प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति दुर्भाग्यपूर्णः खुमबहादुर

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

khumbahadur-khadkaविगतमा कांग्रेसका नेता तथा कार्यकर्ताको हत्या र सम्पति लुटपाटमा संलग्न पार्टीका अध्यक्षलाई प्रधानमन्त्री बनाउने सहमतिले पार्टीलाई भविष्यमा अझै कमजोर बनाउने उनले बताए । नेपाल विद्यार्थी संघका नेता शुभराम बस्नेतको समूहले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा खड्काले प्रचण्डको नेतृत्वमा सत्तामा जाँदा कांग्रेसलाई नोक्सान हुने बताए ।

माओवादीसँगको सहमति तत्कालका लागि सत्तामा जाने भर्‍याङ बनेपनि भविष्यमा काँग्रेसलाई अन्य दलबाट एक्ल्याउने खड्काको भनाइ छ । कांग्रेस नेता खड्काले वीपीको विचारको वकालत गर्ने पार्टी आफ्नो विचार छोडेर माओवादीको पुच्छर बन्न लागेको भन्दै यसले पार्टी खिइएर जाने दाबी गरे ।

खड्काले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाए । १३ औं महाधिवेशनमा देउवालाई सभापति जिताउन सहयोग गरेका खड्काले सहमति अनुसार पद नदिएको असन्तुष्ट उनले प्रजातन्त्रको वकालत गर्ने पार्टी अप्रजातान्त्रिक तवरमा संचालन भइरहेको र यसले धेरै कार्यकर्तामा निराशा छाएको बताए ।

कांग्रेस नेता खड्काले युरोपियन युनियन र अन्य विदेशी संस्थाको दवाब र प्रभावमा संविधानमा धर्मनिरपेक्षताको व्यवस्था गरिएको भन्दै कांग्रेसले मुलुकलाई हिन्दु राज्य कायम गर्न भूमिका खेल्नुपर्ने धारणा राखेका छन् ।


Facebook Comment


No ads found for this position