मेघौलीमा मुख्य गन्तव्य बनाउन माग

विप्लव काफ्ले मेघौली पर्यटन समितिले ‘मेघौली’ क्षेत्रलाई महानगरको मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बजेट विनियोजन गर्न माग गरेको छ । मेघौलीमा नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको दुइ दिने ‘पर्यटन अभिमुखीकरण गोष्ठी’ मा समितिका अध्यक्ष हरिचन्द्र महतोले महानगरले मेघौली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने गरी योजना छनोटमा ध्यान दिनुपर्नेमा बताए ।
“मेघौलीको मुख्य सम्भावना पर्यटननै हो,” उनले भने, “नगरपालिका बनेको अनुभूति नहुँदै महानगरवासी बन्न पुग्यौँ । अब पर्यटन पूर्वाधारमा बजेट आउँछ भन्ने आशा छ ।” साविक मेघौली गाविस हाल महानगरको २७ र २८ नम्बर वडाका रूपमा कायम भएको छ । राप्ती र नारायणी नदीको किनारमा रहेको मेघौली कला संस्कृति र पर्यटकीय गतिविधिका रूपमा अग्रस्थानमा छ । सूर्यास्त हेर्न, चितवन राष्ट्रिय निकुञ्जमा रहेका जनावर अवलोकन गर्न मेघौली पर्यटक पुग्ने गर्छन् । “सडक सञ्जाल स्तरोन्नति गरेर पर्यटकीय गन्तव्य जोडिनुपर्छ,” उनले भने, “पर्यटन गतिविधि बढाउन सोअनुसार स्थानीयलाई जागरूप बनाउन पहल हुनुपर्छ ।” वडास्तर र नगरस्तरीय स–साना योजनाले पर्यटक आकर्षण गर्ने गरी पूर्वाधार विकास हुन सकेको छैन ।
मेघौलीमा ३२ वटा साना ठूला होटल सञ्चालनमा छन् । मेघौली सराइ, बाराही होटल, गोलाघाट वाइल्ड लाइफ रिसोर्ट, होटल सारङ्गा जस्ता ठूलो लगानीमा सुविधासम्पन्न रिसोर्ट तथा होटल सञ्चालनमा छन् । “विस्तारै पर्यटक चहलपहल बढेको छ”, अध्यक्ष महतोले भने, “यहाँको रमणीय वातावरण, संस्कृतिमा पर्यटक रमाउँछन् ।” चितवनमा पहिलो पटक स्थापना भएको थारु सामुदायिक होमस्टेमा समेत पर्यटक चहलपहल बढेको छ । “होमस्टे अझै बढाउनुपर्ने देखिएको छ,” थारु सामुदायिक होमस्टेका अध्यक्ष सोमलाल महतोले भने, “पारिवारीक वातावरणमा रमाउन चाहने पर्यटक होमस्टेमा आइपुग्छन् । होमस्टे थप गर्न स्थानीय तहबाट पनि बजेट भएमा सहज हुने उनले बताए । “आयआर्जन गर्ने माध्यम पनि बनेको छ,” उनले भने, “स्थानीय थारु कलाबारे पनि बुझाउन पाएका छौँ । देश विदेशमा चिनाउने अवसर पाएका छौं ।”
मेघौलीमा हाल ५ वटा होमस्टे सञ्चालनमा छन् । जसमा ४० जनालाई एकैसाथ राख्न सक्ने क्षमता छ । “कला संस्कृति देखाउने सांस्कृति भवन होमस्टे नजिकै सांस्कृतिक भवन बनाउन आवश्यक छ,” उनले भने, “महानगरले बजेट विनियोजन गर्नु पर्छ ।” पछिल्लो २ वर्षको अवधिमा १ सय ४३ जना विदेशी पर्यटकसहित ६ हजार ७ सय २८ जनाले होमस्टेमा रात बिताएका छन् । सुविधासम्पन्न होटलमा आउने विदेशी पर्यटकसमेत दिउँसो होमस्टेको परिकारको स्वाद लिन, होमस्टेको वातावरणमा घुलमिल हुन धेरै आउने गरेको उनले बताए । मेघौलीमा छिट्टै कुमाल समुदायका होमस्टे सञ्चालनमा ल्याइने भएको छ । सस्तो र पारिवारिक वातावरण हुने भएकाले पनि होमस्टेमा पर्यटक बढी पुग्ने गर्छन् ।
तालिम प्राप्त पर्यटक घुमाउने ‘गाइड’, कुक पर्याप्त नहुँदा स्थानीय होमस्टे, होटलमा धेरै दिनसम्म पर्यटक नबस्ने भएकाले स्थानीय तहले सो अनुसारका गतिविधि गर्न बजेट छुट्टाइदिनुपर्ने बताए । देशकै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा चितवनमा आउने अधिकांश पर्यटक सौराहा जाने गर्छन् । सौराहादेखि गोलाघाटसम्मका गन्तव्य जोडेर पर्यटन गतिविधि सञ्चालन भएमा पश्चिम चितवनको पर्यटनले फड्को मार्ने चितवन पर्यटन समितिले जनाएको छ । “एकीकृत गुरुयोजना बनाउनुपर्छ । पर्यटन क्षेत्रमा विविधिकरण आवश्यक छ,” समितिका महासचिव विश्व सुवेदीले भने, “स्थानीय तहले कम्तीमा ५ वर्षे गुरुयोजना बनाएर बजेट विनियोजन गरे समग्र चितवनकै अर्थतन्त्र विकासमा सहयोग पुग्छ ।” पर्यटन सूचना केन्द्र, संग्रहालय, मचान, पर्यटक विश्रामस्थल, गन्तव्य चिनारीका ब्रोअसर, ‘एप्स’, वृत्तचित्र, होर्डिङ बोर्ड राख्न स्थानीय तहले बजेट विनियोजन गर्न तत्पर रहनुपर्ने बताए । “भरतपुर चनौली गोलाघाट सडक निर्माणमा रकमानान्तर भएर आएको बजेट कार्यान्वयन हुनुपर्छ,” उनले भने, “यतिमात्रै भएमा पनि धेरै पर्यटक मेघौली आइपुग्छन् ।”
उनले मेघौली विमानस्थललाई निरन्तर सञ्चालन हुने गरी स्तरोन्नति गरेर विकास गर्न महानगरले ध्यान दिनुपर्ने बताए । चितवनलाई पर्यटकीय हब बनाउन मेघौली–कसरा क्षेत्रलाई जोड्न पनि पहल हुनुपर्ने बताए । २०१७ सालमा बनेको सो विमानस्थलमा चितवन निकुञ्जभित्र रहेको टाइगर टप्स जंगल लजमा आउने पर्यटक ल्याउन प्रयोग हुदै आएको थियो । त्यसपछि ०६७ सालमा निकुञ्जभित्रको होटल बन्द भएपछि विमानस्थल पनि बन्द हुन पुगेको थियो । अधिकांस पर्यटक हात्ती सफारी, घण्टा डुङ्गा सफारी, जंगल वाक, भिलेज वाक, वाइल्ड लाइफ सम्बन्धी जानकारी, थारु कल्चर डान्स हेर्न, चरा अवलोकन गर्न मेघौली उपयुक्त गन्तव्य मानिन्छ । मेघौली भरतपुरदेखि झन्डै २५ किमिको दूरीमा पर्छ । मेघौली, पटिहानी, जगतपुर, माडीमा पर्यटन गतिविधि उकालो लाग्न थाले पनि पर्यटन बजेट कम हुँदा फड्को मार्न सकेको पाइँदैन ।साभार काराेबार


Facebook Comment


No ads found for this position