पोखरा विमानस्थल निर्माणको काम सुरू

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चिनियाँ निर्माण कम्पनीले काम थालेको छ। कामदानका लागि बस्ने आवास निमार्ण गर्न तीन महिना पहिलेबाट थालेको काम्पनीले पोखरा विमानस्थल निर्माण काम आइतबारदेखि थालेको हो।

आइतबारदेखि डोजर, एक्साभेटर, लोडर र ट्रिपर लगायत उपकरण विमानस्थल निर्माणका लागि प्रयोग भएका छन्। चिनियाँ संस्कृतिअनुसारको पूजा गरी ती उपकरण र मजदुरलाई जमिन सम्याउन खटाएको जानकारी ठेकेदार कम्पनीका तर्फबाट पोखरा विमानस्थल परियोजनाका प्रमुख जेरी याङले दिए।

पोखरा विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रदीप अधिकारीले चिनियाँ पूजापछि निर्माणको उद्घाटन गरेका थिए । याङका अनुसार दर्जनभन्दा बढी उपकरण र सय मजदुर फिल्डमा खटिएका छन्। ५० भन्दा बढी उपकरण काममा लगाउने उनले सुनाए। मजदुरीमा अधिकांश नेपाली खटिएको पनि उनले बताए । ‘हिउँदयामसम्ममा जमिन सम्याएर भ्याउने हो,’ उनले भने ।

चीन सरकारसँग ऋण सम्झौता लगायतका प्रक्रिया पूरा भएपछि निर्माण थाल्न याङ नेतृत्वको चिनियाँ टोली गएको साउनदेखि पोखरा आएको थियो। आएलगत्तै कर्मचारीका लागि आवास र कार्यालयका प्रयोजनको अस्थायी भवन निर्माणमा टोली जुटेको थियो। उक्त काम पूरा भएलगत्तै ठेकेदार कम्पनीले विमानस्थलको मुख्य कामतिर पाइला सारेको हो। ‘नेपाल सरकारले पूरा गर्नुपर्ने केही प्रक्रिया त बाँकी नै छन्,’ याङले भने, ‘पूर्वाधार निर्माणको मुख्य काम सुरु गर्ने तयारी स्वरुप जमिन सम्याउन सुरु गरेका हौं ।’

चीन सरकारको अनुदानसमेत रहेको परियोजना भएको हुँदा आफूहरु गम्भीर भएर निर्धारित समयमा काम पूरा गर्न दत्तचित्त रहेको साइट म्यानेजर झाङ फेङले सुनाए ।

मुख्य प्रवेशद्वार भएका ठाउँमा नेपाली सैनिक खटाइएको भए पनि  विमानस्थल निर्माणस्थलमा अन्तबाट जोकोही प्रवेश गर्नसक्ने अवस्था छ। तारबार नभएका सबैठाउँमा बार लगाउने र अनावश्यक व्यक्ति प्रवेश रोकेर काम गर्ने ठेकेदार कम्पनीका अधिकारीले बताएका छन्। हिउँदभित्रै जमिन सम्याएर भ्याएपछि अरु पूर्वाधार निर्माणको रुपरेखा बन्ने याङले सुनाए ।

विमानस्थलका लागि आवश्यक जमिनको मुआब्जा वितरण पूरा भएको आयोजना प्रमुख अधिकारीले दिए । केही महिनाअघि ५० रोपनी जमिन अधिग्रहण गरिएको थियो । त्यसअघि ६ सय २९ र ४० वर्षअघि ३१ सय ५० रोपनी जमिन अघिग्रहण भएको हो । विमानस्थल निर्माणका लागि तत्कालीन पञ्चायती सरकारले पोखरा महानगरपालिकाको वडा नं १० र १४ मा ३१ सय ५० रोपनी जमिनि अधिग्रहण गरेको हो ।

चीनबाट उपलब्ध हुने झन्डै २२ अर्ब ऋणको सम्झौता दुई देशका सरकारबीच भएपछि नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरिसकेको छ । ठेक्काको मोडल इपिसी छ । यस अनुसार पनि चिनियाँ ठेकेदार निर्धारित समयमा काम पूरा गर्न बाध्य छ ।


Facebook Comment


No ads found for this position