मनै लोभ्याउने महलपोखरी

मोहन पौडेल

परासी, असोज : ऐतिहासिक गजधम्बा देवीको मन्दिरसमेत रहेको पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा अवस्थित प्रसिद्ध महलपोखरीले त्यहाँ पुग्ने जो कोहीको पनि मन लोभ्याउने गरेको छ ।

तराईको अत्यधिक गर्मीका बेला त्यहाँ चल्ने चिसो हावा, कुहिरोले ढाकिने पुस माघको चिसोको बेला लाग्ने पारिलो घाम, हरियाली, रमणीय अनि सुन्दर वातावरण, वारि तराईको समथर फाँट अनि पारि पाल्पाको चुरे पहाडको दृश्यावलोकनका लागि महलपोखरी प्रख्यात छ । बीचमा गजदम्बा देवीको मन्दिर र ऐतिहासिक महलपोखरी रहेको डाँडा छ । यो मनमोहक वातावरणको मज्जा लिन सुनवल बजारबाट ११ किलोमिटर उत्तरतर्फको सुनवल नगरपालिका–४ चुरे पहाड पुग्नु पर्छ । पाल्पाका सेनवंशी राजासँग जोडिएको गजधम्बा देवी मन्दिर अनि सत्यवती बजैसँग जोडिएको स्थल हो महलपोखरी ।

सुनवलबाट पहाडी कच्ची बाटो छिचोल्दै पुग्न सकिने सो ठाउँमा पाल्पाको तत्कालीन सेनवंशी राजाका त्रिवेणीधाम आवातजावत गर्दा पुज्ने गरेको गजदम्बा देवीको मन्दिर छ । सो मन्दिरमा १९८४ सालमा चढाएको घण्ट रहेको छ । त्यही नजीकै पाल्पाबाट सत्यवती बजै सोही बाटो भएर जाने क्रममा बास बसेकाले ठूलो खाल्डो पछि महलपोखरीका रुपमा परिणत भएको सुनवल नगरपालिका–४ का वडाध्यक्ष वीरबहादुर गुरुङ बताउनुहुन्छ ।

सो ठाउँमा बडादशैँमा ठूलो मेला लाग्दछ भने चैतेदशैँको बेला पनि भक्तजन पुग्ने गरेको महलपोखरी टोल सुधार समितिका अध्यक्ष कर्णबहादुर मगरले बताउनुभयो । सो ठाउँमा मगर जातिको २३ परिवारको बसोबास रहेको छ । त्यो पुरानो मगरबस्ती हो । चार बिघामा फैलिएको महलपोखरीमा वर्षाको समयमा मात्र पानी देख्न पाइन्छ । महलपोखरीको केही जग्गा स्थानीयवासीले अतिक्रमण गरेको महलपोखरी प्राविका प्रधानाध्यापक मदन पौडेल बताउनुहुन्छ ।

शुरुमा पोखरीको बीचमा मौलो थियो । मौलो पोखरीभन्दा भन्दै पछि यसको महलपोखरी रहन गएको हो । रमणीय ठाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नगरपालिकाले योजना बनाएको नगरप्रमुख भीमबहादुर थापाले बताउनुभयो । “होमस्टे सञ्चालन र भ्यू टावर निर्माण गर्ने योजना छ,” उहाँले भन्नुभयो । महलपोखरीलाई केन्द्रमा राखेर पश्चिम नवलपरासीको सुनवलदेखि महलपोखरी हुँदै पाल्पा जोड्ने सडकको ट्र्याक खोल्ने काम भइसकेको छ । होमस्टे प्रवद्र्धनका लागि यस वर्ष स्थानीयवासीलाई तालीम दिइने थापा बताउनुहुन्छ ।

सो क्षेत्रलाई बुटवल–पाल्पा सडकखण्डको वैकल्पिक मार्गका रुपमा समेत हेरिएको छ । हालै मात्र मूल भन्सारको मान्यता पाएको नवलपरासीको महेशपुर भन्सारदेखि सदरमुकाम परासी हुँदै सुनवल–महलपोखरी–पाल्पा र मध्यपहाडी लोकमार्गसँग जोडेर नवलपरासी र आसपासका जिल्लाको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने गरी दीर्घकालीन योजनाका साथ सो क्षेत्रको विकास गर्न लागिएको प्रमुख थापाले जानकारी दिनुभयो । सडक कालोपत्र गर्न प्रदेश नं ५ सरकारसँग छलफल भइरहेको उहाँले बताउनुभयो ।

ऐतिहासिक र पुरातात्विक स्थल भए पनि यहाँको भौगोलिक विकटताका कारण सो ठाउँ पछि परेको स्थानीयवासी बताउँछन् । यहाँका बासिन्दाले किनमेलका लागि ११ किलोमिटर टाढाको सुनवल बजार पुग्नुपर्छ । सो क्षेत्रमा हालै बिजुली तथा खानेपानीको व्यवस्था गरिएको छ । आवश्यक पूर्वाधार निर्माण गर्न सके महलपोखरी उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ ।


Facebook Comment


No ads found for this position