म्याग्दीमा जमिन चिरा परेपछि स्थानीयवासी त्रसित

myagdi_districtम्याग्दी, २० भदौ । म्याग्दीको बेगखोला–१ बाँसबोटमा जमिन चर्किएर पहिरो जान थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । बस्तीदेखि माथिबाट पहिरो खस्न थालेपछि बाँसबोट र लिस्नेका स्थानीयवासी विस्थापित हुने अवस्थामा पुगेका छन् ।

बाँसबोट र लिस्नेमा गाउँ तल र माथिबाट पहिरो जान थालेको तथा बाढीले असर पु¥याएपछि २२ घरधुरी विस्थापित हुने अवस्थामा पुगेको स्थानीयवासी टीका पुर्जा मगरले बताउनुभयो । उहाँका अनुसार पहिरोको जोखिम बढेपछि स्थानीयवासी १० घरपरिवारले बेग गाउँमा आफन्तको घरमा सर्ने तयारीसमेत गरिसकेका छन् ।

अविरल वर्षाको कारण बस्तीको विभिन्न स्थानमा पहिरोले जमिन फाट्ने, पहिरो खस्ने, शौचालय भत्कने, घर चर्कने समस्या देखिएपछि पहिरोको जोखिम झनै बढेको स्थानीयवासीले बताएका छन् ।

यसै वर्ष लिस्ने खोलामा निर्माण गरिएको झोलुङ्गेपुलमा समेत खोलामा आएको बाढीले क्षति पु¥याएको छ भने पहिरो र बाढीले बालबालिकालाई समेत विद्यालयमा आवतजावत गर्न समस्या सृजना भएको छ । हालसम्म बेगखोला गाविसमा गाविस–६ का ११ घरधुरीसहित बाढी र पहिरोले १५ घरमा पूर्ण रुपमा क्षति पुगेको छ ।

पहिरोले बाँसबोटका सोमबहादुर नेपालीको वडा नम्बर ४ का नगेन्द्र विक, वडा ६ औलका नेत्रबहादुर पुनको घर पनि भत्किएको नेपाल रेडक्रस सोसाइटी बेगखोला उपशाखाका सभापति ओमप्रसाद गर्वुजाले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय शिव प्राथमिक विद्यालयसमेत पहिरोको उच्च जोखिममा परेको छ । पहिरोले बेगखोलाकै कृष्ण निमावि बाँदुकमा कक्षाकोठा भवन भत्किएको छ ।


Facebook Comment


No ads found for this position