मालिकाको पर्यटन गुरुयोजना तयार

म्याग्दी, भदौ :स्थानीय मालिका गाउँपालिकाले पर्यटन विकासका लागि पाँच वर्षे गुरुयोजना तयार पारेको छ । उक्त गुरुयोजनामा मालिकाका पर्यटकीयस्थलमा आधारभूत पूर्वाधार निर्माणका लागि रु सात करोड पचास लाख लगानीको प्रस्ताव गरिएको छ । पर्यटकीयस्थलको अवस्था, सम्भावना, समस्या र आवश्यकता पहिचान गरी पूर्वाधार निर्माणका लागि सो गुरुयोजना निर्माण गरिएको हो ।

मालिकाको पर्यटक विकासका लागि पदमार्ग, होमस्टे र पर्यटक विश्रामस्थल र आवासस्थललगायतका पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्ने गुरुयोजनामा उल्लेख छ । मालिका धुरी, भालेबास्ने ताल, बराह ताल, सोले डाडाँ, दुरु लेक, गाईखर्क ताल र देवताभीर, गुफाजस्ता पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचार प्रसार र योजनाको अभावमा ओझेलमा पर्दै आएका थिए ।

गुरुयोजनामा बेनी नगरपालिकाको पछैदेखि मङ्गला र रघुगङ्गाको सीमाक्षेत्रमा अवस्थित टोड्के हँुदै भालबास्ने ताल, बिम बराह, दरवाङ, निस्कोट बराह, दुरुलेक, सोलेडाडाँ, गाईखर्क ताल र देवताभिरलाई जोड्ने पदमार्गको नक्साङ्कन गरिएको छ ।

रुम, विम, देवीस्थान र निस्कोटलाई होमस्टे गाउँका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । पर्यटनविज्ञसहितको टोलीले स्थलगत अध्ययन र सरोकारवालासँग छलफल गरेर गुरुयोजना तयार पारेको परामर्शदाता कम्पनी शुभारम्भ उद्यमशील प्रालिका कुलचन्द्र रेग्मीले बताउनुभयो ।

गुरुयोजनाअनुसार पर्यटकीयस्थलमा पूर्वाधार निर्माण, प्रचार प्रसार र प्रर्वद्धनात्मक कार्यक्रम गरिने उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो । पर्यटन विकासका लागि गुरुयोजनालाई मागदर्शनका रूपमा लिएर गाउँपालिकाले पर्यटन विकासका योजना तय गर्ने अधिकृत सुवेदीले बताउनुभयो ।

‘असारे विकास’ अन्त्य गर्न पहल

रघुगङ्गा गाउँपालिकाले ‘असारे विकास’ विकृति न्यूनीकरणका लागि चालु आवका लागि बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम २०७५ चैत १५ गतेभन्दा अघि सम्झौता गरिसक्नुपर्ने बाध्यकारी निर्णय गरेको छ ।

गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले आर्थिक वर्षको अन्त्यमा गरिने पूर्वाधार निर्माण, तालीम र गोष्ठीजस्ता कार्यक्रम दिगो, प्रभावकारी तथा उपलब्धिमूलक नदेखिएकाले सुधारको पहल थालिएको बताउनुभयो । समयमै गुणस्तरीय काम गराउने र बजेट दुरुपयोग रोक्नका लागि असारे विकासको प्रवृत्तिलाई निरुत्साहित गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाईंले योजना कार्यान्वयनलाई सहज र प्रभावकारी बनाउन उपभोक्ता समितिका पदाधिकारीलाई तालीमको ब्यवस्था गरिएको बताउनुभयो ।

विसं २०७६ जेठभित्र सबै योजनाका काम फरफारक गरिसक्नुपर्ने र दोस्रो चौमासिकको शुरुदेखि नै योजना कार्यान्वयनमा लगिने उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाको गत असारमा भएको गाउँसभाले चालु आवका लागि रु २५ करोड बजेट विनियोजन गरेको थियो । सडक नपुगेका बस्तीमा सडक पु¥याउने, ट्याक खोलिएका सडकको स्तरोन्नति, सामुदायिक विद्यालयको गुणस्तर सुधार, आयआर्जन वृद्धि, पर्यटकीयस्थलमा पूर्वाधार निर्माण, सामुदायिक भवन, खानेपानी विस्तारका योजनालाई प्राथमिकता दिइएको उपाध्यक्ष कमला तिलीजाले बताउनुभयो ।


Facebook Comment


No ads found for this position