पर्यटक आगमन बढाउने उपाय

२५ वर्षदेखि पर्यटन व्यवसायमा सक्रिय अर्जुनप्रसाद शर्मा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल (नाट्टा)का पूर्वअध्यक्ष हुन् । शिव ट्राभल्स प्रालिका प्रबन्ध निर्देशक शर्माले नाट्टामा आबद्ध भई नेपालको पर्यटन प्रवद्र्धनमा करिब दुई दशक योगदान गरेका छन् । अहिले विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थामा सक्रिय शर्माले प्राकृतिक घटनाकै कारण नेपालजस्ता मुलुकमा पर्यटक आगमन घट्न नहुने तर्क गर्छन् । छिटो व्यवस्थापन गर्न सक्ने हो भने यस्ता घटनालाई पर्यटकीय प्रडक्टका रूपमा बिक्री गर्न सकिने भन्दै उनले सन् २०१७ मा पर्यटक आगमन बढाउने उपाय यसरी उल्लेख गरे : 

 

अर्जुनप्रसाद शर्मा पूर्वअध्यक्ष, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल (नाट्टा)

सञ्चारमाध्यमका शीर्षक सकारात्मक राखौँ कुनै पनि मुलुकको पर्यटनलाई ब्रान्डिङ गर्न सञ्चारमाध्यमले ठूलो योगदान गर्न सक्छ । सञ्चारमाध्यमको प्रभाव एकसाथ ठूलो समूहमा पुग्छ । त्यसकारण हाम्रो सञ्चारमाध्यमका शीर्षक सकारात्मक हुनुपर्छ । हामीले लेख्ने र प्रसारित गर्ने खबरले पर्यटन बजारमा नकारात्मक असर पार्नुहुँदैन । नेपाल पर्यटनमैत्री मुलुक हो । १० वर्षको सशस्त्र द्वन्द्वका समयमा पनि पर्यटन बजारमा नेपालबारे नकारात्मक खबर प्रसारित भएको थिएन । जसले गर्दा पर्यटक आगमन कठिन समयमा पनि धराशयी भएन । कठिन समयमा पनि नडगमगाएको पर्यटन बजार अब निरन्तर अगाडि बढ्नुपर्छ ।

भूकम्पले दिएको अवसर नगुमाऔँ

भूकम्पले विश्व बजारमा नेपालको प्रचार–प्रसारमा ठूलो भूमिका खेलेको छ । हिजो नेपाल भन्ने देश भन्ने थाहा नै नपाएका मानिस र मुलुकसम्म नेपालको प्रचार भएको छ । नेपालले यसलाई अवसरका रूपमा लिनुपर्छ । प्राकृतिक विपत्ति सबै मुलुकमा आउँछन् । विपत्तिबाट पाठ सिक्दै त्यसलाई पर्यटकीय प्रडक्टका रूपमा विकास गर्न सक्नुपर्छ । भूकम्पले पनि नेपाललाई धेरै अवसर सिर्जना गरिदिएको छ । एक त यसले नेपालको प्रचार बढाइदिएको छ भने अर्कोतर्फ एकसाथ नयाँ गन्तव्य विकासको सम्भावना पनि खोलिदिएको छ । नेपालको पर्यटन प्रकृतिमा आधारित छ । यो साहसिक पर्यटनसँग बढी नजिक हुन्छ । त्यसैले नेपाललाई अहिले वार्षिक ३०-३५ प्रतिशत पर्यटक आगमन बढाउन खास समस्या छैन ।

नयाँ स्थानबाट पर्यटक भित्राऔँ

पर्यटन बजारका लागि मध्यपूर्वी एसियाका मुलुक अहिले निकै ठूलो स्रोतका रूपमा विकास भइरहेको छ । नेपालले यी मुलुकबाट पर्यटक भित्राउन सकेको छैन । नेपालमा आज जति पर्यटक आएका छन्, ती सबै परम्परागत गन्तव्यबाटै आएका हुन् । हामीले गर्ने अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका कार्यक्रम अब नयाँ स्थानतर्फ मोड्नुपर्छ । आजसम्म पर्यटन प्रवद्र्धनको काममा निजी क्षेत्रले नै ठूलो योगदान गरिरहेको छ । यस वर्ष पनि निजी क्षेत्रले थप गन्तव्यबाट पर्यटक आगमन बढाउनेतर्फ लाग्नुपर्छ । यसका लागि मध्यपूर्वी एसियाका मुलुक सबैभन्दा आकर्षक बन्न सक्छन् । यी गन्तव्यबाट खर्चालु पर्यटक ल्याउन सकिन्छ ।

