मन्त्रीको सूची तयार गर्दै कांग्रेस

१ साउन, काठमाडौं । नेपाली कांग्रेसमा सरकारमा सहभागी हुनेहरुको नाम लिष्ट तयार भइरहेको नेताहरुले बताएका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला र खुमबहादुर खड्काले आ–आफ्ना निकटका नेताहरुका नामावली तयार पार्ने काम गरिरहेको स्रोतले जनाएको छ ।सभापति देउवाले महाधिवेशनमा समेट्न नसकेका, असन्तुष्ट र भागबण्डा अन्त्यको प्रयासका लागि सकेसम्म सरकारमा मिलाएर पठाउने तयारी गरेका छन् ।उनले पार्टीमा भागबण्डाको संस्कृति अन्त्य गर्ने प्रयास गरे पनि अन्ततोगत्वा पौडेल, कृष्ण सिटौला, खड्का र आफू निकटका नेताहरुसँग पनि उनले निरन्तर छलफल थालेका छन् ।
Nepali-congress-Flag-8उच्च स्रोतका अनुसार सभापति देउवाले आफू निकटका नेता विमलेन्द्र निधीलाई उपसभापति या उपप्रधानमन्त्रीसहित कुनै मन्त्रालय रोज्न आग्रह गरेका छन् ।तर निधीले दुवैमा दाबी गरेको स्रोतले बतायो ।  सभापति देउवाले पौडेल निकट मानिएका कोषाध्यक्ष सीतादेवी यादव र शेखर कोइरालाको नाम अघि सारेका छन् ।यादवलाई सरकारमा पठाउँदा सहिद परिवार, मधेस, महिलाको पनि प्रतिनिधित्व हुने भएकाले उनलाई पठाउने विषयमा छलफल भएको स्रोतले बतायो ।तर तराई मधेसबाट प्रतिनिधित्व हुने गरी डा. अमरेश कुमार सिंहलाई पनि सरकारमा पठाउने बारेमा छलफल भएको स्रोतले जानकारी दियो । त्यसैगरी निधीको नेतृत्वमा नभए सिटौलाको नेतृत्वमा पठाउने बारेमा पनि देउवाले छलफल थालेको स्रोतको दाबी छ ।
 देउवाले आफू निकटका नेताहरु बालकृष्ण खाँण, रमेश लेखक, प्रकासशरण महत र फरमुल्लाह मन्सुरका बारेमा पनि छलफल थालेका छन् । त्यसबाहेक महिलाबाट महालक्ष्मी डीनाको पनि नाम चर्चामा छ । देउवाले सुदुरपश्चिमबाट जीवनबहादुर शाही र राजीब विक्रम शाहका बारेमा छलफल थालेको स्रोतले बतायो ।
शाहलाई केन्द्रीय समितिमा पनि प्रतिष्पर्धामा रोकेको र पौडेल पक्षधरले पनि रुचाइएका नेताका रुपमा लिइएको छ ।युवा नेतातर्फ गगन थापा, रामहरी खतिवडालगायतका नेताहरु पनि चर्चामा छन् ।
महाधिवेशनमा पनि सहयोग गरेका मानबहादुर विश्वकर्मालाई दलित कोटामा पठाउने सम्भावना रहेको स्रोतले बतायो । महाधिवेशनमा भएको सहमति कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका नेता खुमबहादुर खड्का पक्षधरका नेता मोहन वस्नेतलाई सरकारमा पठाउने बारेमा पनि छलफल भएको छ ।
खड्कालाई चिढ्याउन नदिन देउवाले पत्नी शीला खड्कालाई पनि मन्त्री बनाउन सक्ने कांग्रेस उच्च स्रोतले जानकारी दियो ।गृह, परराष्ट्र, स्थानीय, उर्जा, पर्यटन, युवा तथा खेलकुद, सामान्य प्रशासन लगायत १२ वटा मन्त्रालय पाउने अनौपचारिक सहमति भएको स्रोतले जानकारी दियो ।


Facebook Comment


No ads found for this position