मोरङका सिमसार पर्यटकीय गन्तव्य बन्ने

१ भदौ, काठमाडौं । जिल्ला वन कार्यालय मोरङले सामुदायिक वन क्षेत्रभित्र रहेका सिमसारलाई संरक्षण गरेर पर्यटकीयस्थलका रुपमा विकास यहाँका बहुसङ्ख्यक सिमसारमा लगानी गरेको छ।
morang_districtसेक्टर वन कार्यालय मङ्गलबारेका प्रमुख सहायक वन अधिकृत एकराज दाहालका अनुसार संरक्षणको अभावमा वन क्षेत्रभित्र रहेका सिमसार सुक्न थालेको र त्यसले ओगटेको जमिन त्यसै खेर गइरहेकाले सिमसारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरी आम्दानी गर्ने उद्देश्यले लगानी गरिएको हो।
जिल्ला वन कार्यालय मोरङले विगतमा राष्ट्रिय वन कार्यक्रमअन्तर्गत वनक्षेत्रमा रहेका सिमसार व्यवस्थापनका लागि लगानी गर्न थालेको हो। यो कार्यक्रमले वनक्षेत्रमा भएका अवस्था बिग्रिँदै गएका र सुक्न लागेका सिमसार संरक्षणमा मद्दत पुग्ने प्रमुख सहायक वन अधिकृत दाहालको भनाइ छ।
कार्यालयले आर्थिक वर्ष २०७२÷७३ मा मधुमल्लास्थित मावा नुनसरी सामुदायिक वन क्षेत्रमा रहेको देवीथान सिमसारलाई एक लाख ५० हजार, मधुमल्लाकै मिक्लुङ सामुदायिक वनमा रहेको कत्ले बेतिनी सिमसारलाई तीन लाख रुपैयाँ अनुदान दिएको छ।
 कार्यालयका अनुसार पथरी शनिश्चरेस्थित शान्ति सामुदायिक वनमा रहेको भुल्के जालपादेवी सिमसारलाई एक लाख ५० हजार, बेलबारीको ऐतिहासिक धनपालगढीको पोखरीलाई चार लाख र सुन्दरदुलारीस्थित हसिना सिमसारलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ।
मधुमल्लास्थित मावा नुनसरी सामुदायिक वन उपभोक्ता समूहभित्र रहेको देवीथान सिमसारलाई संरक्षणका लागि जिल्ला वन कार्यालयले गतवर्ष चारलाख रुपैयाँ सहयोग गरेको थियो।
यस वर्ष समूहले आफ्नै आम्दानीबाट ५० हजार र जिल्ला वनको एक लाख ५० हजार खर्च गरी पोखरी निर्माण गरेको अध्यक्ष राजेन्द्रप्रसाद घिमिरेको भनाइ छ। अध्यक्ष घिमिरेका अनुसार १७ कट्ठाभित्र फैलिएको पोखरीको डिलमा विभिन्न जातका फूल, धुपी लगायतका बिरुवा रोपिएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र पिकनिक स्पटका रुपमा विकास गर्ने समूहको लक्ष्य रहेको अध्यक्ष घिमिरे बताउँछन्।
मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्तोष लावतीका अनुसार जिल्ला वनले सहयोग गरेपछि मधुमल्लाकै मिक्लुङ सामुदायिक वन क्षेत्रमा रहेको कत्ले सिमसार पोखरीलाई सुन्दर र मनमोहक बनाउन स्थानीयवासी जुटेका छन्। चालु आवमा उक्त सिमसार संरक्षणका लागि जिल्ला वन कार्यालय र जिल्ला भू–संरक्षण कार्यालयबाट करिब आठ लाख रुपैयाँ सहयोग भएपछि उपभोक्ता सिमसार संरक्षणमा उत्साहित भएका अध्यक्ष लावतीको भनाइ छ।
सिमसार संरक्षणका लागि जिल्ला वन कार्यालयबाट तीन लाख रुपैयाँ र जिल्ला भू–संरक्षण कार्यालयबाट चार लाख ७६ हजार रुपैयाँ अनुदान सहयोग प्राप्त भएको मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लावतीको भनाइ छ। भविष्यमा सिमसारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरेर वनको आम्दानी बढाउने लक्ष्य रहेको अध्यक्ष लावती बताउँछन्। पोखरीको डिलमा बाल उद्यान, पिकनिक स्पट, डुङ्गा सयर, विभिन्न पशुपक्षीसमेत संरक्षण गरेर पर्यटक भित्र्याउने योजना रहेको छ।
मोरङको पथरी शनिश्चरे–१ स्थित शान्ति सामुदायिक वन क्षेत्रभित्र रहेको भुल्के सिमसार क्षेत्रलाई व्यवस्थित गर्ने कार्यलाई पनि तीव्रता दिइएको छ।
जिल्ला वन कार्यालय मोरङले सिमसार तथा पर्यटकीय क्षेत्र विकासका लागि एक लाख ५० हजार सहयोग गरेपछि शान्ति सामुदायिक वनले सिमसार क्षेत्र विस्तारका लागि कार्य सुरु गरेको हो। पथरी शनिश्चरेलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले सो कार्यको थालिएको वन समूहका कोषध्यक्ष तकवीर लिम्बूको भनाइ छ।


Facebook Comment


No ads found for this position