चिनियाँ बजारलाई प्राथमिकता दिउँ

नेपालको पर्यटनमा अब चीन र भारतलाई अलग गरेर अन्य विकल्पमा जान सक्ने अवस्था छैन । त्यसमा पनि चीनबाट हामीले निकै ठूलो लाभ लिन सक्छौँ । आज विश्वभर घुम्ने पर्यटकमध्ये ठूलो हिस्सा चिनियाँ नागरिकको छ । पछिल्लो समय नेपालको पर्यटन प्रवद्र्धनमा चीनले सहयोग गर्ने समाचार आइरहेका छन् । अहिले चीनस्थित नेपाली दूतावासले पनि चिनियाँ पर्यटक नेपाल पठाउने गरी सक्रियता देखाएको छ । अब हामीले चीनमा आकर्षक प्याकेज बिक्री गर्दै उनीहरूलाई नेपाल आकर्षित गर्ने वातावरण बनाउनुपर्छ । हाम्रो पर्यटकीय उत्पादनका लागि चीन सहज र आकर्षक मार्केट पनि हो । किनकि छोटो दूरीमै उनीहरूले आकर्षक गन्तव्य प्राप्त गर्न सक्छन् ।

सित्तैमा भएको मार्केटिङबाट लाभ उठाऔँ

अमेरिका, बेलायत, अस्ट्रेलियाजस्ता विकसित र नेपालको पर्यटनलाई नजिकबाट नियालिरहेका देशका विभिन्न म्यागेजिनले सन् २०१७ मा घुम्नैपर्ने मुलुकको सूचीमा नेपाललाई राखेर प्रचार–प्रसार गरिरहेका छन् । ती म्यागेजिन र सञ्चारमाध्यममा नेपालले आफैँ खर्च गरेर लेखाउनुपर्‍यो भने हाम्रो क्षमताभन्दा बाहिर पुग्छ । तर, हामीले सित्तैमा यति ठूलो अवसर पाइरहेका छौँ । नेपालले यसलाई कहिल्यै पनि गम्भीर रूपमा लिएको पाइँदैन । कसैले प्रचार नै नगर्ने मुलुकमा बर्सेनि ठूलो संख्यामा विदेशी नागरिक पुग्ने, तर नेपालमा नआउनुका पछाडिका कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्छ ।

नयाँ होटेलले गर्ने प्रचार महत्वपूर्ण

सन् २०१७ बाटै नेपालमा थप चेन होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा आउन थाल्नेछन् । यो क्रम अबको केही वर्ष जारी रहनेछ । केही समय नेपालमा खुलेका अन्तर्राष्ट्रिय चेन होटेलले पनि प्रवद्र्धनमा भूमिका खेल्न सक्छन् । विद्यमान होटेलको आफ्नो प्रयासमा जति पर्यटक नेपाल आइरहेका छन्, अब नयाँ खुल्ने होटेलले पक्कै पनि आफ्नो मार्केटिङ अझ बलियो बनाउनेछन् । तत्काल पर्यटक आगमन बढाउने यो पनि एउटा महत्वपूर्ण उपाय बन्न सक्छ । नेपाल अहिले पनि उच्च सम्भावना भएको मुलुक हो । हामीले थोरै मात्र प्रयस गर्ने हो भने पर्यटक ल्याउन खास समस्या देखिँदैन ।

