्बुपासाङल्हामु गाउँपालिका, माप्यदूधकोशी र सोलुदूधकुण्ड नगरपालिकाले संयुक्तरूपमा काम गर्नुपर्ने सर्वसाधरणको सुझाव छ ।


Facebook Comment


No ads found for this position