बाढीमा बगेका गैंडा नेपाल फर्किए

बाढीमा बगेका गैंडा नेपाल फर्किए

अबिरल बर्षा पछिको बाढीले बगाएर भारतिय वस्ति पुर्याएको एउटा पोथि गैंडा शुक्रवार बिहान चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार वाल्मीकि नगरबाट ४२ किलोमिटर दक्षिणपूर्व बगाहा भन्ने भारतीय गाउँमा पुगेको अन्दाजी दुई वर्षको गैंडा निकुञ्ज ल्याएर छाडिएको हो । नदीले बगाएर लगेपछि त्यहाँ उत्रिएको सो गैंडालाई तीन दिन देखि नेपाल ल्याउने प्रयास गरिएको थियो । भारतिय अधिकारीहरु संगको समन्वयमा बिहिबार डार्ट (बन्दुकबाट लठ्याउने सुई लगाएर ) नेपाल ल्याईएको हो । चितवन राष्ट्रिय निकुञ्ज र प्रकृति संरक्षण कोषका प्राबिधिकहरुले स्थानान्तरणका समयमा अपनाउने प्रकृया पुरा गरेर गैंडा बेहोस बनाई खोरमा राखेर ट्रकबाट ल्याएका हुन । राति १० बजे नेपाल छिरेको सो गैंडालाई शुक्रवार बिहान सौराहा ल्याईपुर्याईएको हो । बिहान निकुञ्जको सौराहामा रहेको कार्यालय नजिकैबाट निकुञ्जमा छाडिएको अर्यालले बताउनु भयो । बाढीले बगाएको भए पनि सो गैंडाको शरीरमा घाउ चोट नरहेको र स्वस्थ भएको प्राबिधिक टोलिले जनाएको छ । बाढीले अर्काे एक गैंडा भारतकै वाल्मीकि नगरमा पु¥याएको छ । त्यसैगरी नवलपरासीको नर्सही भन्ने ठाउँमा एउटा, त्रिवेणी मध्यवर्ती सामुदायिक वनमा एउटा र वाल्मीकि आश्रममा एउटा गैंडा भेटिएका छन् । यी गैंडाहरु जंगलमा रहेकाले पानीको मात्रा घटेपछि उद्धार गरी निकुञ्जमा ल्याईने उहाँले बताउनुभयो । ती गैंडाको सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ । राप्ती र नारायणीको बाढीले अरु धेरै जनावर बगाएको र मरेको अनुमान गरिएको छ । यद्यपी पहिलो चरणमा दुर्लभ वन्यजन्तुको खोजीलाई तीब्रता दिईएको छ । हालसम्म पहिचान भएका मध्ये एउटा गैंडा मृत भेटिएको थियो ।

 

 

 

 


Facebook Comment


No ads found for this position