बाढी पहिरोले सौराहामा राप्ती किनारका होटल र रेस्टुराँको नामोनिशाना मेटिए

साउन, चितवन । पर्यटकीय गन्तव्य सौराहा शुक्रबार र शनिबारको बाढीबाट अस्तव्यस्त बन्यो । खासगरी राप्ती किनारका होटल र रेस्टुराँको नामोनिशाना मेटिए ।बाढी पहिरोले सौराहामा साढे १३ करोड रुपैयाा बराबरको क्षति पुर्‍याएको छ ।

सधैंजसो स्वदेश र विदेशका पर्यटकहरुले क्रीडा गर्ने र रमाउने सौराहामा यसपटक प्रकृतिदेवीले आफैं जलक्रीडा गरेर ताण्डव नृत्य नाचिन् ।एकसिंगे गैंडाको बासस्थान चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सौराहा जंगल सफारीका लागि मुलुककै उत्कृष्ट गन्तव्य मानिन्छ । दुई दिनसम्म बाढीको कहर बेहोरेपछि अहिले यो स्थान विस्तारै तंग्रिने प्रयासमा लागेको छ ।

मंगलबार सञ्चारकर्मीहरुको टोली सौराहामा पुग्दा होटलका सञ्चालकहरु दिनभर सरसफाइमा जुटेका देखिन्थे । बैंकहरुका स्थानीय शाखाका कर्मचारीहरु पानीले भिजेका कागजात सुकाउन व्यस्त देखिन्थे ।

होटलका तल्ला कोठामा तीन फिटसम्म पानी जमेको थियो । जमिनबाट त्यहाँसम्म करिब ६ फिटसम्म पानी जमेको थियो ।

 

सधैं सफा देखिने बजार क्षेत्रलाई राप्ती र त्यसका सहायक नदीमा बढेको जल सतह पसेर तहस नहस बनायो । बाढीले करोडौं लगानीका होटलहरुमा लाखौं क्षती पुर्‍याएको छ । ११० वटामध्ये अधिकांश होटलका तल्ला तलाका कोठाहरुमा हिलो र लेदोले भरिएका छन् ।

बाढीले अधिकांश स्थानको कालोपत्रे उक्काइदिएको छ, जसको पुनर्निर्माण थालिएको छ । बाढीले बगाएका सवारी साधन यत्रतत्र देखिन्छन् । बिजुली र सौर्य ऊर्जा जडित पोलहरु ढलेका छन् ।

 

राप्ती नदी स्थानीय बासिन्दाका लागि पर्यटकबाट आम्दानी गर्ने माध्यम बन्दै आएको थियो । सोही नदीमा आएको बाढी उनीहरूका लागि अभिशाप बन्यो ।

‘बाढीको पूर्वजानकारी थियो तर पर्यटकहरु सम्हाल्ने कि होटलका सामान बचाउने भन्ने सोच्न पनि भ्याइएन,’ दी राइनो रेसिडेन्सी रिसोर्टका प्रवन्धक हेम गुरूङले भने ।

भूकम्प, नाकाबन्दी र नारायणगढ-मुग्लिन सडकको दुरवस्थाका कारण धक्का बेहोर्दै आएको सौराहाको पर्यटन व्यवसायलाई बाढी, डुबान र कटानले झनै पीडा थपिदिएको छ ।

‘पब’ क्षेत्र खण्डहर

राप्ती किनार (पब क्षेत्र) मा बसेर सूर्योदय र सूर्यास्त हेर्न पर्यटकहरु मोहित हुने गर्छन् । पारिपट्टि निकुञ्ज क्षेत्रमा चरिरहेका हरिण, मृग, चराचुरुंगी र पानी पिउन आउने एकसिंगे गैंडा हेर्दै उनीहरु लठ्ठिन्छन् । अहिले उक्त तटीय क्षेत्र नै खण्डहर बनेको छ ।

स्थानीय रेस्टुराँ तथा बार एसोसिएन (रेबान) सौराहाका वरिष्ठ उपाध्यक्षसमेत रहेका दीपक खतिवडाको ८० लाख लगानीको रेस्टुराँ पूर्ण रुपमा नष्ट भएको छ । ‘अब पहिलेको अवस्थामा फर्काउन ५० लाख रुपैयाँ आवश्यक हुन्छ,’ उनले भने । उनका अनुसार चितवनभरका होटल तथा रेष्टुरेन्टहरूमा १५ करोड बराबरको क्षति भएको छ । सौराहामा मात्रै १३ करोड ५० लाख रूपैयाँ बराबरको क्षति भएको छ । बाँकी क्षति पटिहानी, जगतपुर, मेघौली लगायत क्षेत्रमा परेको हो ।

रेबानअन्तर्गत् सौराहामा ५२ वटा रेस्टुराँ छन् । तीमध्ये अधिकांश बाढी र डुबानको चपेटामा छन् । ठूला होटलछेउका रेस्टुराँमा कम क्षति देखिएको छ ।

