मलाई हटाएर तमासा देखाउल भन्ने नसोचे पनी हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ता छाड्न कुनै गाह्रो नभएको बताएका छन् । काठमाडौंमा  भएको एक कार्यक्रममा प्रधानमन्त्रीले सत्तासँग कुनै मोह नभएको उल्लेख गरे । ‘अहिले सत्ता छाड्न गाह्रो भयो भन्छन्,’ भावनात्मक मन्तव्य राखेका उनले भने, ‘उहिले नै धर्ती छाड्न लागेको मान्छेलाई कुर्सी छाड्न के गाह्रो ?’

प्रधानमन्त्रीले कांग्रेस र माओवादीले संसदमा अविश्वासको प्रस्ताव राखेलगत्तै राजीनामा मागेकोमा आश्चार्य प्रकट गरे । ‘भर्खरै संसदमा अविश्वासको प्रस्ताव राखिएको छ, फेरि राजीनामा माग्छन्,’ उनले सोधे, ‘अविश्वासको प्रस्ताव राखेको हो कि राजीनामा मागेको हो ?’ उनले अविश्वासको प्रस्तावविरुद्ध संसद ‘फेस’ गर्ने दोहोर्‍याए ।

प्रधानमन्त्रीले बाहिर चर्चा भएजस्तो संसद विघटन गर्ने पक्षमा आफू नभएको बताए । ‘मैदान नै मासेपछि कहाँ खेल खेल्नु ? खेल त सँधै बाँकी रहन्छ नि,’ उनको भनाइ थियो । उनले आफू राष्ट्रिय राजनीतिलाई द्वन्द्वतर्फ लैजाने सोचमा नभएको प्रष्ट पारे ।

माओवादीसँग १४ बुँदे सहमति गरेर आगामी चुनावसम्म सहकार्य गर्ने तयारी भए पनि बीचमा धोका भएको उनले बताए । ‘फुटबलमा हावा हालेपछि उफ्रिहाल्छ नि,’ माओवादीतिर लक्षित गर्दै भने, ‘खै कसले हावाल हालिदियो ?’

प्रधानमन्त्रीले आफूलाई हटाएर मुलुकमा धेरै प्रकारका खेल तमासा खेल्न सकिन्छ भन्ने नसोच्न आग्रह गरे । ‘यस्तो खेल तमासा देखाउनेले सोच्नुपर्‍यो कि एमालेजस्तो पार्टी पनि यो देशमा छ,’ उनले भने ।
अब बन्ने सरकारले संविधान कार्यान्वयनका लागि स्पष्ट रोडम्याप ल्याउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘अबका प्रधानमन्त्रीले के गर्ने भन्ने गाइडलाइन चाहिन्छ, अहिलेका समस्यालाई समाधान गर्न सक्नुपर्दछ,’ उनले भने ।

देशलाई तनावतिर जान नदिन र सहमतिका साथ अघि बढ्न प्रधानमन्त्रीले आग्रह गरेका छन् ।


Facebook Comment


No ads found for this position