फस्टाउँदै पर्यटन , बाह्य र आन्तरिक दुवै पर्यटकको संख्या बढे

याेगेश ढकाल

नेपालमा पर्यटकीय गतिविधि र आर्थिक आम्दानीमा वृद्धि हुन थालेको छ । बाह्य र आन्तरिक दुवै पर्यटकको संख्या बढेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष ०७३/७४ मा ९ लाख पर्यटकबाट करिब ५८ अर्ब ५२ करोड रुपैयाँ आम्दानी भएको छ । ०७४/७५ को जेठसम्मको हिसाबमा ६३ अर्ब रुपैयाँ आम्दानी भएको छ । ०७४ मा ५० लाख आन्तरिक पर्यटक नेपालभित्रै घुमघाम गरेको अनुमान छ । ५० लाख आन्तरिक पर्यटकबाट २५ अर्ब रुपैयाँबराबरको आर्थिक गतिविधि भएको विश्लेषण छ ।

२०१८ मा बढिरहेका छन् विदेशी पर्यटक
२०१८ लागेपछि ५ लाख २० हजार १४ विदेशी पर्यटक नेपाल भ्रमणमा आइसकेका छ । जनवरीदेखि मार्चसम्म २ लाख ८७ हजार ३ सय ८० पर्यटक नेपाल भित्रिएको तथ्यांक छ ।

जबकि २०१७ को यही अवधिमा २ लाख ५२ हजार ९ सय ८४ जना नेपाल घुम्न आएका थिए ।

त्यसैगरी, अप्रिल २०१७ मा ८८ हजार ५ सय ९१ जना विदेशी पर्यटक नेपाल आएकोमा अप्रिल २०१८ मा ९८ हजार ६ सय ५० जना भित्रिएका थिए । मेमा पनि अघिल्लो वर्षभन्दा बढी भित्रिएका छन् ।

मे २०१७ मा ६२ हजार ७ सय ७३ पर्यटक आएकामा मे २०१८ मा बढेर ६८ हजार ८ सय २५ जना पुगेका छन् । र जुन महिनाको तथ्यांकमा पनि २०१७ मा ५५ हजार ९ सय ५६ जना आएकोमा २०१८ मा ६५ हजार १ सय ५९ आएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष हरेक महिना नेपाल आउने विदेशी पर्यटकको संख्या बढी छ ।

गत वर्षको ११ महिनामा विदेशी पर्यटकबाट ६३ अर्ब आम्दानी
नेपालमा विदेशी पर्यटकबाट गत वर्ष ११ महिनामा करिब ६३ अर्ब रुपैयाँ आम्दानी भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष ०७४/७५ को जेठसम्म ६२ अर्ब ५७ करोड पर्यटन क्षेत्रबाट आम्दानी भएको छ । असारको तथ्यांक आइसकेको छैन । ०७३/७४ मा ५८ अर्ब ५२ करोड ७० लाख रुपैयाँ विदेशी पर्यटकबाट आम्दानी भएको थियो । ०७३/७४ भन्दा ०७४/७५ को ११ महिनामा विदेशी पर्यटकबाट भएको आम्दानी ४ अर्ब रुपैयाँले बढी छ ।

५० लाख नेपाली घुम्छन्
आन्तरिक पर्यटनको माहोल पनि निकै बढेको छ । नेपालीलाई घुम्न प्रेरित गर्न ०७३ लाई नेपाल पर्यटन बोर्डले घुमफिर वर्षका रूपमा मनाएको थियो । नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीका अनुसार विभिन्न सेवाप्रदायक तथा सञ्चारमाध्यमा आएको तथ्यांक विश्लेषण गर्दा ०७३ मा करिब ४० लाख नेपाली घुम्न निस्केका थिए ।

