पुल बनेपछि पाँच घन्टाको बाटो ४५ मिनेटमा छोटियो

बाबियाचौर (म्याग्दी), ९ साउन । म्याग्दीको बैसरीस्थित कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि पाँच घन्टा पैदल हिँड्नुपर्ने बाटो ४५ मिनेटमै छोटिएको छ ।
bridge1_1296371399राम्चे–९ र भगवती–२ को सिमानामा पर्ने बैसरीमा कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि हिस्तानको ७, ८ र ९ मा पर्ने औला र रिमा तथा राम्चे–९ काफलडाँडाका बासिन्दालाई घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको हो ।

२०७२ जेठ १० गते काफलडाँडाको भिरबाट खसेको पहिरोले बैसरीमा रहेका दुई वटा झोलुङ्गे पुल पुरेपछि औला, रिमा र काफलडाँडाका बासिन्दाले सदरमुकाम बेनी आउन जानका लागि घुमाउरो बाटोको प्रयोग गर्दै आएका थिए ।

राम्चेको काफलडाँडा महभिर हँुदै बेनी आउन जान पाँच घन्टा हिँड्नुपर्ने बाटो असार अन्तिम साता बैसरीमा झोलुङ्गे पुल निर्माण भएपछि ४५ मिनेटमा छोटिएको हिस्तान औलाका शिव पुर्जाले बताउनुभयो ।

पुल निर्माण भएपछि बिरामीलाई उपचार गर्न लैजान, दैनिक उपभोग्य सामग्रीको ढुवानी, सरकारी सेवा सुविधा लिन सदरमुकाम आउ जाउ गर्न ५०० घरधुरीलाई सुविधा पुगेको छ । पहिरोले पुल पुरिएपछि हिउँदमा काठको अस्थायी पुल (साघु)बाट खोला वारपार गर्ने स्थानीय बासिन्दालाई बर्खामा नदीमा पानीको सतह बढेपछि घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता थियो ।

बैसरीमा रु ३७ लाख दुई हजार ६४६ को लगानीमा १२० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको जिविसका सवइञ्जिनियर बालकृष्ण पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार जिविसको रु २६ लाख ५८ हजार ८१४, स्वाप कार्यक्रमको रु छ लाख ८७ हजार ८६४, उपभोक्ताको रु दुई लाख ४७ हजार २०० र राम्चे गाविसको रु एक लाख आठ हजार ७६८को लगानीमा पुल निर्माण भएको हो ।


Facebook Comment


No ads found for this position