यसकारण नेपाली काग्रेस स्थानीय निर्वाचनमा कमजोर देखियो ?

कांग्रेस एउटा लामो इतिहास बोकेको ऐतिहासिक पार्टी हो । यस पार्टीले २००७ सालको ऐतिहासिक परिवर्तनको नेतृत्व गरी जनतालाई रैतीबाट नागरिक बनायो । राजाको हातमा रहेको अधिकार खोसेर जनताको हातमा दिने ०४६ सालको पहिलो ऐतिहासिक जनआन्दोलनको नेतृत्व पनि कांग्रेसले नै गर्यो । ०६२-६३ मा देशमा चलिरहेको हिंसाको अन्त्य गर्दै कांग्रेसले आफ्नै नेतृत्वमा १२ बुँदे सम्झौता गरायो र हिंसात्मक द्वन्द्वमा लागेको माओवादी पार्टीलाई एमालेसित मिलेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरायो । कांग्रेसकै सुझबुझ र दरिलो नेतृत्वका कारण देशमा मच्चिरहेको अशान्ति अन्त्य भयो र शान्ति स्थापना भयो । दोस्रो जनआन्दोलनपछि राजतन्त्र अन्त्य गरी अब जनता नै राजा हुन् भन्दै नेपाललाई गणतन्त्र घोषणा गराउने अभियानको नेतृत्व पनि कांग्रेसबाटै भयो । सिंहदरबारले जनताका अधिकार सुरक्षित गर्न सकेन, देशको समानुपातिक विकास निर्माण गराउन सकेन भनेर हरेक गाउँपालिका र नगरपालिकामा सिंहदबार पुर्याउने कल्पनासाथ नेपालको संविधान बनाउने अभियानको नेतृत्व पनि कांग्रेसले नै ग-यो ।

चन्द्र भण्डारी

कांग्रेसकै नेतृत्वमा देशमा उदार अर्थतन्त्र लागू भयो । ०४६ सालअघि हरेक नेपालीले सजिलै पासपोर्ट प्राप्त गर्न सक्ने अवस्था थिएन । अहिले हरेक नेपाली सजिलै पासपोर्ट प्राप्त गरी विश्वको जुनकुनै कुनामा पुगेर ग्लोबल भिलेजको एउटा हिस्सा बन्न सफल भएका छन् । कांग्रेसकै नेतृत्वका कारण देशमा सञ्चार माध्यमको तीव्र विकास भयो । ०४६ सालअघि टेलिफोन, टेलिभिजन वा मोबाइलको त कुरै भएन, सामान्य रेडियोसम्ममा पनि आमजनताको सहज पहुँच थिएन । आज हरेक नेपालीका घरघरमा टेलिफोन, टेलिभिजन पुगेका छन् भने हरेक नेपालीका हातहातमा मोबाइल फोन पुगेका छन् । कांग्रेसकै उदार अर्थनीतिको परिणामस्वरूप देशमा सूचना र सञ्चार क्षेत्रमा क्रान्ति नै आएको छ र यसले विश्वलाई एउटा साँघुरो गाउँमा रूपान्तरित गरिदिएको छ । गाउँगाउँमा स्कुल, कलेज, स्वास्थ्य चौकी, सडकलगायत विकासका पूर्वाधार पुगेका छन् । यसको सुरुवात पनि कांग्रेसकै नेतृत्वमा भएको थियो । कांग्रेसले सामाजिक सुरक्षाका लागि एकल महिला भत्ता, अशक्त भत्ता आदिको व्यवस्था पनि गर्यो । कांग्रेसकै नेतृत्वमा महिलाको पाठेघरको मुखको क्यान्सरको उपचार निःशुल्क गराउनेदेखि ज्येष्ठ नागरिकको निःशुल्क उपचार, किड्नी, मुटु, लिभरसँग सबन्धित रोग तथा क्यान्सर जस्तो असाध्य रोगको निःशुल्क उपचारको व्यवस्था भएको छ । आज आर्थिक अभावकै कारण कसैको पनि उपचार नरोकिने र सरकारले नै उनीहरूको उपचार गरिदिने व्यवस्था कांग्रेसले नै मिलाएको छ ।

कांग्रेसको स्थितिको समीक्षा
देश र जनताका लागि विगतमा पटक–पटक ऐतिहासिक जिम्मेवारी निर्वाह गर्दै आएको तथा देश र जनताको विकास र समृद्धिका लागि यति धेरै काम गरेको ऐतिहासिक तथा देशको सबैभन्दा ठूलो पार्टी आज स्थानीय निर्वाचनमा किन यति धेरै कमजोर देखियो ? यसको गम्भीर समीक्षा गर्नुपर्ने घडी आएको छ । यसको निर्मम समीक्षा नगरी अघि बढ्दा पार्टीलाई गति दिन कठिन हुन्छ । त्यसैले कांग्रेस नेतृत्वदेखि यसका नेता तथा कार्यकर्ताले आज आआफ्नो तहबाट भएका कमी–कमजोरीको समीक्षा गर्दै भविष्यमा पार्टीलाई माथि उठाउने बाटो तय गर्नु जरुरी छ ।