‘नेपाली घुम्न निस्कँदा रेकर्ड राख्ने व्यवस्था नभएका कारण यकिन तथ्यांक भन्न सकिन्न, तर सेवाप्रदायकहरूको छलफलअनुसार ४० लाख नेपाली घुम्न निस्केका थिए,’ सिइओ जोशीले नयाँ पत्रिकासँग भने, ‘गत वर्षभन्दा ०७४ मा घुम्नेको संख्या बढेकाले आन्तरिक पर्यटक करिब ५० लाख पुगेको अनुमान छ ।’ कर्णाली प्रदेश सरकारले आयोजना गरेको एक कार्यक्रममा क्षेत्रीय विकासविज्ञ योगेन्द्र शाहीले प्रस्तुत गरेको तथ्यांकअनुसार दुई वर्षपहिला करिब २० हजार नेपाली रारा घुम्न पुगेका थिए । गत वर्ष यो संख्या बढेर ६० हजार पुगेको थियो ।

नेपालीले मात्रै करिब २५ अर्ब खर्चिन्छन्
नेपालीले खानपिनमा बढी खर्च गर्ने गरेको देखिएको छ । सेवाप्रदायक होटेल व्यवसायीका अनुसार विदेशी पर्यटक घुमफिर गर्ने, सूचना लिने गतिविधिमा बढी खर्चिन्छन् भने नेपालीहरू खानपिनमा खर्चिन्छन् । त्यसरी हेर्दा ५० लाख नेपाली घुम्न निस्कँदा औसतमा एकजनाले पाँच हजार रुपैयाँ खर्चिंदा पनि वर्षमा करिब २५ अर्ब रुपैयाँ खर्च हुन्छ । अहिले नेपालीहरू सर्ट हाइकिङका पनि सोखिन बनेका छन् । लामो दूरीको पदयात्राभन्दा पनि होमस्टेमा जाने, चितवन, पोखरा, लुम्बिनी, काठमाडौं उपत्यकाआसपासका हाइकिङ क्षेत्रमा बढी घुम्न निस्कन्छन् ।

खर्च दर पनि बढ्दै
२०१६ मा आएका विदेशी पर्यटकले गरेको दैनिक खर्चभन्दा २०१७ मा आएका विदेश पर्यटकले गरेको खर्च दर बढेको छ । २०१६ मा प्रतिदिन औसत ५३ डलर खर्च गर्ने गरेका थिए भने २०१७ मा औसत ५४ डलर प्रतिदिन खर्च गरेको तथ्यांक छ । तर, यस अवधिमा विदेशी पर्यटक नेपालमा बस्ने दिन भने घटेको छ । २०१६ मा औसत १३.४ दिन थियो भने २०१७ मा १२.६ दिन बसाइ अवधि छ ।

बढ्दै छन् पर्यटन गतिविधि
नेपाल पर्यटन वर्ष २०२० : सरकारले २०२० लाई नेपाल पर्यटन वर्ष घोषणा गरेको छ । २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ । त्यसका लागि पर्यटन पूर्वाधारको विकास, गुणस्तरीय सेवा, जनशक्ति उत्पादन तथा ‘अल सिजन पर्यटन’का लागि काम गर्न थालेको छ ।

रारा–कर्णाली वर्ष : कर्णाली प्रदेशले ०७५ लाई रारा–कर्णाली पर्यटन वर्षका रूपमा मनाउँदै छ । रारा तालको किनारामा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बसेर पर्यटन वर्ष घोषणा गरेको थियो । कर्णाली प्रदेशलाई पर्यटनमार्फत विकास गर्न प्रदेशका पर्यटकीय गन्तव्यको प्रसारप्रसार लागेको छ ।

सय नयाँ गन्तव्य : सरकारले देशभरका सयवटा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरी प्रचारप्रसार गर्न लागेको छ । त्यसका लागि नेपाल पर्यटन बोर्डले काम सुरु गरिसकेको छ । बोर्डले सूचना प्रकाशन गरी आफ्नो क्षेत्रका पर्यटकीय गन्तव्यबारे जानकारी गराउन भनेको छ । एउटा प्रदेशबाट कम्तीमा १० वटा पर्यटकीय गन्तव्य पर्ने गरी पहिचान गर्न लागिएको छ ।

