भारतीय पूर्वराजदूतले भने: मधेश नफेरेसम्म नेपालमा लोकतान्त्र कमजोर हुन्छ

६ फागुन, काठमाडौं । नेपालका लागि भारतीय पूर्वराजदूत शिवशंकर मुखर्जीले नयाँ नेपालमा मधेस पुरानै रहोस् भन्ने मान्यता व्याप्त रहेसम्म नेपालमा प्रजातन्त्र संस्थागत नहुने चेतावनी दिएका छन् ।

जनकपुरमा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वराजदूत मुखर्जीले अहिले नेपालको राजनीतिमा नयाँ नेपाल बनोस् भन्ने चाहना भए पनि मधेस पुरानै रहोस् भन्ने मानसिकता व्याप्त रहेको र त्यो कहिले सम्भव नहुने धारणा राखेका थिए । उनले वर्तमान राजनीतिप्रति इंगित गर्दै भने, ‘नेपालका जनतामा असन्तुष्टि व्याप्त छ । संविधानमा मधेसीको मुद्दालाई सम्बोधन गरिएको छैन । यस्तो अवस्थामा लोकतन्त्र संस्थागत गर्न गाह्रो छ ।’

 

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि प्रमुख अतिथि र भारतीय राजदूत रञ्जित रेसमेत उपस्थित कार्यक्रमको आयोजना पृथकतावादी मधेस अभियानमा सक्रिय सीके राउत रिहाइका लागि लबिङ गर्दै आएका पूर्वराजदूत विजयलाल कर्णको संस्था जागृत नेपालले गरेको थियो ।

कार्यक्रममा रेले नेपाल मामिलाबारे खुलेर नबोले पनि मधेसी आन्दोलनले तीव्रता पाउँदा नेपालमा राजदूत रहेका मुखर्जीले भने नेपाली राजनीतिक विषयमा खुलेरै धारणा राखेका थिए ।

उक्त द्विदिवसीय छलफलमा सहभागी भारतीय राजदूत रेले नेपालको राष्ट्रियताको सवालमा आफूले टिप्पणी गर्न गाह्रो हुने बताए पनि नेपालमा रहेको विविधतामा एकता नारालाई सार्थक कसरी बनाउने भन्ने चुनौती औंल्याए ।


Facebook Comment


No ads found for this position