नेवानिका गन्तव्य विस्तार गरौँ

पर्यटक आगमन बढाउन बलियो राष्ट्रिय ध्वजाबाहक वायुसेवाको विकल्प छैन । अहिले नेपाल वायुसेवा निगम जहाज थप गर्ने अभियानमा छ । जहाज थपेसँगै बढीभन्दा बढी गन्तव्यमा उडानको योजना कार्यान्वयनमा ल्याउनुपर्छ । नेपाल पर्यटन बोर्डसँग निजी क्षेत्रले ठूलो अपेक्षा गरेको छ । तर, अहिले अपेक्षित काम भने हुन सकेको छैन । प्रयास गरिरहेको छ, यो पर्याप्त नभएकाले अझ बढी सक्रियता देखाउनुपर्ने हुन्छ । बोर्डको सफलतामा निजी क्षेत्रको पनि भूमिका हुन्छ । हामी सँगसँगै अगाडि बढ्नुपर्छ । गन्तव्य बिक्री गर्न सरोकारवाला एक एजेन्डा, एक बजेट, एक कार्यक्रमका साथ जानुपर्छ ।

आगामी पुस्ताका लागि आधार बनाऔँ

नेपालको निजी क्षेत्र व्यावसायिक रूपमा पर्यटन व्यवसायमा छिरेको ५० वर्ष नाघेको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल (नाट्टा), होटेल संघ नेपाल र केही ठूला होटेलले सन् २०१६ मा स्थापनाको ५० वर्ष पूरा गरे । अझ रमाइलो पक्ष के छ भने युनाइटेड फेडेरेसन अफ ट्राभल एजेन्ट्स एसोसिएसन (युएफटिटिए)समेत ५० वर्ष पुगेको छ । यसको मतलब हामी पर्यटनमा विश्व सँगसँगै हिँडिरहेका छौँ । तर, यति गर्वलायक इतिहास र ठूलो सम्भावनाका बाबजुद हामीले अपेक्षित प्रगति गर्न नसक्नुचाहिँ आफ्नै कमजोरी हो । यो ५० वर्षको अवधिमा नेपालका दुई पुस्ताले पर्यटन विकासकै लागि संघर्ष गर्नुपर्‍यो । अहिलेको पुस्ता पनि संघर्ष गरिरहेकै छ । अब हामीले जग बसाल्न नसक्ने हो भने आगामी पुस्ताले संघर्ष होइन, पलायनको बाटो रोज्नेछ । त्यसकारण सन् २०१७ बाटै बलियो जग निर्माणको आधार किन नबसाउने ?

स्थिरता र विकासका नाममा काम नगरी नबसौँ

हामी आज जुनसुकै क्षेत्रको विकासको कमजोरी औँल्याउँदा पनि राजनीतिक अस्थिरता र कमजोर भौतिक पूर्वाधारलाई दोष दिन्छौँ । अब मानसिकता परिवर्तन गर्ने वेला आएको छ । हामी जुनसुकै काममा पनि राजनीति नभित्राऔँ । राजनीति गर्नेले उसको काम गर्छ, हामी आफ्नो काममा लागौँ । जुन दिन उनीहरूलाई लाग्छ, हामी गलत गरिरहेका छौँ, आफैँ सच्चिएर आउँछन् । अर्कोतर्फ नेपालमा पूर्वाधार कमजोर छन् भन्दैमा आफ्नो काम नछाडौँ ।

योजना कार्यान्वयनमा लागौँ

हामी विमानस्थल पूर्वाधारमा कमजोर छौँ । पर्यटनका लागि हवाई क्षेत्रको विकास अत्यावश्यक छ । तर, हामीले यसका लागि योजना बनाएका छौँ । भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेका छन् । यी योजना कार्यान्वयनमा अझ गम्भीर रूपले लागौँ । विमानस्थल हाम्रा लागि आधारभूत आवश्यकता हो । किनकि विमानस्थललगायत मानव निर्मित संरचना हेर्न कुनै पनि विदेशी नेपाल आइरहनुपर्दैन । हामीले बेच्ने प्राकृतिक सुन्दरता नै हो । त्यसकारण हरेक कुरालाई सकारात्मक रूपमा लिउँ । पर्यटनको विकासका लागि बनाइएका योजना कार्यान्वयनमा जोड दिउँ । आगामी पुस्तालाई निराश होइन, आशावादी बनाउन सन् २०१७ सफल हुनुपर्छ । साभार नयाँपत्रीका


Facebook Comment


No ads found for this position