बोलबम मेला सुरु

बर्दिवास, ३ साउन । महोत्तरीसहितको मिथिला क्षेत्रका शिवालयहरुमा साउने सोमबारी (बोलबम) मेला सुरु भएको छ । सौरमासको गणनाले साउन महिना सुरु भएयताको आज पहिलो सोमबार शिवालयहरुमा साउने मेला सुरु भएको हो ।
Bol-Bomसाउने मेलाको पहिलो दिन आज जिल्लाको बर्दिवास नगरपालिका–१२ स्थित टुटेश्वरनाथ महादेव मन्दिरमा एकाबिहानैदेखि शिवलिङ्ग दर्शन गर्ने श्रद्घालुहरुको भीड लागेको छ । पूर्व–पश्चिम राजमार्गको टुटेश्वरचोकबाट आठ किमी जङ्गलक्षेत्र छिचोलेर पुग्नुपर्ने टुटेश्वरनाथ महादेव मन्दिरसम्मको दूरीबीच मेलाको पहिलो दिन नै आज हजारौँ श्रद्घालु पैदलयात्री बोलबम भन्दै हिँडेका देखिएका छन् ।

यसैगरी जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथ महादेव, सिद्घपुरस्थित सिद्घनाथ महादेव, मगरथानास्थित मङ्गलनाथ महादेव र गैढाभेटपुरस्थित धश्नेश्वर महादेव मन्दिर परिसरमा हजाराँै श्रद्घालुको भीड देखिएको छ ।

यसपालि सौरमास र चन्द्रमासको गणनामा दुई÷तीन दिनमात्र फरक पर्ने भएकाले साउने मेला सौरमासको साउनभरिमात्र रहने भएको छ । साउन पूर्णिमा भदौ २ गते पुगे पनि सोमबार भने त्यसअघि नै सकिने भएकाले यसपालि बोलबम मेला साउन ३१ गतेको अन्तिम सोमबारमै सकिने मिथिला संस्कृति र परम्पराका जानकार जलेश्वर–७ का मनोहरनाथ पाठकले बताउनुभयो । चन्द्रमासले पर्सि बुधबार सुरु हुने भए पनि सौरमासले साउन सुरु भइसकेकाले आज पहिलो सोमबारी मेला सुरु भएको हो ।

साउन महिना र त्यसमा पनि सोमबारचाहिँ भगवान् शिवको मन पर्ने दिन भएकाले यो महिनाभरिका सोमबार शिव आराधना गरेर शिवालय दर्शन गर्न जाने मिथिला संस्कृतिको अङ्ग नै बनिसकेको छ । शिवपुराण र मिथिला महात्म्यमा साउन महिनाका सोमबार शिवको आराधना गर्दै शिवलिङ्गमा फलपूmल चढाउनाले पाप नाश भई मनोवाञ्छित फल पाइने र देहत्यागपछि शिवलोकमा ठाउँ मिल्ने वर्णन रहेकाले शिवालयमा साउने मेला लाग्ने गरेको मिथिला संस्कृतिका जानकार बताउँछन् ।


Facebook Comment


No ads found for this position