एक प्रदेश एक पर्यटकीय गन्तव्य : हरेक प्रदेशमा एउटा पर्यटकीय गन्तव्यको पहिचान गरी प्रचारप्रसार गर्ने योजना छ । त्यसरी छनोट गरेका पर्यटकीय गन्तव्यमा प्रदेश १ मा इलामको सन्दकपुर, प्रदेश २ को जनकपुरको धनुषाधाम, प्रदेश ३ को इन्द्रसरोवर, गण्डकी प्रदेशको पन्चासे, प्रदेश ५ को कपिलवस्तुको निग्लिहवा, कर्णाली प्रदेशको रारा र प्रदेश ७ को भादागाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न खोजेको छ ।

हिमालयन ट्राभल मार्ट : नेपालको दोस्रो हिमालय ट्राभल मार्ट काठमाडौंमा सम्पन्न भयो । गत वर्षबाट हिमालयन ट्राभल मार्ट सुरु भएको हो । यो अहिलेसम्म नेपालमा भएका ठूलो मार्टमध्ये एक हो । १ देखि ४ जुनसम्म भएको यो मार्टमा ५६ भन्दा बढी देशबाट टुर अपरेटर सहभागी थिए । नेपाल पर्यटन बोर्ड र पाटा च्याप्टर नेपालले सयुक्त रूपमा आयोजना गरेका थिए ।

२१ घन्टा विमानस्थल सञ्चालनमा : अहिले नेपालको अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सञ्चालनमा छ । यसले अन्तर्राष्ट्रिय उडानको संख्यामा वृद्धि र सहजता बढेको छ ।

नेपाल वायुसेवाको फड्को : नेपाल वायुसेवा निगमले हालै दुईवटा वाइडबडीको जहाज ल्याएको छ । र उसले अन्तर्राष्ट्रिय उडानको संख्या बढाएको छ । त्यसले गर्दा एकातिर विदेशी विमान कम्पनीले गर्ने आम्दानी स्वदेशी कम्पनीमा आउनेछ भने विदेशी पर्यटकको संख्या वृद्धि गर्न पनि सहयोग हुनेछ ।

सहुलियत हवाई भाडा : अहिले अन्तर्राष्ट्रिय विमान कम्पनीको प्रतिस्पर्धाका कारण हवाई कम्पनीहरूले भाडादर पनि घटाउन थालेका छन् । कम्पनीहरूको प्रतिस्पर्धाका कारण अहिले नेपाल–थाइल्यान्ड–नेपालको हवाईभाडा १८ हजार रुपैयाँसम्म झरेको छ ।

बढ्दो अन्तर्राष्ट्रिय उडान : काठमाडौं अन्तर्राष्ट्रिय हवाई उडानको संख्या गत वर्षभन्दा बढेको छ । गत वर्ष २९ वटा वटा एयरलाइन्सले त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्थे भने अहिले ३० वटा विमान कम्पनीले उडान थालेका छन् । औसतमा दैनिक ४५ वटा उडान भइरहेका छन् । अक्टोबर, नोभेम्बरको सिजनमा उडान संख्या बढ्छ ।

होटेलमा बेड बढ्दै
पर्यटकीय सुविधासहितका होटेलको संख्या बढेको छ । पर्यटन मन्त्रालयको तथ्यांकअनुसार गत वर्षभन्दा १ हजार ६ सय ६१ बेड बढेको छ । अघिल्लो वर्ष ३९ हजार १ सय २० बेड थिए । अहिले यो संख्या बढेर ४० हजार ७ सय ८१ बेड संख्या पुगेको हो ।

