मंगलबारदेखि पाँच दिनसम्म अन्तर्राष्ट्रिय उडान तथा अवतरण प्रभावित हुने

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन काठमाडौंमा हुने भएकोले आजदेखि शनिबारसम्म विमानस्थलका उडान तथा अवतरण प्रभावित हुने भएका छन्।

विशिष्ट पाहुनाहरुको उडानको समयमा विमानस्थलमा अन्य व्यावसायिक उडान बन्द गर्ने परम्परा रहेको छ। सोहीअनुसार सम्मेलनको क्रममा सरकार प्रमुखहरु आउने भएकोले उडान तथा अवतरण प्रभावित हुने भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

विमानस्थल वरपरको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।

आज म्यानमारका राष्ट्रपति विन मिन्ट आउने कार्यक्रम रहेको छ। बिहिबारदेखि काठमाडौंमा सुरु हुने सम्मेलनमा भाग लिन सम्मेलनकै दिन भारत, बंगलादेश र थाइल्यान्डका सरकार प्रमुख काठमाडौं आउने कार्यक्रम रहेको छ।

शुक्रबार र शनिबार उनीहरु स्वदेश फर्किने कार्यक्रम रहेको छ। फर्कदा पनि उडान तथा अवतरण प्रभावित हुने भएको छ। अति विशिष्ट उडानको कारणले प्रभावित भएका उडानलाई सामान्य पार्नको लागि बिहीबार र शुक्रबार २४ घण्टा विमानस्थल संचालन गर्ने विमानस्थल कार्यालयले जानकारी दिएको छ।


Facebook Comment


No ads found for this position