मकालु आउने पर्यटक घटे

दीपेन्द्र शाक्य संखुवासभा — विश्वको पाँचौं हिमशिखर मकालु हिमाल आरोहरणका लागि आउने पर्यटकको संख्या कमी आएको छ । भूकम्पपछि पर्यटक आउन छाडेको मकालु बरुण राष्ट्रिय निकुञ्जले जनाएको छ । गत आर्थिक वर्षमा १ हजार ५ सय ७६ विदेशी पर्यटक भित्रिएका थिए । यो वर्षको ६ महिनामा ४ सय २५ जना मात्रै पर्यटक भित्रिएको तथ्यांक मकालु बरुण राष्ट्रिय निकुञ्जमा छ ।

संखुवासभा र सोलुखुम्बु जिल्लामा फैलिएको मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएका कारण यहाँ आउने बाह्य तथा आन्तरिक पर्यटकको तथ्यांक निकुञ्जले राख्ने गरेको रेञ्जर हिमाल पाठकले बताए । पर्यटकहरूका लागि सेवासुविधा र पर्याप्त सुरक्षा हुन नसक्दा पर्यटकको संख्यामा निक्कै कमी भएको हो ।
विदेशी पर्यटक निकुञ्जको जैविक विविधता अध्ययन, विश्वकै होचो ४ सय ५७ मिटर उचाइको अरुण उपत्यकाको भ्रमण र मकालु हिमालय आरोहणका लागि आउने गरेका छन् । पर्यटकको संख्यामा कमी हुँदा स्थानीय स्तरमा भएका पर्यटन व्यवसाय धरासायी बन्दै गएको नुमका दुर्गाबहादुर पराजुलीले बताए । सरकारको दुरदृष्टि कम भएर पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी कार्यक्रम ल्याउन नसक्दा वर्षेनी पर्यटकको संख्या घटेको उनले आरोप लगाए । निकुञ्जको तथ्याङकअनुसार सबैभन्दा कम पर्यटक ०६२/०६३ मा आएका थिए । त्यसबेला मकालु क्षेत्रमा ७८ पर्यटक मात्र भित्रिएका थिए । त्यसपछि बढदै गए पनि सोचेअनुरूप नभएको उनले बताए ।
२०६६/६७ मा सबैभन्दा बढी १ हजार ६ सय ७८ जना आएका थिए । ०७२ /७३ मा ८ सय २८ र ०७१/ ७२ मा १ हजार २ सय ७० पर्यटक आएका थिए । पर्यटक आवागमनमा यो वर्ष अत्यधिक गिरावट आएपछि जिल्लाको पर्यटन प्रवद्र्धनमा प्रश्नचिन्ह उब्जिएको छ, उनले भने, मकालु बेश क्याम्पसम्म जाने विभिन्न बाटो र निकुञ्ज क्षेत्रमा पर्यटकका लागि अत्यावश्यक क्याम्प, गोरेटोबाटो, उपयुक्त सुरक्षा, सञ्चारसेवा, विद्युत सेवा र होटेल व्यवस्थापन नहँुदा पर्यटकको संख्यामा कमी हँुदै गएको छ । सरकार र स्थानीय तहले पर्यटक आवागमन बढाउनका लागि बाटो र सुविधा सम्पन्न होटेलको व्यवस्थापन गरे बढ्ने थियो, पराजुलीले भने, स्थानीय तहले चासो नदिएका कारण पर्यटन आवागमन दिनदिनै घटदै गएको हो । उनले भने, पर्यटक नआएपछि जिल्लाको पर्यटन प्रवद्र्धन र पर्यटन व्यवसाय समेत चौपट भएको छ ।
 मकालु हिमाल आरोहरणका लागि अमेरिका, बेलायत, जर्मन, जापान, भारत लगायतका दर्जनौं देशबाट पर्यटकहरू आउने गरेका छन् । मकालु बरुण राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने यो मकालु हिमालमा पर्यटकका लागि विषेश कार्यक्रम र पर्यटकको सुरक्षामा विशेष ध्यान पुर्‍याउन सकेमात्र पर्यटक आवागम बढ्ने स्थानीयवासीको भनाइ छ । निकुञ्ज हुँदै हिमाल आरोहणका लागि जानुपर्ने मार्गमा असुरक्षित हुँदै गएपछि पर्यटक आवागमन घट्नुको मुख्य कारण बनेको छ । निकुञ्जले पर्यटकलाई प्रतिपर्यटकलाई ३ हजार ३ सय ९० सार्क राष्ट्रबाट आएका पर्यटक २ हजार २ सय ६० शुल्क लिएर निकुञ्ज क्षेत्र र हिमाल आरोहणको अनुमति दिँदै तथ्यांक राख्ने गरेको छ ।


Facebook Comment


No ads found for this position