 

साना व्यवसायीको ठूलो क्षति

सौराहामा सानो आकारको पर्यटन व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुको करिब तीन करोडको क्षति भएको छ । संघका संस्थापक अध्यक्ष पूर्ण रिजालका अनुसार स्थानीय चोक र चौतारामा बसेर व्यवसाय गर्नेहरुका लागि उक्त रकम धेरै ठूलो हो ।

सौराहामा यस्ता व्यवसायी करीब सय जना छन् । बाढीका कारण पसलमा राखिएका सामान नष्ट भएका छन् । अधिकांशका फ्रिज, जेनेरेटर, पर्यटकले चिनोका रुपमा किन्ने गैंडा र हात्तीका कलाकृति नष्ट भएका छन् ।

‘फेकवा’ मास्दा आफैंलाई सास्ती

सौराहामा पछिल्ला दिनमा होटल खोल्ने क्रम तीव्र थियो । सोही कारण अनियन्त्रित प्लटिङ बढेको थियो । ढलहरुलाई समेत दलालहरुले चेपेर घडेरी बनाएका कारण पानीको स्वाभाविक निकास अवरुद्ध बनेको थियो ।

स्थानीय थारु भाषामा पानीको निकासलाई ‘फेकवा’ भनिन्छ । त्यस्ता फेकवा मिचेर भवन र पर्खाल लगाइएका कारण यसपटक बाढीको वितण्डा भोग्नुपरेको स्थानीय बासिन्दाको बुझाइ छ ।

प्रकृतिमाथि मानिसको हस्तक्षेप नै विपत्ति र विनासको प्रमुख कारण बनेको स्थानीय व्यवसायी पूर्ण रिजाल बताउँछन् । उनी भन्छन्, ‘यो क्षति र डुबान स्वाभाविक हो । किनकि हामीले जे रोप्यौं, आज त्यही फल्यो ।’

अधिकांश होटलले अग्ला पर्खाल ठड्याएका छन् । राप्तीबाट बाहिरिएको पानीलाई तिनै पर्खालले छेकेका कारण बजार क्षेत्र तालमा परिणत भएको हो ।

क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष गिरीधारी चौधरी पनि उक्त तथ्य स्वीकार्छन् । भन्छन्, ‘चारैतिरबाट पानी भित्रिने बाटो त भयो तर निकास भएन । राप्तीले पूर्वबाट पेल्यो भने पश्चिमबाट बूढी राप्तीले । मारमा पर्‍यौं हामी ।’

‘सुरक्षित छ, घुम्न आउनोस्’

बाढीको वितण्डाले सौराहा ध्वस्त नभएको व्यवशायीको बताउँछन् । केही होटल सञ्चालन भइसकेको र केही साताभित्रै पूर्ण क्षमतामा चल्न थाल्ने क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेको भनाइ छ ।

‘बाढीका बेला हात्तीमार्फत् करिब ६ सय पर्यटकलाई सुरक्षित स्थानमा पुर्‍यायौं । अब विस्तारै सामान्य अवस्थामा सौराहालाई फर्काउने प्रयासमा छौं,’ घिमिरे भन्छन्, ‘सौराहा सुरक्षित छ, घुम्न आउनोस् ।’

संघका पूर्वअध्यक्ष चौधरीको भनाइमा होटलका माथिल्ला तलामा केही भएको छैन । होटल ट्राभलर जंगल क्याम्पका सञ्चालक रामप्रसाद रिजालका अनुसार विस्तारै पर्यटकहरुको चहलपहल देखिन थालेको छ । उनी भन्छन्, ‘हामी पीडा बिर्सिएर पर्यटकको स्वागतमा जुटेका छौं । केही अभाव हुन दिँदैनौं ।’

सेप्टेम्बर र अक्टोबर सौराहाको मुख्य पर्यटकीय ‘सिजन’ हो । केही होटलले उक्त सिजनको ‘बुकिङ’ पनि थालेका छन् । घिमिरे भन्छन्, ‘हामी धेरै पछाडि धकेलिएका छैनौं ।’

व्यवसायीहरु राज्यसँग राहत नलिने पक्षमा देखिन्छन् । राज्यले अभिभावकीय भुमिका निर्वाह गरिदिए पुग्ने उनीहरूको भनाइ छ । बाढीले अधिकांशका भ्याट बिल लगायत कागजात नष्ट भएका कारण आगामी दिनमा प्रशासकीय झण्झट हटाउन राज्यबाट साथ पाइने आशामा छन्, उनीहरु ।

पर्यटकीय नगरी सौराहामा वार्षिक १ लाख ६० हजार पर्यटक घुम्न आउने गर्दछन् ।


Facebook Comment


No ads found for this position