भारतीय पक्षद्वारा माथिको आदेश भन्दै बेहियामा ‘नाकाबन्दी’कै झल्को, आयात निर्यातमा प्रभावित

साउन, काठमाडौं । दुई वर्षअघिको भारतीय नाकाबन्दीको समयमासमेत प्रभावित नबनेको रुपन्देहीको बेलहिया नाका पछिल्लो एकसातादेखि भने असहज बनेको छ। विगत एक सातादेखि भारतीय सीमा सुरक्षा बल एसएसबीले चेकजाँचको बहानामा कडाई गरेपछि सीमानाका बेहियाले नाकाबन्दीकै झल्को दिएको छ।

बेलहियामा नाकाबन्दीको समयमा समेत आयात निर्यातमा खासै प्रभाव परेको थिएन।चेकजाँचको निहुँमा एसएसबीले नेपालबाट भारत प्रवेश गर्ने सवारी साधनलाई कडाई गरेपछि सयौं सवारी साधन सीमा क्षेत्रमा अलपत्र परेका छन्। भारतबाट नेपाल आउने सवारी साधन तथा यात्रुलाई भने केही सहज गरिएको छ ।

नेपालमा सामान अनलोड गरेर भारत जाने र भारतमा सामान लिन जाने मालबहाक सवारी साधनहरुलाई माथिको आदेश भन्दै एसएसवीले चेकजाँचमा कडा पारेको हो। सयौ सवारी साधन बाहिरिने यो नाकामा भारतीय पक्षले दुई/चार जना सुरक्षाकर्मी राखेर लामो समय चेकजाँच गर्दा आयात निर्यात प्रभावित भएको छ ।

सीमानादेखि करिब ४ किलोमिटर वर नेपालतर्फ लोड गरेका र खाली गाडीको लाइन लागेको छ । भारतीय पक्षको कडा चेकजाँचले बेलहिया नाकाबाट हुने आयात निर्यात प्रक्रियालाई समेत प्रभाव पारेको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भुपालराज शाक्यले बताए।

सामान्य अवस्थामा दैनिक १८ देखि २० करोडको राजश्व संकलन हुने बेलहियाबाट अहिले दैनिक १२ देखि १३ करोड मात्रै राजश्व संकलन भएको शाक्यले बताए ।

आर्थिक वर्षको शुरुवातमै राजश्व संकलनमा आएको कमिले चालु आर्थिक वर्षमा राजश्व संकलनमा भन्सार कार्यालयले लिएको लक्ष्य पुरा गर्न समेत हम्मे हम्मे हुने देखिएको छ । नेपालबाट निर्यात हुँदै आएका सामान पनि नाकामै रोकिएका छन् । जसले निर्यातमा पनि नकारात्मक प्रभाव देखिएको छ ।

बिना कारण चेकजाँचको निहुँमा एउटै सवारी साधनलाई घण्टौ सीमामा रोक्दा यस क्षेत्रका ठूला उद्योगधन्दा र व्यवसायिक प्रतिष्ठानहरु प्रभावित बनेका छन्। नाका अवरोध हुँदा नेपालबाट भारत निर्यात हुने सामाग्री रोकिएको छ भने नेपालमा सामान छाडेर भारत फर्कने सवारी पनि अलपत्र परेका छन्।

यता रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले भारतीय अधिकारीसँग कुराकानी गरी नाका सहज गराउन आग्रह गरेकाले अब सहजता आउने बताएका छन्। भारतीय सुरक्षा निकायले भारत जाने सबै प्रकारका सवारी साधन तथा यात्रुहरुको खानतलासि लिएर मात्र सीमा पार हुन दिएको छ।साभार सेतेापाटी


Facebook Comment


No ads found for this position