प्रचारप्रसारका लागि एक हजार विदेशीलाई नेपाल घुमाउँदै
नेपाल पर्यटन वर्ष २०२० को प्रचारप्रसारका लागि करिब १ हजार विदेशीलाई बोर्डको निमन्त्रणमा घुमाउन लागिएको छ । विदेशी टुर अपरेटर, सञ्चारकर्मी, ब्लगरलगायतलाई नेपाल भ्रमण गराउने योजना छ । नेपाल पर्यटन बोर्डका अनुसार नेपालको पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश प्रवाह गराउने उद्देश्यले उनीहरूलाई नेपाल भ्रमण गराउन लागिएको हो ।

अब डिजिटल मार्केटिङ
नेपाल पर्यटन बोर्डले विदेशी पर्यटकका लागि डिजिटल मार्केटिङको अभ्यास गर्न लागेको छ । सोसल मिडिया तथा अन्य डिजिटल प्रविधिको उपयोग गरी प्रचारप्रसार गर्नं लागिएको नेपाल पर्यटन बोर्ड जनसम्र्पक तथा प्रचारप्रसार महाशाखाकी वरिष्ठ अधिकृत अर्चना केसीले बताइन् । बोर्डले चिनियाँ भाषाको बेवसाइट सञ्चालनमा ल्याइसकेको छ र अब फ्रेन्च, जर्मन, जापानिज, कोरियन, रसियन तथ स्पेनिस भाषाको छुट्टाछुट्टै वेबसाइट सञ्चालनमा ल्याई प्रचारप्रसार गरिने केसीले बताइन् ।

१० हजार जनशक्तिलाई तालिम
२०२० को पर्यटन वर्षका लागि लक्षित गरी १० हजार जनशक्तिलाई तालिम दिने तयारी भइरहेको छ । बोर्ड सिइओ दीपकराज जोशीका अनुसार पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि उनीहरूलाई तालिम दिन लागिएको हो ।

अल सिजनको प्रवद्र्धन प्रयास
नेपालको पर्यटन सिजनल भएको भन्दै अब अल सिजन पर्यटकीय गन्तव्यको विकास गर्ने प्रयास भइहरेको छ । नेपालको मुख्य पर्यटनको सिजन अक्टोबर र नोभेम्बर हो । समर सिजनमा दक्षिण एसिया केन्द्रित गरेर नेपाका गन्तव्यको प्रवद्र्धन गर्ने प्रयास भइरहेको बोर्डका सिइओ जोशीले बताए । त्यसैगरी, मनसुन सिजनमा युरोपका केही देशलाई केन्द्रित गरेर प्रचारप्रसार गर्ने योजना सुनाए । यो सिजनमा इटाली र स्पेनमा बिदा हुने गर्छ । साथै, जाडो सिजनमा भने चीनलाई केन्द्रित गरी प्रचार गर्ने योजना बनाइँदै छ । यो मौसममा चीनमा दुई हप्ता बिदा हुन्छ ।

कम्तीमा ९ लाखलाई रोजगारी

सामान्यतः एकजना विदेशी पर्यटकले एकजनालाई प्रत्यक्ष रोजगारी दिन्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । त्यस आधारमा हेर्दा गत वर्ष नौ लाख विदेशी पर्यटक आउँदा नेपालमा नौ लाख रोजगारी सिर्जना भएको थियो । सन् २०१८ को जुनसम्म आएका करिब पाँच लाख विदेशी पर्यटकबाट करिब पाँच लाखले रोजगारी पाएका छन् ।

प्रत्यक्ष रूपमा एकजनाले रोजगारी पाएजस्तै अप्रत्यक्ष रूपमा पनि प्रशस्त रोजागरी सिर्जना हुने पर्यटनमन्त्री रवीन्द्र अधिकारीका सल्लाहकार लक्ष्मण गौतमले बताए । उनका अनुसार एकजना पर्यटकबाट एयरलाइन्स, सरकारी राजस्व, गाडी÷बस, होटेल, रेस्टुरेन्टलगायत थुप्रै क्षेत्रमा संलग्नको आम्दानी र रोजगारीसँग जोडिएको छ ।साभार नयाँपत्रीका


Facebook Comment


No ads found for this position