पर्यटन सेवा शुल्कका कारण बोर्डको आम्दानी बढ्यो

काठमाडौँ, ८ माघ ” नेपाल आउने पर्यटकको संख्यामा भएको वृद्धिसँगै नेपाल पर्यटन बोर्डको आम्दानीसमेत वृद्धि भएको छ । नेपालका उडान गरिरहेका अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकले पर्यटन सेवा शुल्कबापत बुझाउने रकममा बढोत्तरी भएको हो ।

बोर्डका अनुसार सन् २०१७ मा मात्रै रु ८७ करोड पर्यटन सेवा शुल्कका रुपमा उठेको छ । सन् २०१६ मा त्यस्तो शुल्क रु ५७ करोड मात्रै उठेको थियो ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१७ मा मात्रै करिब नौ लाख ४० हजार ६९३ पर्यटक नेपाल भित्रिएका थिए । त्यसमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटक हवाई माध्यमबाट नेपाल आएका थिए । अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकले सो परिणामको रकम बुझाएका हुन् । तर केही वायु सेवा प्रदायकले भने सोही शुल्कसमेत तिर्न अटेर गरेका छन् ।

नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकले नेपाली र भारतीय नागरिकबाहेक अन्य विदेशी नागरिकसँग प्रतिव्यक्ति रु एक हजारका दरले पर्यटन सेवा शुल्क उठाउने गरिएको छ । आन्तरिक उडान गर्दा विदेशी नागरिकले त्यस्तो शुल्क तिर्नु पर्दैन ।

नेपालमा स्वदेशी दुईसहित ३० वायु सेवा प्रदायकले उडान भर्दै आएका छन् । विमानमा के कति मात्रामा पर्यटक आउँछन् वा जान्छन् सोही आधारमा शुल्कको परिमाण घटी, बढी हुने गरेको पाइएको छ । प्रत्येक महिना वायु सेवा प्रदायकले सो शुल्क बोर्डलाई बुझाउनुपर्छ । वायु सेवा प्रदायकलाई बोर्डले तीन प्रतिशत कमिसन सो शुल्क उठाएबापत प्रदान गर्ने गरेको छ ।

तर उक्त शुल्कको सदुपयोग नभएको भन्दै सरोकार भएका संस्था वा निकायले बोर्डको पारदर्शीतामाथि प्रश्न उठाउने गरेका छन् । बोर्डको प्रमुख आम्दानीका रुपमा उक्त शुल्क रहेको छ । नेपालको पर्यटन प्रवद्र्धनमा सोही शुल्क खर्च गर्ने गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिनुभयो ।

नेपालको पर्यटन प्रवद्र्धनमा ठोस कार्ययोजना ल्याउने हो र विदेशमा प्रचारप्रसार गर्ने हो भने उक्त शुल्कमा समेत थप बढोत्तरी हुने देखिएको छ । पर्यटन पूर्वाधारको विकास र नेपालको मौलिकताको प्रवद्र्धन गर्नेतर्फ ध्यान दिनुपर्ने आवाज उठेको छ ।

बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) मार्फत रकम उठाउँदै आएको छ । समूहमा पदयात्रा गर्दा प्रतिव्यक्ति रु एक हजार र व्यक्तिगत रुपमा जाँदा रु एक हजार शुल्क तिर्नुपर्छ । विसं २०६६ देखि उक्त रकम उठाउन थालिएको हो ।

बोर्डका निमित्त निर्देशक रोहिणी खनालका अनुसार सन् २०१५ मा रु १७ करोड १३ लाख ८४ हजार टिम्स शुल्क उठेको थियो । यस्तै सन् २०१६ मा रु १६ करोड ६४ लाख ३२ हजार उठ्दा सन् २०१७ मा रु १९ करोड ४० लाख ७७ हजार शुल्क उठेको छ । तर ती शुल्कको लेखापरीक्षण भने भइसकेको छैन । पर्यटक सेवा शुल्क र टिम्स नै बोर्डको वार्षिक बजेटको मुख्य स्रोत हो ।

सन् २०१८ का लागि बोर्डले रु एक अर्ब ३७ करोड २० लाख वार्षिक बजेट तय गरेको छ । सन् २०१७ मा रु एक अर्ब १२ करोड ५० लाख बजेट तय गरिएको थियो ।

रु सात करोेडभन्दा बढी बक्यौता

नेपालमा उडान भर्दै आएको मलेसियन वायु सेवा प्रदायक एयर एशियाले रु सात करोड २३ लाख पर्यटक सेवा शुल्कबापतको रकम बोर्डलाई तिर्न बाँकी रहेको पाइएको छ ।

विगत एक वर्षदेखि उक्त वायु सेवा प्रदायकले सो शुल्क नतिरेको बोर्डका निमित्त निर्देशक खनालले जानकारी दिनुभयो । एयर एशियाको उक्त रकम जरिवानासहितको हो ।

तर एयर एशियाका प्रतिनिधि किरण खड्काले हिसाब किताब मिलिसकेको र कहीँ कतै रकम तिर्न बाँकी नरहेको बताउनुभयो । “बाँकी रहेको भए हामी निश्चित समयभित्र तिर्छौं तर बक्यौता रकमबारे बढी हल्ला गरियो”, उहाँले भन्नुभयो ।

बोर्डले बक्यौता रकम तिर्न सो वायु सेवा प्रदायकलाई पटक पटक आग्रह गरिसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सो सेवा प्रदायकले करिब रु १६ करोड रकम तिर्न बाँकी रहेको जनाएको छ । प्राधिकरणको ताकेतापछि एयर एशियाले रु पाँच करोड रकम उपलब्ध गराएको र बाँकी रकम केही समयभित्रै तिर्ने प्रतिबद्धता जनाएको छ ।


Facebook Comment


No ads found for this position