पाहुनाले भरियो डल्ला होमस्टे

बर्दिया,  पुस : माघीका अवसरमा विश्वसामु परिचित डल्ला होमस्टे (घरबास) भरिएका छ । बेलायतका राजकुमार हयारी, चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य लिवाहुवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत थुप्रै पाहुना सो घरबासमा आइसकेका छन् ।
डल्ला होमस्टे बर्दिया निकुञ्जसँग जोडिएको खाता जैविक मार्गमै छ जहाँ एकसिँगे गँैडा, पाटेबाघ, हात्ती र डोल्फिन एशियाकै ठूलो गजराज हात्ती( ११ फिट ८एन्ची अग्लो), गोही, जरायो, विश्वको दुर्लभ कृष्णसार, ताराताल र बढैयातालका तीन सय प्रकारका माछ, रातो कमल फुल्ने सत्खलुवा ताल अवलोकन गर्न पाइन्छ । पछिल्लो समय राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारी र महाप्रबन्धक ओप्रेन्द्र शर्मा, अन्य पत्रकार एवं कर्मचारीको टोलीले समेत डल्ला घरबासमा पाहुना बनी पर्यटकीय क्षेत्रको अवलोकन गरेको छ ।

माघीका अवसरमा दैनिक हजारौँ आन्तरिक पर्यटक यहाँ आउँछन् । वनभोज खाने आउनेको भीड पनि त्यत्तिकै छ । वन्यजन्तु, थारुहरुको पहिरन, गरगहना, गीत र नृत्य, थारुको जैविक खाना, घरबेटीको मीठो मुस्कानसहित आतिथ्य र सत्कार यहाँको विशेषता हो । घरबासमा माछा, स्थानीय कुखुरा, घोँगी, गँगटा, सुतही, अनदीको रोटी र रक्सी, बयरको अचार, परेवाको मासुलगायत थरिथरिका खाना पाहुनालाई खुवाइन्छ । डल्ला संरक्षित भएपछि निकुञ्जबाट निस्किएका वन्यजन्तु पनि सुरक्षित भररहेको नेकपाका नेता सुरेश पन्थले बताउनुभयो ।

गाउँ प्रवेश गर्नासाथ सडक र वरिपरि फोहोर देखिँदैन । यहाँ दिनहुँँ सरससफाइ चल्छ । घरबासमा बस्ने पाहुनाका लागि थारु समुदायले हुरदुगुवा नाच, लाठी , पैया नाच, मघौता नाच, बर्कीमारा नाचलगायत सास्ँकृतिक कार्यक्रम प्रस्तुत गरिन्छ ।
निकुञ्जको आसपास मधुवन नगरपालिकाको वडा नम्बर १ मा रहेको रमणीय गाउँका युवाहरुले खाता जैविक मार्गमा रहेको सो गाउँको संरक्षण गरेको तर प्रचारप्रसार अभावमा ओझेलमा परेको नगरपालिकाका प्रमुख गणेश केसीले बताउनुभयो ।

नेता पन्थले निकै सस्तो रकममा बास र पर्यटकलाई घुमाउनका लागि गाडीको व्यवस्था रहेको जानकारी दिनुभयो । निकुञ्जका बाघ, चित्तल, जङ्गली हात्ती, गैँडालगायत ३०० प्रकारका जनावरले त्यहाँको बाली खाएर सखाप पारेको गुनासो पनि उहाँले गर्नुभयो । अहिले वन्यजन्तु चोरी शिकार नियन्त्रण गर्न युवाको दस्ताले रातदिन गस्ती गरिरहेको छ । यहाँका संरक्षणकर्मीको सक्रियतामा निकुञ्जको समेत संरक्षणमा थप टेवा पुगेको पन्थले बताउनुभयो ।

घरबासका रुपमा गाउँभरिका प्रायः घर छन् । डल्ला घरबास सञ्चालन समितिका अध्यक्ष तथा १ नं का वडाध्यक्ष परशुराम योगी थारुले अचेल होमस्टे भरिभराउ रहेको बताउनुभयो । माघीमा ठाकुरबाबा मन्दिरको दर्शन गर्न नेपालको पूर्वदेखि पश्चिमसम्मका थारु आउने र बास बस्ने गर्छन् । डल्ला क्षेत्रलाई पर्यटकीय केन्द्रका रुपमा विकसित गर्न नगर मधुवन नगर परिषद्ले चालु आवमा रु दुई लाख बजेट छुट्याएको छ । डल्ला क्षेत्रको विकासका लागि सडक स्तरोन्नति, सौर्यबत्ती, टेलिफोन टावर, इण्टरनेटको आवश्यकता रहेको अध्यक्ष योगीले बताउनुभयो । विश्वमा परिचित डल्लामा देशविदेशका पर्यटक आकर्षण गर्नका लागि पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको मधुवन नगरपालिकाका उपप्रमुख शुभरानी थारुले जानकारी दिनुभयो ।


Facebook Comment


No ads found for this position