कांग्रेस पछि पर्नुका प्रमुख कारण
निर्वाचनको मुखमा कांग्रेस सम्मिलित गठबन्धन सरकारले तराई मधेसमा उठेका मुद्दालाई सम्बोधन गरी अघि बढ्ने उद्देश्यले ५ नम्बर प्रदेशसित सम्बन्धित जुन संशोधन प्रस्ताव ल्यायो, त्यसको विरोधमा हजारौँ हजार जनता सडकमा उत्रिए । जनताको विरोधपछि सरकारले त्यसलाई फिर्ता त लियो, तर त्यो फिर्ता गराएको जस प्रतिपक्षी एमालेले पायो । परिणामस्वरूप पहाड र तराई मधेस दुवैतिरका जनता सरकार र गठबन्धनमा रहेका दलका नेतृत्वसित रुष्ट भए । यथार्थमा संविधान संशोधन प्रस्ताव किन ल्याइएको थियो भनेर त्यसको औचित्य पुष्टि गर्न नसक्नुले कांग्रेसलाई निकै ठूलो क्षति पुर्यायो ।

सीमांकनको गलत रोडम्याप
सरकारले ल्याएको प्रस्तावमा प्रदेशहरूको सीमांकन गर्दा देशको भौगोलिक, सामाजिक, जनसांख्यिक, भाषिक, ऐतिहासिक यथार्थ तथा स्रोत, साधन र स्थानीय जनताको चाहनालाई आधार बनाउनुभन्दा तराई मधेस र पहाडलाई भौगोलिक रूपमा अलग्याउने पक्षमा बढ्ता चासो दिएको देखियो । यसको विपक्षमा कांग्रेसले बोलेन भन्ने आरोप हामीले निर्वाचनको समयमा खेप्नुप¥यो । यसको प्रत्यक्ष फाइदा प्रतिपक्षी एमालेले उठायो ।

पार्टीको आन्तरिक कलह तथा गुटबन्दीका कारण केही केन्द्रीय तहकै नेता असन्तुष्ट साथीलाई आपसमा मिलाएर पार्टीका उम्मेदवारलाई जिताउनभन्दा हराउन केन्द्रित देखिए । अनि कसरी आउँछ राम्रो परिणाम?

भाषिक विवाद
भाषाको कुरा गर्दा मैथिली, भोजपुरी, अबध, थारू जस्ता समृद्ध भाषाको संरक्षण गर्नु हो भन्ने कुरालाई हामीले बुझ्न र बुझाउन सकेनौँ । तराई मधेसका स्थानीय भाषाको संरक्षण गर्ने हेतुले ल्याइएको संशोधन प्रस्ताव किन आवश्यक पर्यो भनेर हामीले जनतालाई बुझाउन नसकिरहेको समयमा प्रतिपक्षी एमालेले चाहिँ यो प्रस्ताव हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन ल्याइएको हो भनेर गलत प्रचार गरेर फाइदा उठायो । हामीले जनतामाझ गएर संविधान संशोधनको औचित्यलाई पुष्टि गर्नै सकेनौँ । यसले गर्दा पनि कांग्रेसलाई निकै ठूलो क्षति पुग्यो ।

नागरिकताको विवाद
संविधान संशोधन प्रस्तावमा उठाइएको नागरिकताको विषय गलत थिएन । यो प्रचार गरिएजस्तो खुकुलो पनि थिएन । तर, यसलाई विदेशीलाई नागरिकता दिन ल्याइएको प्रावधानका रूपमा गलत प्रचार गरियो । जनताले पनि प्रतिपक्षीको गलत प्रचारलाई नै सही ठाने । हामीले आफ्नो तर्फबाट प्रतिपक्षीको गलत प्रचार चिर्ने कुनै प्रयास गर्नै सकेनौँ । हामीले नागरिकताको विषयमा तराई मधेसकै जनतालाई राम्ररी बुझाउन सकेनौँ । जसले गर्दा तराई मधेसका जनताले पनि यसलाई विदेशीलाई नागरिकता दिएर आफूहरूलाई अल्पमतमा पार्न ल्याइएको प्रस्ताव हो भनेर बुझिदिए । यसबाट निकै ठूलो घाटा पार्टीलाई भएको छ ।

प्रतिद्वन्द्वी चिन्न नसक्नु
निर्वाचनमा जाँदै गर्दा कांग्रेसले आफ्नो मुख्य प्रतिद्वन्द्वी को हो ? उसको स्थिति कस्तो छ र आफ्नो अवस्था के छ भन्ने विषयमा आँकलन नै गर्न सकेन । कोसित तालमेल गर्ने, कोसित तालमेल नगर्ने, कहाँ तालमेल गर्ने, कहाँ नगर्ने जस्ता विषयमा कांग्रेसले सही आँकलन गर्न सकेको भए आज पार्टी यति कमजोर देखिनुपर्ने थिएन ।

