पुलिस क्लबभित्रै अनसन

काठमाडौँ, ९ साउन । अख्तियार दरुपयोग अनुसन्धान आयोगको कार्यालय नजिक प्रदर्शनमा उत्रिँदा पक्राउ परेका १० जनाले अनसन थालेका छन्। उनीहरूले पक्राउ गरेर राखिएको स्थान नेपाल पुलिस क्लबबाटै अनसन थालेका हुन्। ‘हामीले कुनै निषेधित क्षेत्र तोडेका थिएनौं, झडपको स्थिति थिएन, हामीलाई किन पक्राउ गरियो?’ भन्दै अनसन सुरू भएको प्रदर्शनमा संलग्न अभियन्ता विदुशी ढुंगेलले बताइन्। पक्राउ गर्नुको यथेष्ट कारण नदिई अनसन पनि नछोड्ने र पुलिस क्लब पनि नछोड्ने उनीहरूले अडान लिएको ढुंगेलले बताइन्।आइतबार त्रिवि शिक्षण अस्पतालमा अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीको माग पूरा नभएको र त्यसमा जोडिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग गर्दै टंगालस्थित आयोग पुगेका प्रदर्शनकारीलाई त्यहाँबाट पक्राउ गरी पुलिस क्लब ल्याइएको थियो।
पक्राउ परेकाहरूलाई भेट्न मानवअधिकारवादीलाई पनि दिइएको छैन। पुलिस क्लबमा रहेका इन्टर्न डाक्टर सागर पोखरेलले पक्राउ गर्नुको कारण स्पष्ट खोलेर रिहाई नगरेकाले आफूहरू अनसनमा बसेको बताए। उनका अनुसार प्रदर्शनमा प्रहरीले हस्तक्षेप नगर्ने भनेको थियो, पक्राउ नगर्ने भनेको थियो। ‘तर, पक्राउ गरियो, लाठी हानियो,’ पोखरेलले सेतोपाटीसँग भने, ‘किन प्रहरी दमन भयो, लाठी हानियो? यो सबै स्पष्ट हुनुपर्छ।’


Facebook Comment


No ads found for this position