उम्मेदवार छनोटमा कमजोरी
स्थानीय निर्वाचनमा जाँदै गर्दा पार्टीले उम्मेदवार छनोटमा गल्ती गर्यो । स्थानीय निर्वाचनका लागि स्थानीय र प्रदेश तहबाटै उम्मेदवार छनोट गरी छिनोफानो गर्नुपर्ने थियो । तर, पार्टीका स्थानीय तह र प्रदेशका अधिकारमाथि पनि कतिपय अवस्थामा केन्द्रबाट हस्तक्षेप भए । अनि, पार्टीले समयमै उम्मेदवार चयन गर्न पनि सकेन । यसले गर्दा प्रचार–प्रसारदेखि अन्य धेरै खालका व्यवस्थापनमा समस्या भयो । समयमै उम्मेदवार चयन हुन नसक्दा उम्मेदवारहरूले राम्ररी जनताका घरदैलोमा पुगेर आफ्ना एजेन्डालाई जनतासामु पुर्याउनसमेत पर्याप्त समय नै पाएनन् ।

आपसी द्वन्द्व न्यूनीकरण गर्न नसक्नु
निर्वाचनमा जाँदा पार्टीका साथीहरूले आपसमा रहेका झिनामसिना असन्तुष्टि र द्वन्द्वलाई मेटाउने समय नै पाएनन् । पार्टीका तल्लो तहमा देखिएका असन्तुष्टि र द्वन्द्व मेटाउन केन्द्रीय नेताहरू जिल्ला–जिल्लामा पुग्न वा पुर्याउन सकिएन । दुई चरणमा निर्वाचन हुँदा पनि केन्द्रीय नेताहरू जिल्ला–जिल्ला पुगेर कार्यकर्तामाझ बसी असन्तुष्टिलाई सम्बोधन गर्ने र सबैलाई मिलाएर एकसाथ निर्वाचन अभियानमा जाने वातावरण निर्माण गर्न नसक्नु पार्टीको ठूलो कमजोरी रह्यो । अझ, पार्टीको आन्तरिक कलह तथा गुटबन्दीका कारण केही केन्द्रीय तहकै नेताहरू असन्तुष्ट साथीहरूलाई आपसमा मिलाएर जिताउनभन्दा हराउन केन्द्रित भए । अनि कसरी परिणाम राम्रो आउँछ ?

विपक्षीको दुष्प्रचार चिर्न नसक्नु
कांग्रेस राष्ट्रवादी शक्ति हो । कांग्रेस नेपालको विकास, निर्माण, समृद्धि तथा नेपाली जनताको सुख, शान्ति र हितका निम्ति समर्पित पार्टी हो । विगतमा भारतवेष्टित अवस्थाबाट मुक्तिका लागि बिपी कोइरालाले चिनियाँ नेता माओत्से तुङसित रसुवागढी र तातोपानी बाटो माग गर्नुभयो । नेपाल सार्वभौम मुलुक भएको प्रमाणस्वरूप बिपीले पाकिस्तान र इजरायलसित दौत्य सम्बन्ध स्थापित गर्नुभयो । आज त्यस्तो राष्ट्रवादी पार्टीलाई ‘भारतीय दलाल’ हो भनेर दुष्प्रचार गरियो । यस्तो दुष्प्रचारलाई चिरेर हामीले आफ्नो गौरव, आफ्नो सान र मान जोगाउन सकेनौँ । यो पनि हाम्रा लागि निकै घातक बन्यो ।

प्रतिपक्षीको कमजोरीलाई सुसूचित गर्न नसक्नु
प्रतिपक्षी एमालेले हाम्रा विरुद्ध अनेक दुष्प्रचार गरेर जनतामा भ्रम छर्दै गर्दा हामीले चाहिँ एमालेको गलत वा कमजोर पक्षलाई जनतासामु उदांगो पार्न सकेनौँ । हामीले निकै लामो समयसम्म अँध्यारोमा बस्न बाध्य हुनुको पछाडि एमालेको मुख्य भूमिका छ । यदि विगतमा एमालेले अरुण जल विद्युत् आयोजनालाई अगाडि बढाउन दिएको भए देशले यति लामो लोडसेडिङ झेल्नुपर्ने थिएन । यदि उसले अरुण तेस्रोमा हुने वैदेशिक लगानी नरोकिदिएको भए आज हाम्रो देशका युवा कामका लागि बिदेसिनुपर्ने थिएन । स्वदेशमै उद्योगधन्दाको विकास हुने थियो । नेपाली युवाले यहीँ रोजगारी पाउने थिए । देशले युवाविहीन हुनुपर्ने थिएन । हामी यो यथार्थलाई पनि जनतामाझ लानबाट चुक्यौँ।

अन्त्यमा
हामी विपक्षी शक्तिका दुष्प्रचारलाई चिरेर आलोचनात्मक रूपमा जनतामाझ प्रस्तुत हुनै सकेनौँ । हामीले आफ्ना कुराहरू जनतामाझ पुर्याउनै सकेनौँ । हामी विपक्षीहरूको गलत प्रचारसामु निरीह देखियौँ । परिणाम सबैसामु छर्लंग छ ।
(भण्डारी कांग्रेस केन्द्रीय सदस्य तथा सांसद हुन्)


Facebook Comment


No ads found for this position